धनकुटा । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनअन्तर्गत धनकुटामा सभापति शेरबहादुर देउवा भन्दा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह बलियो देखिएको छ।
धनकुटाका सात स्थानीय तहमा पौडेल समूहले चार र देउवा समूहले दुई ठाउँमा नेतृत्व लिएको छ । एक स्थानीय तहमा अधिवेशन नै स्थगित भएको छ । ६ स्थानीय तहमा सम्पन्न अधिवेशनमा चार स्थानीय तहमा सर्वसम्मत भएको छ भने दुई स्थानीय तहमा निर्वाचन भएको थियो ।
सर्वसम्मतबाट विजयी हुनेमा साँगुरीगढी गाउँपालिका नेपालधन राई र छथर जोरपाटी गाउँपालिकाका छत्र सुब्बा पौडेल समूहका हुन। यस्तै निर्वाचनबाट विजयी भएका महालक्ष्मी नगरपालिका ध्रुबराज राया र चौविसे गाउँपालिकाका गुणराज राई पनि पौडेल समूहका हुन् । सर्वसम्मतबाट विजयी हुने पाख्रिवास नगरपालिकामा प्रेम भण्डारी र सहिदभूमि गाउँपालिकाका दिपेश राई भने देउवा समूहका हुन् ।
देउवा पक्षमै भिडन्त
सर्वसहमतिका लागि भन्दै पटक-पटक निर्वाचन कार्यतालिका परिर्वतन गरिएको धनकुटा नगरपालिकामा निर्वाचन प्रक्रिया अनिश्चितकालका लागि स्थगित भएको छ । निर्वाचन अधिकृत सुन्दरकुमार श्रेष्ठले राजीनामा दिएपछि निर्वाचन प्रक्रिया अनिश्चित बनेकाे हाे ।
नयाँ मतदान अधिकृत तोकिएपछि मात्रै निर्वाचनको प्रक्रिया अघि बढ्ने भएकाले कहिले अधिवेशन कहिले हुन्छ भन्ने अनिश्चित नभएकाे कांग्रेस धनकुटाका सचिव विजयसन्तोषी राईले बताउनु भयाे । उहाँले मतदान अधिकृतको राजीनामा स्वीकृत नभएकाले उनैले मतदान प्रक्रिया अघि बढाउने बताउनु भयाे ।
धनकुटा नगरपालिकामा अभिषेक कर्माचार्य र नरेश श्रेष्ठ सभापतिका आकांक्षी छन् । उनीहरू दुवै जना देउवा समूहका हुन् । उनीहरू एउटै समूहका भएकाले मिलाउन नेताहरूले जोड गरिरहेका छन् । तर, दुवै आफ्नो अडानमा अडिग छन् ।
नगर सभापतिका आकांक्षीमा कर्माचार्य कांग्रेस आमन्त्रित केन्द्रीय सदस्य तथा धनकुटाका पूर्व सभापति मनोहरनारायण श्रेष्ठ निकट मानिन्छन् भने श्रेष्ठ कांग्रेस धनकुटाका कोषाध्यक्ष दिनेश राई निकट मानिन्छन् । कांग्रेस धनकुटा जिल्ला सभापतिका लागि उनीहरू दुवै आकांक्षी रहेकाले नगरपालिकामै एकअर्का बीच जुहारी चलेको चर्चा हुन थालेको छ । श्रेष्ठ र राई दुवै देउवा समूह निकट मानिन्छन् ।