काठमाडौं । नेकपा एकीकृत समाजवादी (एस) ले पार्टीको केन्द्रीय पदाधिकारीको टुंगो लगाउँदै गएकाे छ । एक महिनाअघि मात्रै निर्वाचन आयोगमा दर्ता भएको नेकपा एसले केन्द्रीय सांगठनिक संरचनालाई पूर्णता दिएको हाे ।
गएको मंगलबारदेखि जारी नेकपा एसको केन्द्रीय कमिटीको बैठककोबीचमा बसेको सचिवालयको बैठकले पार्टीको केन्द्रीय सांगठनिक संरचनालाई पूर्णता दिएको हो । नेकपा एसले एक वरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र चार सचिवकाे टुंगाे लगाएकाे छ । जसमा वरिष्ठ नेतामा झलनाथ खनाल, उपाध्यक्षहरुमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाथप्रसाद साह र जयन्ती राई चयन हुनु भएको छ, भने डाक्टर बेदुराम भुसाललाई महासचिव बनाएकाे छ ।
उपमहासचिवमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल हुनुहुन्छ । सचिवहरुमा केशवलाल श्रेष्ठ, जगनाथ खतिवडा, नागेन्द्रप्रसाद चौधरी र रामकुमारी झाँक्री चयन हुनु भएकाे छ । खतिवडा उदयपुरका हुन् । सचिवालयले टुंगो लगाएका सबै पदाधिकारीहरुलाई केन्द्रीय कमिटीबाट आजै अनुमोदन गरिने प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले बताउनु भएको छ । ‘विधानमा उल्लेख भएका अन्य पदाधिकारीको विस्तारै टुंगो लगाउने छौँ ।’ खतिवडाले भन्नुभयो ।
माधव नेपाल अध्यक्ष रहनु भएको नेकपा एसको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १, उपाध्यक्ष ७, महासचिव १, उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ ।
केन्द्रीय कमिटीभित्र केन्द्रीय पदाधिकारी र स्थायी कमिटी सदस्यसहित ५१ सदस्यीय पोलिटब्युरो र पदाधिकारीसहित २१ सदस्यीय स्थायी कमिटी रहने छ । जारी केन्द्रीय कमिटीको बैठकले अध्यक्ष नेपालले पेस गर्नु भएको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ । प्रतिनिधिसभामा २४ र राष्ट्रियसभामा आठ गरी जम्मा ३२ जना संघीय संसद् सदस्य रहेको नेकपा एस संसदको चौथो दल हो ।