काठमाडौं । कांग्रेसले महाधिवेशन कार्यतालिका फेरि संशोधन गर्ने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी बैठकले १३ जिल्लामा वडा अधिवेशन गर्न बाँकी भएपछि कार्यतालिकामा फेरि संशोधन गर्ने सहमति गरेको हो ।
सहमतिअनुसार अब १३ जिल्लाको वडा अधिवेशन ९ असोजपछि हुनेछ । ती जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद टुंगाएरमात्रै वडा अधिवेशन गर्ने सहमति जुटेको छ । त्यस्तै, १३ जिल्लामा पालिका तह अधिवेशन पनि दसैंअघि मात्रै हुने छन् । तर, वडा अधिवेशन सम्पन्न भइसकेका ६४ जिल्लामा भने ९ असोजमै पालिका अधिवेशन हुनेछ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले १३ जिल्लामा बाहेक वडा अधिवेशन सम्पन्न भएका ६४ जिल्लामा ९ असोजमा नै पालिका अधिवेशन गर्ने र बाँकी १३ जिल्लामा दसैंअघि पालिका तहका अधिवेशन सम्पन्न गर्ने सहमति भएको जानकारी दिए । कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले दसैंअघि ७७ जिल्लामा नै पालिका अधिवेशन गर्ने सहमति भएको बताए ।
उनका अनुसार त्यसपछिका घोषित कार्यतालिका भने परिमार्जन हुने जनाइएको छ । निर्वाचन समिति संयोजक महादेवप्रसाद यादवले भने समितिले वडा अधिवेशन गर्न बाँकी १३ जिल्लामा मात्रै अधिवेशन मिति सार्न सुझाएको जानकारी दिए । उनले वडा अधिवेशन सम्पन्न भइसकेका जिल्लामा भने बाँकी तहका अधिवेशन गर्न निर्वाचन समिति तयार रहेको जानकारी दिएका छन् ।
यसअघि, पछिल्लो पटक गत ५ असोजका लागि वडा अधिवेशन हुन बाँकी २० जिल्लामा मिति तोकिएको थियो । तर, यसबीच ७ जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक भएपछि ती जिल्लामा भने अधिवेशन भएको छ । बाँकी १३ जिल्लामा भने वडा अधिवेशन बाँकी छ । ती जिल्लाका क्रियाशील सदस्यता नामावली अझै सार्वजनिक गरिएको छैन ।
कांग्रेसले यसअघि पहिलो चरणमा ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । कांग्रेस वडा अधिवेशन गत १८ भदौमा तोकेको थियो । तर, सो मितिमा भने प्रक्रिया मात्रै शुरु भएको थियो । त्यसपछि ७ जिल्लामा ५ असोजमा अधिवेशन भएको हो ।
अब भने प्रदेश २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, बाँके र कैलाली गरी १३ जिल्लाको क्रियाशील सदस्यता विवरण कांग्रेसले पार्टीको वेबसाइटमा सार्वजनिक गर्न बाँकी छ । कांग्रेसले यसअघि महाधिवेशनअन्तर्गत गाउँ– नगरपालिका अधिवेशन ९ असोज, प्रदेशसभा क्षेत्रीय अधिवेशन १२ असोज र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन–एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १५ असोजका लागि तय गरेको छ ।
त्यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १८ असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिक र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म तय गरेको छ । राजधानी दैनिकमा प्रकाशित छ ।