उदयपुर । परम्परागत रूपमा पशुपालन गर्दै आएका किसानका लागि बेलका नगरपालिकाले नश्ल सुधारका लागि उन्नत जातका बोयर बोका भित्र्याएसँगै अहिले गाउँगाउँमा बोयर जातका बोका पाल्नेको संख्या बढ्दै गएको छ ।
गाउँघरमा पालिने गरेका खसी, बोका, बाख्राबाट धेरै आम्दानी नहुने तर उन्नत जातको बोयर बोकाको प्रयोगले नश्ल सुधार हुने भएकाले परम्परागत बाख्रा पालनले भन्दा बढी आम्दानी लिन सकिने भएकाले नश्ल सुधार्न आवश्यक रहेको स्थानीय कृषक बताउँछन् ।
नश्ल सुधारबाट ब्याएका पाठापाठीबाट खसी, बोका वृद्धि भई धेरै मासु उत्पादन गर्न र आर्थिक आम्दानी लिन सकिने हुनाले पनि अहिले जिल्लामा बोयर बोका पालन वृद्धि हुँदै गएको छ । नश्ल सुधार गरेका खसी, बाख्रा पालनबाट बढी आर्थिक आम्दानी लिन अहिले घरघरमा उच्च प्रजातिको बोयर बोका पालन गर्न थालिएको छ ।
२०६८ सालमा जिल्लामा पहिलो पटक बेलका नगरपालिकामा अस्ट्रेलियाबाट एक जोडी बोयर बोका भित्र्याइएको र त्यसपछि यहाँका किसानले नेपालको चितवन, बाँके, बर्दिया र भारतको हरियाणा, पञ्जाबबाट समेत बोयर बोका खरिद गरेर ल्याएको नगर प्रमुख दुर्गाकुमार थापाले बताउनु भयाे ।
नगरपालिकाका अधिकांश किसानले घरघरमा बोयर बोका उत्पादन गर्न थालेपछि अधिकांश किसानका घरमा एकभन्दा बढी बोयर बोका पालन हुन थालेको जनाइएको छ । चौदण्डीगढी नगरपालिकामा पनि तीन वर्षदेखि व्यावसायिक रूपमा बाख्रा पालक किसानले बोका पालन गर्ने कार्यलाई बढाउँदै लगेको चौदण्डीगढी नगरपालिका- ९ हँडियाका किसान बिर्खबहादुर खड्काले बताउनु भयाे ।
चौदण्डीगढीका नगर प्रमुख खगेन्द्र राईका अनुसार नगरपालिकाले किसानलाई चार दर्जनभन्दा बढी बोयर बोका निःशुल्क वितरण गरेको र धेरै किसानले आफैँले पनि उत्पादन गरेका हुनाले नगरभित्र नै बोयर बोका उत्पादन भइसकेका छन् ।
उदयपुरको पहाडी क्षेत्रका पालिकामा पनि गत वर्षदेखि रौतामाई गाउँपालिका, उदयपुरगढी गाउँपालिकामा पनि बोयर बोका उत्पादन सुरु भएको रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताउनु भयाे । बेलका नगरपालिका- २ तपेश्वरीका किसान प्रकाश कार्की भन्नुहुन्न्छ, 'अन्य हाम्रा गाउँघरमा पालिने परम्परागत लोकल बोका र बाख्राबाट उत्पादन हुने पाठापाठी बढेपछि कम्तीमा २० देखि बढीमा ४० किलोसम्म मात्र मासु उत्पादन हुन्छ तर बोयर बोका प्रयोगबाट उत्पादन भएका पाठापाठी बढेपछि कम्तीमा ६० देखि ९० किलो मासु उत्पादन हुन्छ ।'
यस कारण पनि परम्परागत बाख्रा, खसी पालनबाट भन्दा बोयर बोका पालन र प्रयोगबाट दोब्बर बढी आम्दानी हुने हुनाले बोयर बोका पालनबाट बढी फाइदा हुने उनको भनाइ छ । न्युज कारखाना