उदयपुर । जिल्ला कारागार शाखा उदयपुरमा कैदी जीवन बिताइरहेक ९ जना संविधान दिवसको अबसरमा जेल मुक्त भएका छन् । सरकारले उनीहरूको बाँकी कैद मिनाहा गरेपछि जेल मुक्त भएका हुन् ।
जेलमा बस्दा राम्रो आचरण भएकाहरूलाई सजायमा छुट दिने सरकारको नियमानुसार उनीहरूकाे बाँकी कैद मिनाहा भएकाे हाे । कैद मिनाहा पाउनेमा १ महिला र ८ पुरुष छन् । जेलर कुमार खड्काका अनुसार कैदमुक्त हुनेहरूमा बहुविवाह अभियोगका २ पुरुष र १ महिला, चोरी अभियोगका १, कर्तव्य ज्यानका अभियुक्त १ र सवारी दुर्घटना अभियुक्त ४ जना रहेका छन् ।
९ जना कैदमुक्त भएपछि उदयपुर कारागारमा अब ३ जना आश्रित बालबालिकासहित २ सय ३९ कैदीबन्दी बाँकी रहेका छन् । जसमा पुरुष १ सय १९, महिला १५ र बालबालिका ५ जना छन् । कारागारमा सजाय भोगिरहेकामध्ये १ सय १८ कैदी तथा १ सय २१ जना बन्दी छन् । जसमा पुरुष कैदीको संख्या ११ र महिलाको संख्या ५ रहेको जेलर खड्काले बताउनु भयाे ।
५० जना कैदीबन्दी राख्न मिल्ने क्षमताको कारागारमा अत्याधिक कैदीबन्दी राख्नु पर्दा ठाउँ साँघुरो भएर असहज हुने गरेको छ । क्षमता भन्दाबढी कैदीबन्दी राख्नु पर्दा कारागारमा स्थान अभाव हुनुका साथै खानेपानी र शौचालय तथा व्यवस्थापकीय समस्या झेल्नु परेको खड्काले बताउनु भयाे ।
२०३८ सालमा बनेको एकतले भवन पटक पटकको भुकम्पले भत्केर जिर्ण बनाएकाले जोखिमयुक्त भए पनि नयाँ भवन बनाउन आवश्यक बजेट विभागले दिएको छैन ।
कैदीबन्दीको चाप बढेसँगै पर्याप्त स्थानसहितको नयाँ भवन बनाउन माग गरे पनि विभागले ध्यान नदिएपछि वर्षौंदेखि जिर्ण भवनमा कैदीबन्दीलाई राख्नु परेकाे खड्काले बताउनु भयाे । चालु आर्थिक वर्षको बजेटमा नयाँ भवन बनाउनका लागि केही रकमको व्यवस्था गरेको जानकारी आए पनि अहिलेसम्म बजेट नै पारित नभएकाले सुनिश्चित नभएको खड्काले बताउनु भयाे ।