एजेन्सी । चीनको अहिलेसम्मको सबैभन्दा लामो मानवसहितको अन्तरिक्ष अभियान सम्पन्न गरेर तीन अन्तरिक्षयात्री पृथ्वी फर्किएका छन् । उनीहरू पृथ्वीभन्दा ३८० किलोमिटरमाथि अवस्थित चीनले निर्माण गरेको अन्तरिक्ष केन्द्रको टियाहे मोड्यूलमा ९० दिन बसेका थिए ।
चिनियाँ अन्तरिक्षयात्रीहरू बिहीवार शन्जो १२ अन्तरिक्षयान चढेर अन्तरिक्ष केन्द्रबाट निस्किएका थिए । यो सफल अभियानले अन्तरिक्षमा चीनको आत्मविश्वास र क्षमता बढेको देखाउँछ । न्ये खाइशङ, ल्यु बोमिङ र टाङ हङ्बोले शुक्रवार स्थानीय समयानुसार दिउँसो १ः३५ बजे चीनको भित्री मङ्गोलियाको गोबी मरुभूमिमा अवतरण गरेका छन् ।
सोही मरुभूमिबाट गत जुन १७ मा उनीहरूको अन्तरिक्षयान उडेको थियो । पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि मानव पठाएको यो पहिलो पटक थियो ।
अन्तरिक्षमा चीन
अन्तरिक्ष केन्द्रको बसाइका बेला चिनियाँ अन्तरिक्षयात्रीहरूले पृथ्वीमा डेटा पठाउने प्रयोग र घण्टौँसम्म अन्तरिक्षमा हिँड्ने काम गरेको चीनबाट प्रकाशित ग्लोबल टाइम्सले जनाएको छ ।
उक्त अन्तरिक्ष केन्द्रमा अन्तरिक्षयात्रीहरू बस्ने मुख्य खण्डमा प्रत्येक व्यक्तिका लागि छुट्टै ठाउँ र शारीरिक अभ्यास गर्न विशेष खालको ट्रेडमिल र बाइसाइकलयुक्त व्यायामशाला भएको जानकारी ग्लोबल टाइम्सले दिएको छ।
केही वर्षयता चीनले अन्तरिक्ष र खगोलशास्त्रको क्षेत्रमा ठूलो फड्को मारेको छ । सन् २०१९ मा चीनले चन्द्रमाको पृष्ठभागमा मानवरहित एउटा सानो अन्तरिक्षयान पठाएको थियो । पृथ्वीबाट नदेखिने उक्त भागमा कुनै अन्तरिक्षयान पुगेको त्यो नै पहिलो पटक थियो ।
यही वर्ष चीनले चन्द्रमाबाट चट्टान र माटोको नमुना ल्याएको छ र मङ्गल ग्रहमा छपाङ्ग्रे वाहन उतारेको छ । यी दुवै काम जटिल र चुनौतीपूर्ण मानिन्छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आईएसएमा चीनलाई सहभागी गराइएको थिएन । त्यसैले पनि चीनले आफ्नो छुट्टै अन्तरिक्ष केन्द्र स्थापना गर्यो ।
रुस, युरोप, क्यानडा र जापानसँग गरिएको सहकार्यको नेतृत्व गरेको अमेरिकाले अन्तरिक्षमा चीनसँग हात मिलाउन खोजेको छैन । तर चीनले आफ्नो अन्तरिक्ष केन्द्रमा अन्य देशलाई सहभागी गराउन आफू तयार रहेको बताएको छ । नेपाली बिबिसी सेवा