उदयपुर । करदाता सेवा कार्यालय उदयपुरले ६४ करोड राजस्व संकलन गरेको छ । कोरोना महामारीबीच आर्थिक वर्ष २०७७/७८ मा ६३ करोड ८१ लाख ४३ हजार ९ सय २ रुपैयाँ संकलन गरेको हो ।
करदाता सेवा कार्यालय उदयपुरका अनुसार सबभन्दा बढी राजस्व आर्थिक वर्षको अन्तिम महिना असारमा संकलन भएको थियो । असारमा १२ करोड ६६ लाख ५२ हजार ९ सय ६० रुपैयाँ संकलन भएको कार्यालय प्रमुख कर अधिकृत सरोज सिंहले बताउनु भयो ।
उहाँका अनुसार सबभन्दा कम राजस्व गत भदौमा १ करोड ५० लाख ३१ हजार ७ सय ९४ संकलन भएको थियो । लक्ष्य अनुरूप राजश्व संकलन नभए पनि गत वर्षको भन्दा १.३० प्रतिशतले बढी भएको बताइएको छ । गत चैतमा ७ करोड ५४ लाख ६२ हजार २ सय २८ रुपैयाँ जम्मा भएको थियो, भने फागुनमा ७ करोड ३७ लाख २७ हजार २ सय ४४ रुपैयाँ संकलन भएको थियो । अन्य महिनामा २ करोड ५९ लाखदेखि सवा ७ करोडसम्म संकलन भएको कार्यालयको भनाइ छ ।
साउनमा ७ करोड ३५ लाख ७४ हजार २ सय ७५ रुपैयाँ संकलन भएको थियो भने, पौषमा ६ करोड ८ लाख १४ हजार ७ सय ८६, माघमा ४ करोड ६१ लाख ९० हजार ८ सय ११, असोजमा ३ करोड ४२ लाख ७२ हजार ४ सय ३५ रुपैयाँ संकलन भएको कार्यालयको भानइ छ ।
त्यस्तै बैशाखमा ३ करोड ९१ लाख ९५ हजार १ सय १७, जेठमा ३ करोड ८१ लाख ६७ हजार ३ सय १७, मंसिरमा २ करोड ९० लाख ८१ हजार १ सय ९३, कात्तिकमा २ करोड ५९ लाख ७३ हजार ८ सय ३६ उठाएको कर कार्यालयले जनाएको छ ।
राजश्व मूल्य अभिवृद्धि कर (भ्याट) बापत ३१ करोड ३० हजार ५ सय २ रुपैयाँ संकलन भएको कर अधिकृत सिंहले बताउनु भयो । यसैगरी दोस्रो ठूलो हिस्सा राजश्व आयकर बापत उठाएको जनाएको छ । आयकर बापत कार्यालयले २९ करोड ३४ लाख ४८ हजार ५ सय ९१ उठाएको छ । विविधतर्फ १० हजार ४ सय ३८ उठाएको सिंहले बताउनु भयो ।
अघिल्लो आर्थिक वर्ष भन्दा २०७७÷७८ मा ८१ लाख ६८ हजार ८ सय ३५ ले बढी राजश्व संकलन भएको छ । आर्थिक वर्ष ०७६÷७७ मा ६२ करोड ९९ लाख ७४ हजार ५ सय २९ संकलन भएको थियो ।