उदयपुर । उदयपुर र सप्तरी जिल्लालाई जोड्ने सबैभन्दा छोटो दूरीको गाईघाट-शम्भुनाथ सडक ओझेलमा परेको छ । लामो समयदेखि चर्चामा रहे तापनि स्थानीय तह निर्माणपछि सडक ओझेलमा परेको हो । १८ वर्षयता पटक पटक चर्चामा आएको गाईघाट-शम्भुनाथ सडकको सर्भे पूरा भएर पनि काम भएको छैन ।
स्थानीयस्तरबाट माग भएपछि तत्कालीन उदयपुर र सप्तरी जिल्ला विकास समितिले लगानी गरेर सडक निर्माण गर्ने योजना अगाडि बढाइएको थियो । तर, स्थानीय स्थानीय तह निर्माणपछि यो सडक पनि आझेलमा परेको हो । खास गरेर उदयपुर र सप्तरी जिल्ला सदरमुकाम जोड्ने छोटो मार्ग निर्माण गर्ने उद्देश्यले तत्कालीन दुवै जिविसले योजना अघि सारेका थिए ।
अन्तिम सर्भेसमेत भएको यस सडकको चर्चा अहिले सेलाएको छ । पूर्व-पश्चिम लोकमार्गको सप्तरीको कन्चनपुर-कदमहा खण्डको शम्भुनाथबाट उदयपुरको मिलनचोक जोड्ने उद्देश्यले सडक निर्माण योजना अगाडि सारिएको थियो । सडक निर्माणका लागि डिटेल सर्भेक्षण र वातावरणीय असर प्रभाव मूल्यांकनसमेत भएको तत्कालीन जिविस उदयपुरले जनाएको थियो ।
दुई जिल्ला जोड्ने झण्डै १३ किलोमिटर मात्र ट्र्याक खोल्न सके सडक निर्माण हुने स्थानीयबासीले बताए । मुख्य गरेर दुई जिल्लाको सिमानामा पर्ने चुरे पहाडमा सडक ट्र्याक खोले मात्र पुग्ने उनीहरूको भनाइ छ । शम्भुनाथदेखि चुरेसम्म पहिलेदेखि नै स्थानीयस्तरबाट सडक निर्माण भइसकेको छ । त्यसैलाई तत्कालीन सप्तरी जिविसले लगानी गरेर सडक चौडा बनाउने र स्तरवृद्धि गर्ने काम गरिसकेको छ । त्यसैले चुरेमा सडक खोल्न सके शम्भुनाथ-गाईघाट सडक निर्माण हुने स्थानीयको भनाइ छ ।
प्रजातन्त्र प्राप्तिपछि पहिलो पटक निर्वाचित स्थानीय निकायले शम्भुनाथ-गाईघाट सडकलाई प्राथमिकता दिएको तत्कालीन जिविस उदयपुरका सदस्य केशव राईले बताए । तत्कालीन दुवै जिविसले सडक निर्माणलाई प्राथमिकतामा राखेर पटक पटक बैठक, अन्तर्क्रिया र छलफल गरेका थिए ।
'प्रजातन्त्र प्राप्तिपछि पहिलो पटक निर्वाचित दुवै जिविसले सडक निर्माणका लागि काम थालेका थिए', उनले भने, 'त्यसपछि पनि यसले निरन्तरता पाएको थियो तर स्थानीय तह आएपछि यो ओझेलमा परेको हो । स्थानीय तहले चासो नराखेकाले सडकको सर्भे पूरा भइसकेको सडक निर्माण हुन नसकेको हो ।'
सडक निर्माणका लागि वातवरणीय प्रभाव मूल्यांकन पास नभएकाले काम रोकिएको हो । सडकका लागि वातावरणीय प्रभाव मूल्यांकन गरेर विभाग पठाइएकामा त्यहाँबाट पास भएर नआएकाले काम अगाडि नबढेको बताइएको छ । अहिले पूर्व-पश्चिम लोकमार्ग भेट्टाउन कदमहाबाट गाईघाटसम्म करिब २७ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ । तर, शम्भुनाथ-गाईघाट सडक संचालन हुने हो भने १९ किलोमिटरमै सीमित हुने र ट्राफिक समस्यासमेत नहुने स्थानीयबासीको दाबी छ ।
कदमहा-गाईघाट सडक सरकारीस्तरबाट निर्माण भएको मुलुककै ठूलो उदयपुर सिमेन्ट उद्योगको कच्चा पदार्थ र तयारी सिमेन्ट ओसारपसार गर्ने क्रममा सवारी आवगमनमा व्यस्त हुने गर्छ । त्यसैले पनि विकल्पका रूपमा यो सडक निर्माण गरेर संचालन गर्नुपर्ने त्रियुगा नगरपालिका- २ का वडा अध्यक्ष घमानसिंह खत्री बताउँछन् । न्युज कारखाना