एजेन्सी । अफगानिस्तानको सत्तामा तालिबान आउँदा विश्वभरका जिहादीहरूले उत्सव मनाए । यमनसहित केही देशमा खुसियाली मनाइयो भने सोमालियामा मिठाई बाँडियो । दक्षिण एशियामा भने इस्लाम अतिवादी समूहहरूले आफ्नो दृढतासामु पश्चिमा सैन्य शक्तिको हार भएको भन्दै अनलाइनमा बधाई साटासाट भयो । कतिपय विज्ञहरू अब मध्यपूर्व एशियामा जिहादीहरूको युग सुरु हुने चिन्ता व्यक्त गरिरहेका छन् ।
पछिल्ला वर्षहरूमा निकै कमजोर भए पनि सक्रिय अलकायदा र इस्लामीक स्टेट आईएससँग आबद्ध समूहहरूबाट खतरा देखिएको बताइन्छ ।अमेरिकासँगको सम्झौतामा तालिबानले पश्चिमा देशहरूमाथि निशाना बनाउने कुनै पनि अतिवादी समूहलाई आश्रय नदिने बताए पनि अलकायदासँग तालिबानको सम्बन्ध अझै निकटकै छ ।
अलकायदाकोसमेत प्रतिद्वन्द्वी आईएसका लागि चाहिँ अब आफ्नो उपादेयता प्रदर्शन गर्नुपर्ने दबाव हुनसक्ने कतिपय विज्ञहरू बताउँछन् । आईएस खोरासानले आफ्नो उपस्थिति देखाउने समय खर्च नगरी अगस्त २६ मा काबुल विमानस्थल बाहिर आक्रमण गर्यो । यो समूहको अब हमलामा १३ अमेरिकी सैनिक सहित १७० जना मारिए ।
तर कट्टरपन्थी विचारधाराबाहेक यी तीन समूह के कारण फरक छन् त ?
तालिबान अफगानिस्तानको सबैभन्दा महत्त्वपूर्ण खेलाडी हो । अलकायदा आफ्नो सञ्जाल पुनः निर्माण गर्न प्रयासरत अन्तर्राष्ट्रिय जिहादी समूह हो । इस्लामीक स्टेट पनि उस्तै नै हो तर यो अलकायदा र तालिबान दुवैको घातक दुस्मन हो, न्युयोर्कस्थित सोपान सेन्टरका सुरक्षा विश्लेषक कोलिन क्लर्क भन्छन् ।
इस्लामीक स्टेट इराक र सिरियामा सक्रिय छ । अलकायदा र तालिबान दुवै सन् १९८० को अन्त्यतिर अफगानिस्तानमा सोभियत सङ्घको आक्रमणविरुद्ध प्रतिकार र सन् १९९० को सुरुतिर अफगानिस्तानमा देखिएको आन्तरिक द्वन्द्वसँगै उदय भएका हुन् ।
आईएस त्यसको वर्षौँपछि सन् २००३ मा अमेरिकाले इराकमाथि आक्रमण गरेपछि अलकायदाकै स्थानीय शाखाको अवशेषहरूबाट विस्तार भएर बनेको समूह हो । सन् २००७ मा इराकमा अमेरिकी फौज थपिएपछि निकै वर्षसम्म हराएको यो समूह सन् २०११ पछि फेरि देखिन थाल्यो ।
अलकायदा साउदी अर्बपति ओसामा बिन लादेनले सन् १९८० को अन्त्यतिर स्थापना गरेका थिए । अङ्ग्रेजीमा अलकायदाको अर्थ आधार वा सञ्जाल भन्ने हुन्छ । यो समूहले सोभियत फौजविरुद्ध लडिरहेका मुस्लिम समूहका लागि आवश्यक हतियार र बन्दोबस्तीका सामग्री मिलाउने सञ्जालको काम गर्यो । बिन लादेनले विश्वभरका मुस्लिम धर्मालम्बीलाई अलकायदामा भर्ना गरे । अफगानिस्तानबाट सोभियत फौज फिर्ता भएसँगै पाश्तो भाषामा विद्यार्थीहरु भनेर बुझिने तालिबानको उदय सन् १९९० को सुरुतिर उत्तरी पाकिस्तानमा भएको हो ।
सुन्नी इस्लामको कट्टरपन्थी समूहको रूपमा आफूलाई प्रचार गरेको पाश्तो आन्दोलन सुरुमा साउदी अरबबाट प्रायोजित धार्मिक गोष्ठीहरूमा देखा पर्यो । तालिबानले सुरुमा आफू सत्तामा पुगेपछि पाकिस्तान र अफगानिस्तानबीच फैलिएको पाश्तुन क्षेत्रमा शान्ति सुरक्षा कायम गर्ने र शरिया कानुनको कठोर नियमहरू लागु गर्ने वाचा गरेको थियो ।
दक्षिण पश्चिमी अफगानिस्तानबाट तालिबानले आफ्नो प्रभाव निकै छिटो विस्तार गर्यो कि सन् १९९६ मा उनीहरूले राष्ट्रपति बुरानुद्धिन रब्बानीको सरकारलाई अपदस्त गर्दै राजधानी काबुल कब्जा गरे । त्यसको दुई वर्षमा उनीहरूले अफगानिस्तानको ८० प्रतिशत क्षेत्र आफ्नो नियन्त्रणमा लिइसकेका थिए । त्यस बेलासम्म अलकायदा बन्दोबस्तका सामान मिलाउने सञ्जालभन्दा माथि उठिसकेको थियो ।
अलकायदा विश्वव्यापी महत्त्वाकाङ्क्षा सहितको जिहादी सङ्गठनमा परिणत भयो । आफूलाई गरेको सहयोगप्रति कृतज्ञ तालिबानले बदवालमा अलकायदालाई अफगानिस्तानमा स्वागत गर्यो । इराकमा विदेशी फौजसँग प्रतिवादमा खरो उत्रिएको अलकायदा बिस्तारै विश्वव्यापी आकाङ्क्षा लिएर अघि बढ्यो । सन् २००६ मा इस्लामीक स्टेट इराक सहितका अतिवादी समूहहरूलाई समेट्दै यो समूह सन् २०११ बाट युद्धग्रस्त सिरियातर्फ अघि बढ्यो ।
तालिबान, अलकायदा र आईएसबीचको साझा विशेषता भनेको यी तीनै वटा समूह सुन्नी इस्लामका कट्टरपन्थी समूह हुन् । यी तीनै वटा समूह सामाजिक र राजनीतिक जीवनलाई धार्मिक जीवनसँग अलग गर्न नसकिने विश्वास गर्छन्, लन्डनस्थित किङ्स कलेजका प्राज्ञ मिसेल ग्रोपि भन्छन् ।
आस्थाको निम्ति हुने हिंसा उनीहरूका लागि जायज हो र यो उनीहरूको कर्तव्य पनि हो । जो लड्दैन, ती यी समूहका नजरमा खराब मुसलमान हो, उनले बीबीसीसँग भने । आफूहरू खतरामा परेका बेला लेखिएका उनीहरूका पवित्र ग्रन्थहरूको व्याख्याबाट यो धारणा बुझ्न सकिने ग्रोपि बताउँछन् ।
बहुसङ्ख्यक मुसलमानहरूले यस्ता हिंस्रक सिद्धान्तहरू अस्वीकार गर्दै आएका छन् । उनीहरूका भनाइमा धर्मको सुरुवातमा, धर्म खतरामा परेको समयमा र लडाइँको बेला मात्रै यो सही थियो, उनी थप्छन् । धार्मिक मान्यतामा उनीहरूको दृष्टिकोण समान रहे पनि अतिवादमा यी तिनै समूहहरू फरक रहेको उनीहरूको लक्ष्यबाट प्रस्ट हुन्छ । कतिपय विज्ञहरूका बुझाइमा यो नै अलकायदा, आईएस र तालिवानबीचको मुख्य भिन्नता हो ।
लक्ष्य के हो ?
तालिबानको चासो अफगानिस्तानमा मात्रै सीमित रहे पनि अलकायदा र आईएसको विश्वव्यापी आकाङ्क्षा छ । सन् १९९० को दशमा अफगानिस्तानको सत्तामा तालिबान पुग्दा शरिया कानुन अभ्यासमा ल्यायो ।
महिलाहरूका लागि कडा नियमहरू लागु गर्नुका साथै साथै सार्वजनिक स्थानमा फाँसी दिने, कोर्रा हान्ने र अङ्गभङ्ग बनाउनेजस्ता कठोर सजाय तालिबान शासनमा दिइयो । त्यही अवस्था दोहोरिने डरले तालिबानले अफगानिस्तान कब्जा गर्नासाथ धेरै मानिसहरूलाई देश छोडेर बाहिरिन बाध्य गर्यो ।
वासिङ्टनस्थित जर्जटाउन विश्वविद्यालयका मध्यएसिया आतङ्कवाद विज्ञ ड्यानियल बाइमन अलकायदा र आईएस अझै कट्टर भएको बताउँछन् । तालिबान चाहिँ विगतको आदर्श मुस्लिम देशमा अफगानिस्तानलाई फर्काउन चाहन्छ, बाइमन भन्छन् ।
अलकायदा र आईएसबीच केही महत्त्वपूर्ण कुरामा मतभेद भए पनि दुवैको चाहना विश्वभर मुस्लिम राज्य बनाउने रहेको बाइमनको बुझाइ छ । आईएस अहिले नै मुस्लिम राज्य बनाउने पक्षमा छ भने तालिबान चाहिँ त्यसका लागि जिहादी र मुसलमान समुदाय अझै तयार भई नसकेको बुझाइ राख्छ, उनी भन्छन् ।
शत्रु को हुन् ?
तालिबान, अलकायदा र आईएकका केही साझा र केही फरक शत्रुहरू छन् । अमेरिका र पश्चिमा देशहरू प्रमुख साझा शत्रु हुन् भने त्यसका सहयोगीहरू र राज्यलाई धर्मसँग अलग गरेका देशहरू पनि उनीहरूका साझा शत्रु हुन् ।
आईएस सुरु देखिनै अलकायदाभन्दा हिंस्रक हो । यसले पश्चिमा देशहरूका अतिरिक्त विचारधारा नमिल्ने मुस्लिमहरूसँग पनि लडाइँ गर्यो, बाइमन भन्छन् । अलकायदाले अमेरिकालाई मुख्य शत्रु माने पनि आईएसले सिया र मध्यपूर्वका अन्य धार्मिक अल्पसङ्ख्यक समुदायमाथि पनि आक्रमण गर्दै आएको छ ।
बाइमनका अनुसार अलकायदा सिया समुदायमाथि आक्रमण गर्नुलाई स्रोत र साधनको क्षति र निकै अतिवादी काम ठान्छ । किङ्स कलेजका प्राज्ञ ग्रोपिका अनुसार तालिबान सत्तामा आएपछि उसको आईएससँग थप दुरी बढेको छ ।
आईएसले तालिबानलाई पश्चिमा सेना फिर्तीका लागि सहमति गरेको भन्दै द्रोहीको सङ्ज्ञा दिएको छ । तर विज्ञहरूका अनुसार आईएसको अफगानिस्तान शाखा र तालिबान तेस्रो समूहको माध्यमबाट नजिक जोडिएका छन् । अफगानिस्तानको हतियारधारी हक्कानी समूह तालिबान र आईएस दुवैसँग नजिक रहेको उनीहरूको बुझाइ छ ।
काम गर्ने तरिकमा के फरक छ ?
अलकायदा ९/११ आक्रमण भनेर चिनिने सन् २००१ मा अमेरिकाको न्युयोर्क आक्रमणका कारण चिनिन्छ । अलकायदा मध्यपूर्वस्थित इस्लामका पवित्र क्षेत्रहरू र साउदी अरबबाट अमेरिकालाई फर्काउन चाहन्छ । बाइमनका अनुसार आईएस चाहिँ थप हिंसात्मक गतिविधिबाट उसका शत्रुहरूलाई तर्साउन चाहन्छ । उसले आम नरसंहार, सार्वजनिक स्थलमा हत्या र बलात्कार जस्ता गतिविधिबाट स्थानीय मानिसहरूलाई आतङ्कित बनाउँदै आफूमा समाहित गर्ने कोसिस गर्छ ।
सन् २०१४ देखि २०१७ को बीचमा इराक र सिरियाका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिएको आईएसले त्यसयता पश्चिमा कुर्दिस र रुससमर्थित सिरियाली फौजसँग हार बेहोरिरहेको छ । सन् २०१९ मा सिरियामा आधार क्षेत्रमा पनि हार बेहोरेपछि यो समूह अदृश्य सञ्जालमा सीमित भए पनि अझै चुनौतीको रूपमा रहेको छ ।
भर्ना लिने प्रक्रिया
तालिबान, अलकायदा र आईएस तीनै समूहले स्थानीय मानिसहरूबाट आफ्नो सङ्गठनमा भर्ना लिन्छन् । जिहादले धर्मलाई शुद्धीकरण गर्ने भन्दै उनीहरू आफ्नो अभियानमा लाग्न मानिसहरूलाई उत्प्रेरित गर्छन् । विश्वव्यापी महत्त्वाकाङ्क्षा लिएका अलकायदा र आईएसले चाहिँ मध्यपूर्वको आफ्नो सीमाभन्दा बाहिरबाट पनि मानिसहरू भर्ना लिएका छन् ।
प्राज्ञ ग्रोपिका अनुसार इन्टरनेटको शक्तिलाई उपयोग गर्दै इराक र सिरियाका उसको क्षेत्रमा अन्यत्रबाट पनि मानिसहरू ल्याउन आईएस निकै सफल छ ।
बाइमनका अनुसार आईएसले सामाजिक सञ्जालको माध्यमबाट पश्चिमा देशहरूमा रहेका मानिसहरूलाई समेत परिचालन गरी उनीहरूकै देशमा आक्रमणका योजना बनाउन निकै प्रभावकारी प्रयासहरू गरेको छ । सन् २०१५ को प्यारिस हमला यसैको एक उदाहरणमध्ये एक हो । फ्रान्सको शान्ति खलबल्याउने इराक वा सिरियाको युद्ध क्षेत्रबाट परिचालित आक्रमणमा १३० जना मारिएका थिए । बिबिसी सेवा