काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच प्रतिनिधिसभाले आर्थिक अध्यादेश स्वीकृत गरिएको छ । अर्थमन्त्री जनार्दन शर्मा सो अध्यादेश पेश गर्न मर्यादापालकको सहयोगमा रोष्टममा पुगेका थिए ।
त्यसपछि पनि एमाले सांसदहरुको नाराबाजी जारी रह्यो । तर, अर्थमन्त्री शर्माले अध्यादेश स्वीकृत गरियोस भन्ने प्रस्ताव पेश गरे । सभामुख अग्नि सापकोटाले सो अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई निर्णार्थ पेश गरे । ध्वनी मतले सो प्रस्ताव पारित गरियो ।
अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र ऋण उठाउने अध्यादेश पनि पेश गरे । उनको यो प्रस्ताव पनि एमालेको नाराबाजीकै बीच ध्वनी मतले पारित गरिएको छ । विनियोजन अध्यादेश पनि एमाले सांसदको विरोधबीच पारित गरिएको छ ।
यसअघि यी तीन अध्यादेशमा नेमकिपाका सांसद प्रेम सुवालले विरोधको प्रस्ताव राख्ने कार्यसूची थियो । तर, एमाले सांसदको नाराबाजीका कारण सुवालले रोष्टमा गएर आफ्नो प्रस्ताव पेश गर्न पाएनन् ।
उनले सभामुख सापकोटासँग रोष्टममा गएर प्रस्ताव पेश गर्ने वातावरण बनाउन आग्रह गरे । तर सभामुखले यथास्थानबाटै प्रस्ताव पेश गर्न रुलिङ गरे । सांसद सुवालले रोष्टमको व्यवस्था गर्न बारम्बार आग्रह गरे । तर सभामुखले फेरि यथा स्थानबाटै विरोधको प्रस्ताव पेश गर्न भने । यसपछि भने सांसद सुवालले अघिल्ला दुईवटा प्रस्ताव पेश नै गरेनन्।
तेस्रो अध्यादेश विनियोजन अध्यादेशमा भने उनले यथा स्थानबाटै प्रस्ताव पेश गरे । उनले समय धेरै लिएकाले उनको माइक काटिएको थियो ।
उक्त प्रतिस्थापना विधयकमा सरकारले तत्कालिन केपी शर्मा ओली सरकारले ल्याएको बजेटको आकार घटाएको छ ।अर्थमन्त्री शर्माले नेकपा एमालेका सांसदको नारावाजी र अवरोधका बीच १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरेका छन् ।
अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा १६ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ । यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको थियो ।