उदयपुर । नेकपा एमाले उदयपुर पनि २०७५ जेठ २ कै अवस्थामा फर्कीएको छ । दश बुँदे सहमति कार्यान्वयन गर्दै अध्यक्ष इश्वरमणि राउतको अध्यक्षतामा बुधबार बसेको सचिवालय बैठकले एमाले उदयपुरलाई २०७५ जेठ २ फर्काएको हो ।
विभाजनपछि देशभर २०७५ जेठ २ कै अवस्थामा फर्किरहेको एमाले उदयपुरमा पनि बुधबारदेखि औपचारिक रुपमा पुरानै संरचनामा फर्किएको हो । बुधबार २०७५ जेठ २ मा फर्किएपछि पहिलो बैठक बस्दै एमालेबाट विभाजन भएर बनेको नवगठित पार्टी नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) मा जिल्लाका नेता कार्यकर्तालाई नजान आग्रह गरिएको छ ।
बैठकपछि पत्रकार सम्मेलनको आयोजना गर्दै एमाले जिल्ला अध्यक्ष इश्वरमणी राउतले नेकपा एसमा सनाखत गरेका जनप्रतिनिधिलाई पद र स्वार्थको पछि नलाग्न अनुरोध गर्नु भएको थियो । अध्यक्ष राउतले विभिन्न प्रलोभनमा परेका जनप्रतिनिधि, नेता र कार्यकर्तालाई इमादारितापूर्वक पुरानै घर फर्किन पनि उहाँले आग्रह गर्नु भएको थियो ।
अध्यक्ष राउतले २०७५ जेठ २ को संरचनाअनुसार पार्टी जिल्ला कमिटी १ सय ३ जनाको र ३५ जनाको सचिवालय रहेकाले त्यसैलाई कायम गर्दै क्षेत्र, नगर, गाउँपालिका, वडा र जनवर्गिय संगठन, इन्र्चाज, सहइन्र्चाजहरु पर्नुस्थापित हुनेसमेत बताउनु भएको छ । पार्टी सचिब परमेश्वर घिमिरेले पार्टी २०७५ जेठ २ मा फर्किसकेकाले एकताबद्ध एमाले बनाउने गरी गाउँघरसम्म पुग्ने गरी अभियान सञ्चालन गरिने बताउनु भएको छ । बैठकले असोज मसान्तभित्र पार्टी संगठित सदस्य नविकरण, नयाँ वितरणलगायतका काम सम्पन्न गरिसक्ने निर्णय गरेको पनि उहाँले बताउनु भएको छ ।
पत्रकार सम्मेलनमा बोल्नु हुँदै एमाले केन्द्रिय सदस्य तथा पुर्वराज्य मन्त्री मन्जु चौधरीले पार्टी विभाजन नभई चोईटिएको टिप्पणी गर्नु भएको थियो । उहाँले सानो झुण्ड विभिन्न प्रलोभनमा परी निस्किएको बताउनु भएको थियो । त्यसैगरी एमाले युवा नेता तथा सचिवालय सदस्य भागवत राउतले पदिय आश र साम्प्रदायिक सोचबाट ग्रसितहरुका कारण उदयपुरमा पार्टी चोईटिन बताउनु भएको थियो । उहाँले पार्टी छोड्नु पर्ने कुनै मुद्दा नभएपछि पदका भोकाहरुलाई पदिय आश्वसन, ठेक्कापट्टा, योजनाको प्रलोभन देखाइएको र जातविशेषलाई जोडेर चोइटाउने प्रयास भएको बताउनु भएको थियो ।
उदयपुरमा निर्वाचन आयोगले तोकेको समयसिमा भित्र एमालेबाट २८ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) रोज्नु भएको छ । एमाले उदयपुरका अनुसार स्थानीय तहमा एमालेका जनप्रतिनिधिको संख्या २ सय १० रहेका छन् । ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ स्थानीय तहमा ७५ वटा वडा रहेको उदयपुरमा एमालेबाट नगर प्रमुख संख्या ३, उपप्रमुख २, गाउँपालिका प्रमुख ३, उपप्रमुख ३, वडाध्यक्ष ३१ जनाले जितेका थिए ।
त्यसैगरी जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुखसहित सबै सेट नै एमालेबाट विजयी भएका थिए । पत्रकार सम्मेलनमा एमालेका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी, सचिवालय सदस्यहरुको उपस्थिति रहेको थियो ।