विराटनगर । प्रदेश १ मा नेकपा एमाले परित्याग गरी १६२ जना जनप्रतिनिधि नेकपा एकीकृत समाजवादीमा खुल्नु भएको छ ।
प्रदेश १ का १४ जिल्लाका १६३ जना निर्वाचित जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोज्नु भएको हो ।
निर्वाचन आयोगले तोकेको समय सीमाभित्र नेकपा एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीका पक्षमा उहाँहरुले खनाखत गर्नु भएको हो । राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याइएको अध्यादेश २०७८ बमोजिम विभाजित दल रोज्न निर्वाचन आयोगले दिएको समय सीमाभित्र प्रदेश १ बाट दुई जिल्ला समन्वय समितिका प्रमुख र तीन उपप्रमुखसहित १६३ जना एमालेका जनप्रतिनिधिले नयाँ पार्टी रोज्नु भएको छ ।
खोटाङ जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ र जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्यले एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नु भएको छ । ताप्लेजुङ, धनकुटा र इलाम जिल्ला समन्वय समितिका उपप्रमुखले पनि नेकपा एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । इलाम जिससका उपप्रमुख चित्रकला बराइली, धनकुटा जिससका उपप्रमुख बंगला राई र जिसस ताप्लेजुङका उपप्रमुख देवीमाया नेपालीले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।
प्रदेश १ बाट पाँच जना जिल्ला समन्वय समिति सदस्यले एमाले छोडेर समाजवादीको पक्षमा सनाखत गर्नु भएको छ । प्रदेश १ बाट दुई नगरपालिकाका प्रमुख र दुई उपप्रमुखले मात्र नेकपा एकीकृत समाजवादी रोज्नु भएको छ ।
इलामको सुर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले नयाँ पार्टी रोज्नु भएको हो । यस्तै, भोजपुर नगरपालिकाका उपप्रमुख ममिता राई र खाँदबारी नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठ एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा आवद्ध हुनु भएको छ ।
यसैगरी इलामको माईजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई, तेह्रथुमको आठराई गाउँपालिकाका प्रमुख मानबहादुर लिम्बु र उदयपुरगढी गाउँपालिका प्रमुख मानबहादुर केप्छाकी मगर नेकपा एकीकृत समाजवादीमा सहभागी हुनु भएको छ ।
भोजपुरको टेम्केमैयुम गाउँपालिकाका उपाध्यक्ष इन्द्रावती राई, ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाका उपाध्यक्ष कल्पना तुम्बाहाम्फे र आठराई त्रिबेणी गाउँपालिका उपाध्यक्ष मञ्जु भट्टराई पौडेलले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नु भएको छ । प्रदेश १ का विभिन्न स्थानीय तहका ३४ जना वडाध्यक्ष एकीकृत समाजवादी पार्टीमा सामेल हुनु भएको छ ।