काठमाडौं । तालिबानले अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा रहेको पन्जशिर उपत्यकामा भएको भएको युद्धमा आफू विजयी भएको घोषणा गरेको छ ।
तालिबानको प्रतिरोध हुँदै आएको उक्त प्रान्त तालिबानको शासनभन्दा बाहिर थियो । उक्त समूहले सोमवार एउटा भिडिओ फुटेज सार्वजनिक गरेको छ जसमा लडाकुहरूले तालिबानको झण्डोत्तलन गरेको देखिन्छ ।
तालिबानको प्रतिरोध गरिरहेको समूहले भने आफूहरू सबै रणनीतिक स्थानमा उपस्थित रहेको बताउँदै लडाइँ जारी राख्ने जनाएको छ ।
उक्त समूहका नेताले तालिबानविरुद्ध देशैभरि विद्रोहको आह्वान गरेका छन् । सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा अडियो रेकर्डमा न्याश्नल रिजिस्टन्स फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) का नेता अमहम मसूदले तालिबानलाई मान्यता दिएको र उनीहरूलाई सैन्य तथा राजनीतिक विश्वास दिलाएको अन्तर्राष्ट्रिय समुदायलाई आरोप लगाए ।
‘तपाईँ जहाँकहीँ भए पनि, भित्र वा बाहिर, हाम्रो देशको गरिमा, स्वतन्त्रता र समृद्धिका लागि म तपाईँहरूलाई देशव्यापी विद्रोह सुरु गर्न आह्वान गर्छु, उनले भने । तालिबानले तीन हप्ताअघि अफगानिस्तान आफ्नो नियन्त्रणमा लिएको थियो ।
राजधानी काबुलमा उसले अगस्ट १५ तारिखमा नियन्त्रण कायम गरेको थियो । भिरालो पर्वतले घेरिएको पन्जशिर उपत्यकामा डेढदेखि दुई लाख मानिसहरू बसोबास गर्छन्।
यसअघि सोभियत सङ्घ र तालिबानले अफगानिस्तानमा नियन्त्रण कायम गर्दा पनि पन्जशिर उनीहरूको नियन्त्रणमा गएको थिएन ।
सन् १९८० को दशकमा सोभियत सेनाविरुद्ध र सन् १९९६ देखि २००१ सम्म तालिबानको प्रतिरोध भएको थियो । पन्जशिरका अग्ला चट्टान र दुई पहाडका बीचमा रहेका खोँचहरूले उक्त स्थानलाई बलियो गढ बनाइदिएका छन् ।
बीचबाट पन्जशिर नदी बगेको उक्त उपत्यका अफगानिस्तान र उत्तर पश्चिम पाकिस्तानबीच रहेको हिन्दकुश पर्वतशृङ्खला नजिक छ । नेपाली बिबिसी सेवाबाट साभार: सम्पादक