विराटनगर । प्रदेश १ मा केही दिन अघि मात्र मुख्यमन्त्रीको सपथ लिएका भिम आर्चाय नेतृत्वको सरकार संकटमा परेको छ ।
नेकपा एमाले विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) दलमा १० जना प्रदेशसभा सदस्यहरु जाने भएपछि आर्चाय नेतृत्वको सरकार संटकमा परेको हो । १० जना एमाले सांसदहरु एकीकृत समाजवादीमा जाने निर्णय गरेपछि पूर्णता नपाउँदै ढल्ने संकेत देखिएको छ ।
एमालेमा छँदा माधव नेपाल समूहमा रहेका सांसदहरु राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापाले नयाँ नेकपा (एकीकृत समाजवादी) दल रोज्ने निर्णय गरेका हुन् । आउँदो मंगलबार निर्वाचन आयोगमा आफुहरु एकीकृत समाजवादी दल रोजेको पत्र दिने निर्णय गरेको सांसद राजेन्द्र राईले जानकारी दिनु भएको छ ।
यस्तो छ, अंक गणित
प्रदेश १ मा जम्मा ९३ जना प्रदेशसभा सदस्य छन् । जसमा हाल ९२ जना मात्र कायम छन् । नेकपा एमालेका ५१ सदस्यमा एक जना सभामुख छन् । अर्का एक सांसद गुलेफुन खातुन फौजदारी मुद्दामा दोषी देखिएकाले फरार छिन् ।
खातुन नेकपा एमाले अध्यक्ष ओली समूहकै हुन् । खानुत र सभामुख घटाउँदा अब एमालेसँग मात्र ४९ जना सदस्य छन् । यस ४९ जनाबाट १० जनाले नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नेपछि एमाले मात्र ३९ जनामा सिमित हुन्छ । बहुमतको लागि ४७ जना आवश्यक पर्दछ ।
प्रदेश १ मा नेपाली कांग्रेसको २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, अव एकीकृत समाजवादीका १० जना थपिँदा विपक्षी गठबन्धनसँग ४९ जना सांसद हुनेछन् । यता राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १÷१ जना सांसद छन् ।
आर्चाय विपक्षी गठबन्धनले संघीय लोकतान्त्रिक मञ्चको एक जना सांसदको साथ पनि पाउने बताएको छ । मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फे थपिँदा कूल संख्या ५० हुनेछ । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका राजेन्द्र राईले प्रदेश १ मा कम्तीमा १५ सांसद भएको दाबी गर्दै आउनु भएको छ ।