वैचारिकरुपमा संगठित वर्तमान अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनको जन्म कमुनिष्ट घोषणापत्रसँगै भएको मान्नु पर्दछ। यद्यपि कम्युनिष्ट व्यवस्थाका लागि त्यसभन्दापूर्व पनि यस्ता आन्दोलन भएका हुन र कम्युनहरू पनि स्थापना गरिएका हुन्।
तर, अमेरिका लगायत विकसित युरोपका मजदुर आन्दोलनहरूलाई वैचारिकरूपमा एक सूत्रमा बाँध्ने र संयुक्त मजदुर आन्दोलनलाई समाजवादको लक्ष्यसँग आवद्ध गर्ने कामको थालनी कम्युनिष्ट घोषणपत्रको माध्यमबाट सुरु गरिएको हो। समाजवादी लक्ष्य सापेक्ष हेर्ने हो भने, कम्युनिष्ट आन्दोलन र मजदुर आन्दोलन साररुपमा भित्र आन्दोलन होइनन्। कम्युनिष्ट आन्दोलनको जन्म मजदुर आन्दोलनकै गर्भबाट भएको हो र त्यसको दिशा निर्देशक संगठित राजनैतिक संगठनका रूपमा भएको हो।
जसको मूल राजनैतिक कार्य मजदुर वर्गको आर्थिक मुक्तिका लागि त्यस आन्दोलनको नेतृत्व र दिशा निर्देशन गर्नु थियो। अतः कम्युनिष्ट पार्टीको लक्ष पार्टीका लागि सत्ता प्राप्त गर्ने नभई श्रमको मुक्तिका लागि मजदुर वर्गकै नेतृत्वमा मजदुर वर्गको राज्यसत्ता स्थापित गरी समाजको आमूल परिवर्तन गर्दै श्रमप्रधान तथा श्रमजीवी वर्गको न्यायिक सत्ता स्थापना गर्नु हो। यसमा नै अरु पार्टीभन्दा कम्युनिष्ट पार्टीको भिन्नता निहित छ।
युरोप र अमेरिका जस्ता विकसित पूँजीवादी देशहरूमा आफ्ना राजनैतिक अधिकार तथा आर्थिक शोषणको अन्तका लागि लामो समयदेखि औद्योगिक सर्वहारा वर्गको आन्दोलन चल्दै आएको थियो। तर, अस्पष्ट राजनैतिक दृष्टिकोण, अपरिभाषित लक्ष तथा असंगठित अवस्थामा भइरहेको यस आन्दोलनलाई एकतावद्ध गर्नु तथा त्यसलाई राजनैतिक तथा वैचारिक नेतृत्व दिनु पर्ने समयको माग थियो।
त्यसको परिपूर्तिका लागि मार्क्स तथा ऐंगेल्सले सर्वहारा आन्दोलनलाई राजनैतिक र वैचारिक नेतृत्व दिन कम्युनिष्ट विचारधारा तथा कम्युनिष्ट पार्टीका गठनको अवधारणा अघिसारेर लामो प्रयासपछि कम्युनिष्ट पार्टीहरूको जन्म भयो। यसै कारण भन्ने गरिन्छ- ‘कम्युनिष्ट आन्दोलनको जन्म मजदुर आन्दोलनको गर्भबाट भएको हो’। मजदुर आन्दोलन र कम्युनिष्ट आन्दोलनबीचको एकत्व तथा अन्तर सम्बन्ध निम्न आधारमा केलाउन पर्छ- पहिलो कुरा, कम्युनिष्ट पार्टीहरू वा समष्टिगतरूपमा कम्युनिष्ट आन्दोलन सर्वहारा वर्ग तथा त्यसको आन्दोलनभन्दा भित्र आफ्नै स्वतन्त्र अस्तित्व, भित्र ध्येय तथा लक्ष्य र सिद्धान्तको आन्दोलन होइन र हुन सक्दैन।
श्रमिक वर्गका मुक्तिको राजनैतिक लक्ष्यभन्दा भित्र चिन्तन र लक्ष्य लिएर मजदुर आन्दोलनको समानान्तर कुनै पार्टी वा अभियानको रूपमा यसको गठन भएको होइन, जसले श्रमिक वर्गका मुक्ति आन्दोलनको दिशा, लक्ष र एकत्वमा व्यवधान वा अन्योल सृजना गरोस्। सिंगो सर्वहारा वर्गको आर्थिक राजनैतिक मुक्ति बाहेक कम्युनिष्टहरूको अन्य कुनै स्वार्थ वा राजनैतिक लक्ष्य तथा दर्शन छैन। संक्षेपमा, कुनै पनि कम्युनिष्ट श्रमजीवी वर्गको राजनीति बोकेको उसको अग्रणीय चिन्तक सदस्य मात्र हो। त्यसभन्दा भित्र उसको पहिचान छैन।
दोस्रो कुरा, कम्युनिष्ट पार्टी अन्य पार्टीहरूभन्दा भित्र यस अर्थमा छ कि यसले एकतर्फ विभिन्न राष्ट्रिय मजदुर आन्दोलनमा उठाइने र समष्टिगत रूपमा मजदुर वर्गको हितसँग जोडिएका साझा सवालहरूको पहिचान गरी तिनलाई अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका संघर्षको साझा नाराका रूपमा अगाडि ल्याउने काम गर्छ।
अर्कोतर्फ श्रमिक आन्दोलनका विकासको प्रत्येक चरणमा मजदुर आन्दोलनका तात्कालिक कार्यभार, कार्यनीति, वस्तुगत अवस्था, उपलब्ध साधन श्रोत, सम्भावना तथा क्रान्तिकारी शक्तिको अवस्था आदिको वस्तुनिष्ठ विश्लेषण गरी सम्पूर्ण मजदुर वर्गको हितमा संघर्षका कार्यक्रमसहित आन्दोलनको नेतृत्वदायी दिशा निर्देशकको काम गर्छ।
त्यसकारण कम्युनिष्ट पार्टी एकतर्फ व्यवहारतः मजदुर वर्ग र मजदुर आन्दोलनको सबभन्दा बडी विश्वासिलो, अग्रणीय र दृढसंकल्पित राजनैतिक दस्ता हो। जसले सम्पूर्ण श्रमिक वर्गलाई संगठित र एकजुट गर्दै मजदुर वर्गको राजनैतिक संघर्षलाई निरन्तर अगाडि बढाउँछ भने अर्कोतर्फ सिंगो श्रमिक वर्ग मध्येको सैद्धान्तिक रूपमा परिपक्व र संघर्षको अवस्था, दिशा र सम्भावनाबारे विचार गर्नसक्ने चिन्तक र राजनैतिक नेतृत्व दिने अग्रणीय दस्ता हो। अतः नाम भित्र भए पनि राजनैतिक लक्ष र विचारधाराको दृष्टिकोणबाट यी दुइटै आन्दोलन एउटै आन्दोलनका दुई पाटा हुन्।
तर, संगठनात्मक र आन्दोलनमा संलग्न जमातको वैचारिक, राजनैतिक आस्थाको विविधताले मजदुर आन्दोलनहरूको आ-आफ्नो स्वतन्त्र अस्तित्व र पहिचान छ। कम्युनिष्ट पार्टी वा कम्युनिष्ट आन्दोलनको सदस्य बन्न मार्क्सवादी हुनु आवश्यक हुन्छ भने श्रमिक आन्दोलनको वा श्रमिक संगठनको अंग बन्न मार्क्सवादको पक्षधरता अनिवार्य सर्त हुँदैन। श्रमिक आन्दोलनको तात्कालिक लक्ष्य र कार्यक्रम प्रतिको सहमति यथेष्ट मानिन्छ।
मजदुर आन्दोलन आफ्नो पथप्रदर्शक र वैचारिक नेतृत्वदायी कम्युनिष्ट पार्टीको वैचारिक र राजनैतिक निर्देशनमा चल्ने भए पनि आफ्नो आन्तरिक संगठन, कार्ययोजना, नेतृत्वको चयन आदि पक्षमा स्वायत्त संस्था पनि हो। यिनकाबीच दोहोरा सम्बन्ध रहन्छ। मजदुर आन्दोलनको अनुभवबाट कम्युनिष्ट पार्टीले वस्तुगत अवस्थाको विश्लेषण गर्दै आफूले मजदुर आन्दोलनका लागि तयार पारेको कार्यनीति तथा मार्गचित्रको वस्तुगतताको सत्यापन आन्दोलनका परिणामबाट गर्छ र आवश्यक सुधारसहित नयाँ कार्यनीति तय गर्छ भने मजदुर आन्दोलन कम्युनिष्ट पार्टीको नीति तथा कार्यक्रमबाट निर्देशित हुन्छन्। यसकारण कम्युनिष्ट आन्दोलन कुनै आत्मकेन्द्रित आन्दोलन नभै यावत् श्रमजीवी वर्गका मुक्ति आन्दोलनको नेतृत्वकर्ता आन्दोलन हो।
मार्क्सवादी क्रान्ति विज्ञानः समाजवादी क्रान्तिको लक्ष, रणनीति र कार्यनीति
क्रान्ति विज्ञान- मार्क्सको क्रान्ति विज्ञान सबै किसिमका वर्गीय र सामाजिक शोषणको अन्त गरी समतामूलक पूर्ण प्रजातान्त्रिक न्यायिक समाज निर्माणको लक्ष्यबाट निर्देशित क्रान्तिकारी वैज्ञानिक दृष्टिकोण हो। सर्वविदित छ मार्क्सद्वारा प्रतिपादित ‘ऐतिहासिक भौतिकवाद’ समाज विज्ञान हो, जसअनुसार सामाजिक-आर्थिक संरचनाहरूको विकास र परिवर्तन व्यक्तिको चाहनाबाट नभै सामाजिक उत्पादन, उत्पादक शक्ति तथा उत्पादन सम्बन्धहरू बीचका द्वन्द्वात्मक अन्तरसम्बन्धको विकास तथा परिवर्तनका वस्तुगत नियम अन्तरगत हुन्छ।
परिणाम स्वरूप समाज एउटा सामाजिक-आर्थिक संरचनाबाट अर्को बढी विकसित तथा उन्नत संरचनामा संक्रमण गर्छ। यस्तो परिवर्तन कुनै व्यक्तिका चाहनाबाट होइन, सामाजिक परिवर्तनका वस्तुगत नियमहरूले उपस्थित गर्ने सामाजिक अपरिहार्यताको (Social necessity)को परिणाम हुन्छ। क्रान्तिकारी परिवर्तनहरूले पुरानो संरचनाको निषेध र नयाँको स्थापना गर्छ। परिवर्तनहरूको यो क्रमिकता सामाजिक गतिको चारित्रिक विशिष्टता हो र मानव समाजको इतिहास हो।
समाज विकास र परिवर्तनका यिनै वस्तुगत नियमको आधारमा मार्क्सले तत्कालीन पूँजीवादी सामाजिक-आर्थिक संरचनाको समष्टिगत विश्लेषण तथा विगतका विश्लेषणको आधारमा सर्वहारा क्रान्ति तथा समाजवादमा समाजको संक्रमणको अपरिहार्यताको आफ्नो क्रान्तिकारी सिद्धान्त प्रस्तुत गरेका हुन्। यसलाई मार्क्सवादी क्रान्तिविज्ञनको रूपमा परिभाषित गरिएको छ।
मार्क्सवादी क्रान्ति विज्ञानअनुसार समाजवादी क्रान्ति विगतका क्रान्ति जस्तो ‘सामाजिक उत्पादन र व्यक्तिगत उपभोग’को अवस्था कायम राख्दै पुरानो आर्थिक-सामाजिक संरचनाको निषेध गरी एउटा शोषक वर्गको हातबाट अर्का शोषक वर्गको हातमा सत्ता सुम्पिने परिघटना नभई विगत संरचनाहरूको युगलाई नै निषेध गरी समाजलाई नयाँ युगमा संक्रमण गराउने परिवर्तनकारी घटना भएकोले समाजको नैसर्गिक गति अन्तरगत स्वतःभैरहने स्वाभाविक परिवर्तन (Evolution)को माध्यमबाट मात्र सम्भव हुँदैन।
त्यसका लागि मानवको सक्रिय र सचेत हस्तक्षेपको आवश्यकता पर्छ। त्यस्तो क्रान्तिकारी हस्तक्षेपकारी शक्ति अरु कोही नभएर पूँजीवादले नै जन्माएको र आर्थिक साधन श्रोत विहीन सर्वहारा वर्ग नै हो भन्ने मार्क्सको निचोड हो। निश्चित हो, यस क्रान्तिका लागि वस्तुगत आधार र अवस्था स्वयम् पूँजीवादी उत्पादन प्रणालीको विकास प्रक्रियाले नै निर्माण गर्छ। तर, मनोगत अवस्था कम्युनिष्ट पार्टीहरूको नेतृत्वमा सर्वहारा वर्गका क्रान्तिकारी क्रियाकलापले मात्र निर्माण गर्न सक्छ।
तर, त्यतिले मात्र पुग्दैन, यस क्रान्तिलाई सम्पन्न गर्न ठोस ऐतिहासिक अवस्थामा श्रमिक वर्गका आन्दोलनको कार्यभार र दिशा निरूपण तथा क्रान्तिको विजयका लागि त्यस चरणका अग्रगामी क्रान्तिकारी वर्गहरूको पहिचान र वर्गीय एकता कायम गरी शक्ति सञ्चय गर्दै क्रान्तिलाई अग्रदिशामा बढाउनु र उचित समयमा मजदुर वर्गको नेतृत्वमा सर्वहारा क्रान्ति सम्पन्न गरी समाजवादको स्थापना गर्न राजनैतिक र वैचारिकरूपमा परिपक्व र संगठित कम्युनिष्ट पार्टीको उद्देश्यमूलक गतिविधि अत्यन्त आवश्यक हुन्छ। अन्यथा श्रमजीवी वर्गले पराजय भोग्नु पर्ने हुन्छ।
यो मार्क्सवादी क्रान्ति विज्ञान हो। कुन रूपमा र कुन अवस्थामा समाजवादी क्रान्ति सम्पन्न हुन्छ, त्यो देश र समाज तथा विश्वसम्बन्धहरूको अवस्थामा निर्भर गर्ने छ। विगत पाँच हजार वर्षदेखि चल्दै आएको वर्ग शोषणको अवस्था समाप्त गरी वर्गीय शोषणबाट समाजलाई मुक्त गर्नु नै सर्वहारा वर्गका आन्दोलनको सार हो। जसलाई सर्वहारा वर्गको नेतृत्वमा आम श्रमजीवी वर्ग तथा ग्रामीण गरिब किसान तथा श्रमिक तप्काहरूबाट सम्पन्न गरिने क्रान्तिले मात्र सम्पन्न गर्न सक्छ। यो मार्क्सका क्रान्ति विज्ञानको सार हो।
मार्क्सले प्रतिपादन गरेको समाजवादी क्रान्तिको अनिवार्यताको सिद्धान्त मार्क्सवादी समाज विज्ञानको सर्वोपरि महत्त्वको पक्ष हो। यो नै त्यो पक्ष हो जसले मार्क्सका विचारलाई मार्क्सवादको रूपमा स्थापित गरेको छ र मार्क्सवादलाई श्रमिक वर्गका संघर्षको हतियारका रूपमा स्थापित गरेको छ। यो नै त्यो पक्ष पनि हो जसले गर्दा मार्क्स र मार्क्सवादमाथि दायाँ बायाँ चारैतिरबाट निरन्तर प्रहार हुँदै आएको छ र आज पनि पूँजीवादको सबभन्दा बढी शत्रु सिद्धानतको रूपमा मानिन्छ।
तैपनि श्रमजीवी वर्गका मुक्तिको एक मात्र पथप्रदर्शक र वर्गीय शोषण विहीन समाजको निर्माणका लागि एक मात्र वैचारिक हतियार र क्रान्तिविज्ञानको रूपमा आज पनि स्थापित छ र स्थापित रहने छ।
समाजवादी क्रान्तिको लक्ष- सर्वहारा क्रान्तिको लक्ष हजारौँ वर्षदेखि चल्दै आएको वर्गीय शोषण, सामाजिक विभेद र विषमताको अन्त गर्न त्यसको मूल कारण रहेको विभेदकारी उत्पादन प्रणाली अन्तरगत स्थापित हुने विभेदकारी उत्पादन सम्बन्धहरूको अन्तर गरी त्यसको ठाउँमा साझा स्वामित्वको उत्पादन र उपभोगको प्रणाली स्थापित गर्नु हो।
त्यसका लागि मार्क्स र लेनिनका आधारभूत अवधारणहरूबाट निर्देशित भएर सर्वहारा वर्गको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गरी वर्गीय शोषण विहीन, समतामूलक पूर्ण प्रजातान्त्रिक वैज्ञानिक साम्यवादी सामाजिक-आर्थिक संरचना निर्माण गर्नु हो। यसलाई कम्युनिष्टहरूले आफ्ना क्रान्तिकारी गतिविधिका लागि मार्ग निर्देशक सिद्धान्तको रूपमा लिएका छन्।
रणनीति- सामान्यरूपमा रणनीति क्रान्तिकारीहरूले आफ्नो लक्ष्य प्राप्त गर्न निर्धारण गरिने दीर्घकालीन योजना, त्यसका चरण र क्रान्तिकारी शक्तिहरूका समायोजनको मार्ग चित्र हो। जसको निर्माण मार्क्सवादी सिद्धान्तबाट निर्देशित रहेर राष्ट्रिय अन्तर्राष्ट्रिय अवस्था, देशको वस्तुगत अवस्था, क्रान्तिकारी शक्तिहरूको मनोगत अवस्था र परिस्थितिको आधारमा गरिन्छ।
कम्युनिष्ट पार्टीको रणनीति मूलरूपमा श्रमजीवी जनताको राज्यसत्ता कायम गर्ने उद्देश्यले सञ्चालित वर्गसंर्घषलाई सही दिशा प्रदान गर्ने र विद्यमान वर्गीय शक्ति सन्तुलन र सम्बन्धहरुको मूल्यांकन गरी शोषित वर्गहरूबीच एकत्व कायम गरी क्रान्तिको संवाहक शक्तिलाई संगठित गर्दै क्रान्तिलाई विभिन्न चरणहरूबाट सफलतापूर्वक लक्ष्यतर्फ बढाउन मार्ग निर्देशन गर्ने क्रान्तिकारी परियोजना हो।
समाज विकासको वर्तमान ऐतिहासिक चरणमा पनि सर्वहारा क्रान्ति र कम्युनिष्ट आन्दोलनको दीर्घकालिक रणनीतिक लक्ष्य वैज्ञानिक समाजवादको स्थापना गर्नु हो। साम्यवाद भोलिको कुरा हो। तर, आजको अवस्थामा वैज्ञानिक समाजवादको त्यो लक्ष्य प्राप्त गर्ने रणनीति सबै देश र समाजको लागि समान हुनु सक्दैन। हाम्रो सन्दर्भमा हेर्ने हो भने दीर्घकालीन लक्ष्य समाजवादमा संक्रमण गर्न क्रान्तिले वर्तमान अवस्थाबाट दुई चरण पार गर्नुपर्ने हुन्छ।
पहिलो समाजवादमा प्रवेशका लागि आवश्यक वस्तुगत पूर्वाआधार अर्थात् सामाजिक उत्पादनको उच्च विकास, सामूहिक अर्थतन्त्रको आधार निर्माण, राजनैतिक र वैचारिक आधारको निर्माण, सामाजिक एकत्व र सहजीवनको लागि पूर्वाधारहरूको निर्माण आदि। दोस्रो चरण, निर्माण गरिएका ती पूर्वाधारहरूको जगमा समाजवादमा संक्रमण। अहिले दोस्रो जनक्रान्तिपछि संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना तथा समाजवाद उन्मुख संरचनाको निर्माण गर्ने संवैधानिक प्रावधान सर्वस्वीकार्यरूपमा स्थापित भइसकेको अवस्था छ।
र, यससँगै हामी आर्थिक पूर्वाधार निर्माणको प्रथम चरणमा प्रवेश गरिसकेका छौं र अब तीव्रताकासाथ पूर्वाधार निर्माणको काम गर्नु पर्छ। त्यसका लागि यस चरणका सहयोगी र अग्रगामी सबै सहयोगी वर्ग र तप्काहरूलाई एउटै अभियान र साझा स्वीकृत कार्यक्रम अन्तरगत संगठित गरी क्रान्तिको संवाहक शक्तिको निर्माण गर्नु र तिनको राज्यसत्ता कायम गरी देशलाई समाजवादमा संक्रमणको दिशामा अगाडि बढाउँदै लैजानु वर्तमान रणनीतिको मूल सार हुनु पर्दछ।
स्पष्ट छ, यी दुइटै चरणका सहयोगी शक्ति र तिनले पूरा गर्ने कार्यभारहरूको चरित्र भिन्नाभिन्नै हुनेछ र स्वयं राज्यसत्ताको चरित्र पनि फेरिँदै जाने छ। त्यसै अनुरूप सत्ता सञ्चलनमा श्रमिक वर्गको भूमिका, स्थान र कार्यभार पनि विकसित गर्दै लैजानु पर्ने हुन्छ। यी दुइटै चरणहरूमा राज्यसत्ताको सञ्चालनमा श्रमिक वर्गको भूमिका र पकड क्रमिकरुपमा बढाउँदै लैजानु अनिवार्य आवश्यकता हो।
तब मात्र श्रमिक वर्गले किसान तथा श्रमिक बुद्धिजीवी वर्ग लगायत अग्रगामी गैरसर्वहारा श्रमिक वर्गहरूको सहयोगमा समाजवादी क्रान्ति सम्पन्न गर्न सक्ने छ। यस दौरान कम्युनिष्ट पार्टीले आफ्नो भूमिकालाई प्रत्येक चरण र अवस्थामा बढाउँदै लगी सम्पूर्ण श्रमजीवी वर्गको अग्रणीय दस्ताको हैसियतले क्रान्तिको नेतृत्व गर्नुपर्ने हुन्छ।
यस रणनीतिको सार क्रान्तिको प्रथम चरणमा सामूहिकतामा विशेष बल दिँदै वर्तमान पूँजीवादी प्रजातन्त्रका कार्यभारहरूलाई सक्दो बढी मात्रामा जनताको हित हुने गरी पूरा गर्नु हो। यसक्रममा देशलाई पश्चिमा साम्राज्यवाद परस्त छाडा पूँजीवादी विकासको बाटोमा डोर्याउन चाहने शक्तिहरूलाई निस्तेज पार्दै सरकारी, सहकारी, सार्वजनिक तथा गैर सरकारी तथा निजी राष्ट्रिय पूँजीको निर्माण र संचरनाको माध्यमबाट राष्ट्रिय उद्योगको विकास तथा कृषि क्षेत्रको पुर्नव्यवस्थापन गरी प्रजातन्त्रलाई जनमुखी र जनउत्तरदायी व्यवस्थाको रुपमा विकसित गर्दै जानु हो। यसबाट सफलता पूर्वक समाजवाद उन्मुख जनवादी संरचनाको लक्ष्य प्राप्त गर्न सकिने छ र यसैबाट समाजवादमा संक्रमणका पूर्वाधार निर्माण हुने छन्। दोस्रो चरणमा जनवादी संरचनाको कार्यभार पूरा गर्दै समाजवादमा संक्रमणका लागि वस्तुगत र मनोगत आधारहरू निर्माण गरी श्रमजीवी वर्गको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गर्नु हो।
कार्यनीति- कार्यनीति मुख्यरूपमा संघर्ष र क्रान्तिलाई रणनीतिक दिशामा अगाडि बढाउँदा प्रत्येक चरणमा सम्मुख आउने तात्कालिक अवस्थाको यथार्थ मूल्यांकन गरी त्यस अवस्थाबाट खतरारहित बाटो भई क्रान्तिकारी गतिविधिलाई अगाडि बढाउन तात्कालिक ठोस अवस्थामा निर्धारण गरिने कार्य योजना हो।
जसका स्वरूपको निरूपण विद्यमान अवस्थाको विश्लेषणबाट गरिन्छ। कार्यनीति समय सापेक्ष र अवस्था सापेक्ष कुनै खास निश्चित अवधि र अवस्थाको लागि तात्कालिक कार्यक्रम हुने हुँदा यसमा समय र अवस्था सापेक्ष सामान्य हेरफेर हुनु स्वाभाविक कुरा हो। तर यसो गर्दा वा कार्यनीतिका रूप फेर्दा रणनीति र लक्षलाई कदापि बिर्सनु हुन्न। अन्यथा लक्ष्य पराजित हुन सक्छ।
रणनीति श्रमिक आन्दोलनको लक्ष्यलाई प्राप्त गर्न एउटा सिंगो चरणको लागि निर्धारित गरिएको क्रान्तिकारी कार्य निर्देशिका हो भने कार्यनीति मार्गमा आइपर्ने अवस्था विशेषहरूमा, रणनीति र लक्ष्यलाई मध्यनजर राखी, त्यस चरणबाट सफलतापूर्वक क्रान्तिलाई अगाडि बढाउन अपनाइने क्रान्तिकारी गतिविधि हो।
तर, अत्यन्त स्पष्टतासाथ के बुझ्नु पर्दछ भने रणनीति र कार्यनीति एक अर्कोबाट अलग नभई एकअर्कासँग अभिन्नरुपमा जोडिएका पक्ष हुन् र यी दुइटै पार्टीको कार्यक्रम, सिद्धान्त र लक्ष्यबाट निर्देशित हुने कुरा हुन्। यसभन्दा भित्र रूपमा रणनीति र कार्यनीतिलाई एकांकी रूपमा हेर्नु गलत हुन्छ।
कार्यक्रम, लक्ष्य, सिद्धान्त र रणनीतिलाई बिर्सेर ‘कार्यनीति’को नाममा गरिने क्रियाकलापहरूले मजदुर आन्दोलनको दिशालाई अवरुद्ध गर्ने मात्र नभई क्रान्तिको लक्ष्यलाई नै पराजित गर्दछन्। छोटकरीमा भन्ने हो भने, मजदुर वर्गीय पार्टीको रणनीति र कार्यनीतिको मूल उद्देश्य मजदुर वर्गको क्रान्तिलाई सबभन्दा बढी निरापद बाटो हुँदै, सबभन्दा छोटो समयमा आफ्नो लक्ष्यमा पुर्याउनु हो।
समाजवादी क्रान्ति एउटा आमूल परिवर्तनकारी सामाजिक परिघटना हो। आजको अवस्थामा यो परिघटना कुनै देश विशेषको खास वस्तुगत अवस्थामा क्रान्तिको माध्यमबाट एउटै झट्कामा सम्पन्न हुन सक्छ भने कुनै अर्को अवस्था विशेषमा परिमाणात्मक परिवर्तनको लामो बाटो पूरा गर्दै गुणात्मक परिवर्तनको फड्को लगाउनेरूपमा पनि सम्पन्न हुन सक्दछ। यो कुरा समाजको अवस्था, आन्दोलनको चरित्र, चरण तथा त्यसले सम्पादन गर्ने कार्यहरूको चरित्रमा निर्भर गर्ने छ।
संसदीय प्रणाली, बहुलवाद, संघीय गणतान्त्रिक परिपाटी अपनाइ सकेको हाम्रो वर्तमान अवस्थाबाट समाजवादमा संक्रमणका पूर्वाधार निर्माणको प्रक्रिया यस्तै श्रृंखलाबद्ध परिमाणात्मक परिवर्तन भएर गुणात्मक परिवर्तनको फड्कोमा पुग्ने प्रक्रिया हुने छ। जसले संक्रमणकालीन राज्यसत्ताको माध्यमबाट आर्थिक सामाजिक क्षेत्रमा संरचनागत परिवर्तन गर्दै क्रान्तिलाई निरन्तरता प्रदान गरी समाजलाई आमूल परिवर्तनकारी समाजवादी चरणमा फड्को लगाउन सकिने अवस्थामा पुर्याउने छ। यस सम्पूर्ण प्रक्रियामा श्रमजीवी वर्ग तथा कम्युनिष्ट पार्टीले निर्वाह गर्ने भूमिकाको निर्णायक महत्त्व रहनेछ।
यिनको भूमिका कमजोर हुन गएमा क्रान्तिकारी प्रक्रिया रोकिने मात्र नभई उल्टो दिशामा पनि जान सक्ने खतरा रहन्छ। परिवर्तनकारी फड्को कुन रूपमा र कुन समयमा सम्पन्न हुनेछ भन्ने कुरा तत्कालीन ठोस वस्तुगत अवस्था र क्रान्ति विकासको दौरान परिपक्व हुँदै जाने मनोगत अवस्थाहरूमा निर्भर रहने छ।
संवैधानिक आधारमा बहुदलीय प्रतिस्पर्धाको माध्यमबाट कम्युनिष्ट पार्टीले सत्ता प्राप्त गरिसकेको वर्तमान चरणमा क्रान्तिलाई समाजवादोन्मुख संक्रमणकालीन चरण पूरा गर्दै समाजवादमा संक्रणन गर्न कम्युनिष्टहरूको रणनीति तथा कार्यनीति यिनै सैद्धान्तिक प्रस्थापनाहरूबाट निर्देशित भएर नै तय गर्नु पर्छ।
अगाडिको रणनीति तथा कार्यनीतिबारे विचार गर्दा समाज विकासको वर्तमान ऐतिहासिक चरणको बस्तुगत यथार्थ र माथि विश्लेषण गरिएको हाम्रो सामाजिक-आर्थिक अवस्थामा श्रमिक वर्गले निर्वाह गर्नुपर्ने भूमिका पूरा गर्नसक्ने क्षमता र कम्युनिष्ट पार्टीले गर्नुपर्ने कामहरूलाई मध्यनजर राखी विश्लेषण गर्दा यो भन्दा अर्को सुरक्षित विकल्प देखिँदैन। कम्युनिष्टहरूले यथार्थबाट निर्देशित हुनु पर्दछ भावना र मनोगत चाहनाबाट होइन। लाेकपाटी डटकमबाट साभार: सम्पादक