चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनसहितका तीन जिल्लाको विकासका लागि वृहत्तर योजनाअन्तर्गत काम गर्नुपर्ने बताउनुभएको छ ।
भरतपुर मेट्रो प्लाजा (बहुउद्देश्यीय भवन)को आज यहाँ शिलान्यास गर्दै उहाँले चितवनको नवलपुरको दाउन्नेसम्म र मकवानपुरको हेटाैँडालाई जोडेर एउटै विकास प्राधिकरणको अवधारणाअन्तर्गत काम गर्नुपर्ने बताउनुभएको हो ।
अध्यक्ष दाहालले यी जिल्ला मिलाएर विकासको मोडालिटिमा जाँदा यहाँको शिक्षा, पर्यटन, कृषि, धार्मिक पर्यटनका हिसाबले प्रचुर सम्भावना बोकेको क्षेत्र बन्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “चितवनका लागि मात्रै नभएर मकवानपुरको हेटाँैडासम्म र नवलपुरको दाउन्नेसम्म एउटै विकास प्राधिकरणको अवधारणाअन्तर्गत विस्तारपूर्वक वृहत्तर योजनामा जानुपर्छ ।” आफूले यो सपना देखेको भए पनि यसअघिको सरकारले चितवन र म प्रतिको हेर्ने दृष्टिकोण फरक राखेका कारण काम हुन नसकेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब विकासका कामलाई गति दिने कोशिस हुने छ ।” अध्यक्ष दाहालले आफैले बनाएको प्रधानमन्त्री मप्रति नै सकारात्मक नहुँदा यहाँको विकासमा समस्या आएको उल्लेख गर्दै जसले गठबन्धनबाट देशमा राजनीतिक स्थायित्व र विकास हुन्छ भनेर लाग्यो त्यहीमाथि प्रहार र निषेधको खेल भएको बताउनुभयो । नेपालको परम्परागत राज्य व्यवस्था र संरचनाका कारण निजी क्षेत्रलाई सकारात्मक ढङ्गले हेर्ने काम नभएकाले यहाँको विकास निर्माणपछि परिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई सकारात्मक ढङ्गले हेर्ने र उनीहरुसँग भएको साधनस्रोत र क्षमताको अधिकतम प्रयोग गर्न उदारतापूर्वक आउने गरेको इतिहास होइन । हाम्रो पूरै नकारात्मक उदाहारण र विगत छ ।”
संविधानमा नै सार्वजनिक, निजी र सहकारीको संयोजनमा नेपालको विकासको मोडेल समाजबाद उन्मुख हुने छ भनेर लखे पनि व्यवहारिक रुपमा त्यस्ता आयोजना अघि बढ्न र निजी क्षेत्रसँग भएको साधनस्रोत परिचालन गर्नमा राज्य राम्रोसँग अघि आउन नसकेको उहाँले बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “अबको समय सामाजिक न्यायसहितको विकासमा लाग्नुपर्छ ।”