काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का ५५ केन्द्रीय सदस्य र २९ सांसदले निर्वाचन आयोगमा सशरीर उपस्थित भई दलको पक्षमा सनाखत गर्नुुभएको छ ।
सरकारले जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशका आधारमा आयोगले उक्त दलका केन्द्रीय सदस्य र सांसदलाई आवश्यक कागजातसहित बिहान ११ः३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि बोलाएको थियो ।
उक्त दलका नेता राजेन्द्रप्रसाद पाण्डेले दल दर्ताका लागि निवेदन दिँदाका बेला ५८ जनाको नाम पेस गरेकामा दुईजना मात्र सनाखतमा सामेल हुन नसक्नुुभएको जानकारी दिनुुभयो । केन्द्रीय सदस्य भास्कर काफ्ले र रवीन कोइराला सो सनाखतमा उपस्थित हुुनु भएन ।
पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट सनाखत गर्नुुभएको छ । सङ्घीय संसद्का २९ जना सांसदले पनि उक्त दलको पक्षमा सनाखत गर्नुुभएको छ । अरू दुुईजनाको प्राविधिक समस्याका कारण सनाखत हुन बाँकी रहेको नेता पाण्डेले जानकारी दिनुुभयो ।
आयोगमा उपस्थित भएर पनि सनाखत गर्न नपाएका केही सांसदका लागि विद्यमान अध्यादेश र ऐनका कारण प्राविधिक समस्या देखिएको जानकारी दिइएको छ । सांसद सोमप्रसाद पाण्डेय, मायादेवी ज्ञवाली र शारदा भट्टको निवेदनका बेला दस्ताखत नभए पनि आज उक्त दलको पक्षमा सनाखतका लागि आयोग पुग्नुभएको हो ।
निर्वाचन आयोगले आजै नेकपा (एकीकृत समाजवादी)लाई दल दर्ताको प्रमाणपत्र दिने बताइएको छ । सनाखतपछि नेता पाण्डेले भन्नुुभयो, “दल दर्ता हुनासाथ विगतमा समानान्तर कमिटी भनेर बनाइएका कमिटीलाई ब्युँताएर वडा तहसम्म संरचना विस्तार गर्ने तथा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिनभित्र इच्छुुक पार्टीमा सामेल हुन पाउने व्यवस्था छ, त्यसका लागि काम गर्नेछौँ ।”
केही दिनभित्र केन्द्रीय कमिटी बनाउने र राष्ट्रिय सम्मेलनको आयोजना गरेर कार्यक्रमसहित अघि बढ्ने उहाँले बताउनुुभयो । दलको मान्यता पाउन ४१ केन्द्रीय सदस्य वा ३१ सांसदको समर्थन आवश्यक पर्दथ्यो । पार्टी अध्यक्ष माधवकुमार नेपालले नेतृत्व गर्नुुभएको उक्त दलसँगै आयोगमा महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य र सांसदले आजै आयोगमा पुुगेर दल दर्ताको मान्यता प्राप्तिका लागि सनाखत गर्नुभएको छ ।
लाेसपाकाे पनि समयमै सनाखत
निर्वाचन आयोगले तोकेकै समयमा पुगेर महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा सनाखत गरेको छ ।
आयोगले अपरान्ह २ बजेसम्मका लागि दिएको समयभित्रै पुगेर नेताहरुले सनाखत गरेका हुन् । नयाँ दल दर्ताका लागि जनता समाजवादी पार्टी (जसपा) का ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो ।
यस्तै राष्ट्रियसभाका तीन र प्रतिनिसिभाका ३४ गरी ३७ सांसदमध्ये १५ जना अर्थात करिब ३७ प्रतिशतले सनाखत गरेको जनाइएको छ । उक्त पार्टीका दुई सांसद भने हाल निलम्बित छन् ।
प्रस्तावित पार्टीको अध्यक्षमा महन्थ ठाकुर र वरिष्ठ नेतामा राजेन्द्र महतोलाई प्रस्ताव गरिएको छ । पार्टीमा ३१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहने गरी नामावली बुझाइएको छ । पार्टीको चुनाव चिन्ह भने साइकल प्रस्ताव गरिएको छ ।
सनाखतपछि पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा ठाकुरले कानूनी मान्यताका लागि सनाखत गर्न आयोगले बोलाएको समयमै उपस्थिति भएर सनाखत गरेको जानकारी दिनुभयो । उहाँले दर्तापछि नयाँ पार्टीलाई सशक्त लोकतान्त्रिक शक्तिको रुपमा अघि बढाउने जानकारी दिनुभयो । सरकारले हालै ल्याएको अध्यादेशमा दल विभाजन हुन केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे हुने प्रावधान रहेको छ ।