काठमाडौं । तालिबानको कब्जापछि त्रासित बनेका अफगानी नागरिकको उद्धार छिटो गर्नु पर्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बताउनु भएको छ । बाइडनले अफगानिस्तानमा जारी उद्धार मिसन अगष्ट ३१ को समयसीमाभित्र सम्पन्न भइसक्ने विश्वास व्यक्त गर्दै छिटो गर्नु पर्ने बताउनु भएको हो ।
उहाँले उडानहरूको सङ्ख्यामा वृद्धि भएको भन्दै आवश्यक कागजपत्र भएका सबै मानिसहरूले बाहिरिन पाउने बताउनु भएको छ । तर उहाँले तालिबानको निरन्तर सहयोगमा मात्रै आगामी हप्ता उद्धार मिसन सम्पन्न हुने दाबी गर्नु भएको छ ।
यसअघि बाइडनले जी सेभेन नेताहरूको सम्मेलनमा स्थानीय इस्लामिक स्टेटको भातृ सङ्गठनको बढ्दो जोखिम बढेको छलफल गर्नु भएको थियो । जी सेभेन देशहरू र नेटोको एकतामा जोड दिँदै अन्तर्राष्ट्रिय दायित्व प्रतिको तालिबानहरूको प्रतिबद्धता हेरेर मूल्याङ्कन गरिनुपर्ने बाइडनको भनाइ थियो ।
काबुलबाट मात्र कम्तीमा ७० हजार मानिसहरूलाई उद्धार गरिएको छ । अफगानिस्तानमा अमेरिकी बसाइँ लम्बिँदा उक्त समूहले आक्रमण गर्ने जोखिम उच्च बताइएको छ । काबुल विमानस्थलको सुरक्षामा झन्डै ६ हजार अमेरिकी सैनिक र १ हजार भन्दा बढी ब्रिटिस सैनिक खटिएका छन् ।
उनीहरूले विदेशी र मापदण्ड पूरा गरेका अफगान नागरिकहरूको उद्धारमा सघाइरहेका छन् ।त्यसबाहेक नेटो आबद्ध फ्रान्स, जर्मनी र टर्कीका फौजहरू पनि सानो सङ्ख्यामा खटिएका छन् ।
अफगान नागरिकहरूलाई काबुल विमानस्थल जान रोक्दै तालिबान
यता तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताएको छ । तालिबानको डर, त्रास देखाउँदै विदेशीको उद्धारको नाममा विदेश जान रोक लगाउँदै काबुल विमानस्थल प्रवेश गर्न नदिने भएको हो । मङ्गलवार एउटा पत्रकार सम्मेलनमा बोल्ने क्रममा उहाँले ‘ती मानिसहरू घर फर्किनुपर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गरिने बताउनु भएको छ ।
तर उहाँले अमेरिकाले मानिसहरूलाई विमानस्थलमा बोलाउँदै विमान चढाइरहेको आरोप लगाउनु भएको हो । अमेरिकी सेनाको नियन्त्रणमा रहेको काबुल विमानस्थलबाट अहिलेसम्म ५८ हजार जनाभन्दा केही बढी मानिस विदेश गएको बताइएको छ ।
तीमध्ये धेरैजसो विदेशी सेनासँग काम गरेका अफगान नागरिकहरू छन् । तर तालिबान प्रवक्ता मुजाहिदले भने, ‘हामी अमेरिकीहरूलाई आग्रह गर्छौँ कि अफगानहरूलाई देश छाड्न नउक्साइयोस...हामीलाई उनीहरूको कौशल आवश्यक छ ।’
यसै महिनाभित्र सबै विदेशी नागरिकलाई देशबाहिर लैजान समय रहेको भन्दै समयसीमा थपिएला भन्ने आफूलाई नलागेको तालिबान प्रवक्ताको भनाइ थियो ।