काठमाडौं । सत्तारुढ गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
आइतबार सार्वजनिक गरिएको सरकारको न्यूनतम साझा कार्यक्रममा तत्कालिन केपी शर्मा ओली सरकारको समयमा भएको स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्ने र दोषीलाई कारवाही गर्नेसमेत उल्लेख गरिएको छ ।
यसैगरी चैतभित्र सबैलाई निशुल्क रूपमा कोरोना खोप दिइने घोषणासमेत गरिएको छ ।
यस्ता छन्, प्राथमिकताहरू
–राजनीतिक दलहरू सहमतिमा संविधान संशोधनका लागि पहल गर्ने ।
–संघीयता कार्यान्वयन एवं प्रदेश, स्थानीय तहहरूको सबलिकरणका लागि आवश्यक कानुन तर्जुमा र संसद्मा विचाराधिन विधेयकहरू टुंगो लगाउने
–सामाजिक आर्थिक रुपान्तरणको आधारहरू निर्माण गर्दै समन्यायिक आर्थिक विकासमा जोड दिने
–उत्पादनमुखी अर्थतन्त्रमा जोड, आपूर्ति व्यवस्थापनमा सुधार, महँगी नियन्त्रण, भ्रष्ट्राचार नियन्त्रणका लागि छानबिन र कारबाही गर्न अग्रसरता लिने
–कोभिड(१९ का कारण संकटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, व्यायामशाला तथा मनोरञ्जनलगायत क्षेत्रको उत्थान तथा कोभिड(१९ बाट प्रभावित श्रमजीवी तथा बेरोजगारका लागि विशेष राहत तथा आर्थिक प्याकेजको व्यवस्था गर्ने ।
–संविधानको सर्वोच्चता, कानुनी राज्य र सुशासनको प्रत्याभूत गर्ने ।
–शान्ति प्रक्रियालाई पूर्णता दिन विस्तृत शान्ति सम्झौताका बाँकी प्रक्रियाहरू तथा विभिन्न पक्षसँग भएका सम्झौताहरू कार्यान्वयन गर्ने ।
–बाढी, पहिरो, आगलागी जस्ता विपत्तिमा रहेका जनताको राहत, उद्दार तथा पुनस्थापना गर्ने ।