कटारी । सोलु करिडोर १३२ केभी प्रशारण लाइनको कटारी नगरपालिका वडा नम्वर ४, मरुवा क्षेत्रमा मुआब्जा माग गर्दै स्थानीयले आन्दोलन जारी राखेका छन् ।
आन्दोलनको दोस्रो दिन सोमबार आज कटारी बजारमा संञ्चालनमा आउने सवारीसाधनहरुमा अवरोध पुराएका छन् । सोलु करिडोर समस्या समाधान पहल समितिले शनिबार सार्वजनिक गरेको कार्यक्रम अन्र्तगत आज यातायात बन्दको कार्यक्रम रहेकाले उनीहरुले आज कटारीको वसपार्क नजिकैको तावाखोला पुलमा सवारीसाधनहरु रोकेका छन् ।
सडक संघर्षमा उत्रिएकाहरुले तत्काल माग पुरा गर्नुपर्ने , प्रहरी दमन बन्द गर्नुपर्ने लगायतका मागहरु राखेर नाराबाजी गरिरहेका छन् । कार्यक्रम अन्र्तगत वार्ताबाट समस्या समाधान नभएसम्म सम्पूर्ण कार्य स्थगित गरिने , आज यातायात बन्द गर्ने, भोलि कटारीका कार्यालयहरुमा अनिष्चित कालिन तालाबन्दी ,२० साउनमा प्रहरी राखिएको मरुवामाविमा तालाबन्दी ,२१ गते साउन उदयपुर जिल्ला बन्दको आव्हान गरेको समितिका संयोजक केपी बरालले बताउनुभयो ।
सरकारले प्रसाशनको बलमा जनतामाथि बल प्रयोग गरी सोलुकरीडोरको काम जारी राखेको भन्दै बन्द गरेर सरकारलाई दबाब दिनु परेको संघर्ष समिति संयोजक केपी बरालले बताउनु भएको छ ।
सोलु करिडोर १३२ केभी प्रशारण लाईन जडानको क्रममा स्थानीयको माग अनुसार उचित मुआब्जा नदिई आयोजनाको काम बलपूर्वक अगाडि बढाउन खोजिएको भन्दै त्यसलाई रोक्न माग गरिएको छ ।
स्थानीयले मागेको मुआब्जा, उचित क्षतिपूर्ति, विद्यालयमा राखिएका सुरक्षाकर्मी फिर्ता हुनुपर्नेलगायतका माग स्थानीयले राखेका छन् ।
कटारी नगरपालिका भित्र रहेका स्थानीय राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, जनता समाजबादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (बिप्लव समूह) गरी बिभिन्न ६ राजनीतिक दलले शनिबार आन्दोलनका बिभिन्न कार्यक्रम सार्वजनिक गरेका थिए । सोही अनुसार आन्दोलन जारी रहेको छ ।