काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको तल्लो तहका सबै अधिवेशनहरु स्थगित भएको छ ।
शनिबार बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले साउन १२ गते हुने तल्लो तह वडाका अधिवेशनहरु स्थगनको निर्णय गरेको हो ।
बैठकमा महाधिवेशन कार्यतालिका फरक नपर्ने गरी तल्लो तह कार्यतालिका परिर्वतन गर्ने निर्णय गरेर स्थागित गरेको नेता अर्जुन नरसिंह केसीले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार साउनको अन्तिम साताबाट स्थानीय अधिवेशन गर्ने गरी जान सकिने प्रारम्भिक खाकासहितको सहमति बनेको छ । यसअघि वडा अधिवेशन १२ साउन, स्थानीय तहको अधिवेशन साउन १६, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २०, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन र एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ साउनका लागि तय गरेको थियो ।
क्रियाशील सदस्यताको विवादले महाधिवेश कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका सार्वजनिक हुने भएको छ ।
यता प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भएपनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको बताउनु भएको छ । ‘तल्लो तहको अधिवेशन स्थगन हुनुको अर्थ केन्द्रीय महाधिवेशन पनि सर्छ भन्ने होइन,’ उहाँले भन्नु भएको छ, ‘अहिले केन्द्रीय महाधिवेशनको मिति यथावत नै छ ।’
शनिबार सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले अहिलेसम्म समितिले गरेका कामको बारेमा जानकारी गराएका थिए ।
समितिले १२ साउनमा सदस्यताको अन्तिम सूची सभापति देउवालाई बुझाउने भएको छ । सभापति देउवाले हस्ताक्षर गरेपछि क्रियाशील सदस्यताको सूची केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गर्नेछन् । त्यसपछि निर्वाचन समितिले देशभरका सबै वडामा निर्वाचन अधिकृत खटाउनेछ ।
कांग्रेस महाधिवेशनमा क्रियाशील सदस्य प्रारम्भिक मतदाता हुन् । क्रियाशील सदस्यले नै वडा समिति चयन गर्नुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित गर्छन् । क्षेत्रीय प्रतिनिधिले जिल्ला नेतृत्वका साथै केन्द्रीय महाधिवेशन प्रतिनिधि चयन गर्ने कांग्रेसको विधानको व्यवस्था छ । कांग्रेसमा १४ औं महाधिवेशनमा आठ लाख ५० हजार बढी क्रियाशील सदस्य रहेका छन् ।
बैठकमा सभापति देउवाले पार्टी कार्यालय सानेपामा जारी धर्ना र अनसनको सम्बोधन गर्न निर्देशन दिएका छन् । उनले शनिबार साँझसम्म धर्नामा बसेका नेता कार्यकर्ताको विषयगत माग सम्बोधन गर्न निर्देशन दिएका हुन् ।
देउवाले सहमहामन्त्री डा प्रकाशशरण महत र पूर्वसहमहामन्त्री डा। रामशरण महतलाई धर्नामा बसेकाहरुसँग वार्ता गर्ने जिम्मेवारी दिएका छन् ।