एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप निस्केपछि पनि आगामी वर्ष सन् २०२१ को मध्यसम्ममा मात्र उपलब्ध हुन सक्ने बताएको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिकले यो खोप आइसकेपछि पनि ठूलो मात्रामा बजारमा आउनका लागि कम्तीमा पनि आगामी वर्षको मध्यसम्म लाग्नसक्ने बताउनु भएको छ ।
विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक सोउम्य स्वामीनाथनले शुक्रबार पत्रकार सम्मेलनका क्रममा जानकारी दिनुभएको जानकारी दिइएको छ । उहाँले सो पत्रकार सम्मेलनका क्रममा भनेका छन्, ‘मलाई लाग्छ यो खोप बजारमाा आइसक्नका लागि अर्को वर्ष अर्थात् सन् २०२१ को मध्यपछि मात्र सम्भव हुनसक्छ ।’
त्यस समयमा खोप बजारमा आउने र त्यसपछि विश्वका विभिन्न देशहरुमा पनि पुग्न सकने देखिएको भन्दै उहाँले त्यसपछि विभिन्न देशहरुमा त्यहाँका नागरिकलाई खोप लगाउन सकिने बताउनु भएको छ । उहाँले उक्त खोपको पछिल्लो लट अर्थात् तेस्रो तहमा हुन लागेको ट्रायल यसै वर्षको अन्त्यसम्ममा मात्र पूरा हुने बताउनुभयो ।
त्यस ट्रायलको परीणाम यसै वर्षको अन्त्यसम्मा या आगामी वर्षको शुरुसम्ममा आइसक्ने र त्यसपछि खोपको उत्पादन प्रक्रिया शुरु हुने जानकारी पनि प्रमुख वैज्ञानिकले दिनुभयो ।
रुसले बनाएको खोपको अध्ययन प्रतिवेदन सार्वजनिक
रुसका वैज्ञानिकहरुले आफूहरुले बनाएको कोरोना भाइरसविरुद्धको खोपको पहिलो प्रतिवेदन सार्वजनिक गर्दै खोपको प्रतिरक्षा प्रणालीमा सकारात्मक प्रभाव पार्ने प्रारम्भीक परीक्षणले देखाएको उल्लेख गरेका छन् ।
मेडिकल जर्नल द लानसेटमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा खोप दिइएका व्यक्तिको शरीरमा कोरोना भाइरससँग लड्नका लागि प्रतिरक्षा प्रणाली विकास भएको र खोपको गम्भीर साइड इफेक्ट पनि नदेखिएको उल्लेख छ ।
रुसले स्थानीय स्तरमा खोपको प्रयोगका लागि अगस्टमा स्वीकृति दिएको थियो । अनुसन्धानको प्रतिवेदन सार्वजनिक हुनु पूर्व नै खोपको प्रयोगका लागि स्वीकृति दिने रुस विश्वको पहिलो देश हो ।
रुसले खोपको प्रयोगका लागि स्वीकृति दिए पनि विज्ञहरुले भने त्यसको प्रभावकारिता तथा सुरक्षित रहेको यकिन हुनका लागि वृहत तहको परीक्षण हुनु पर्नेमा सीमित परीक्षणबाटै प्रयोग थालिँदा जोखिम उत्पन्न हुने भन्दै चासो र चिन्ता व्यक्त गरेका छन् ।
रुसले हाल प्रारम्भीक परीक्षणको नतिजा सार्वजनिक गरेर आलोचकलाई जवाफ दिएको छ । गएको महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले खोपको विकासको क्रममा सबै प्रक्रिया पूरा गरेको र आफ्नी छोरीले समेत सो खोप लगाएको बताएका थिए ।
कुनै पनि नयाँ खोप बन्नका लागि वर्षौँ लाग्ने भए पनि कोरोना भाइरसविरुद्धको खोप बनाउनका लागि विश्वभरका वैज्ञानिकले तीव्र गतिमा काम गरिरहेका छन् । खोपको स्वीकृतिका लागि तीन चरणको परीक्षण हुनु पर्ने भए पनि रुसले त्यो पूरा गरेको छैन ।
डब्लुएचओका अनुसार विश्वभर अहिले कोरोना भाइरसविरुद्धका सम्भावित ३३ खोपहरु मानवीय परीक्षणको चरणमा छन् । यस्तै अरु १४३ वटा खोपहरु मानवीय परीक्षण पूर्वको तहमा रहेको डब्लुएचओलाई उदृत गर्दै विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।