पोखरा । गण्डकी प्रदेशमा नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल नेपालीको नेतृत्वमा बनेको नयाँ गठबन्धन सरकारमा आज ६ जना मन्त्रीले शपथ थिएका छन् ।
सरकार गठबन्धनका प्रमुख दुई घटक कांग्रेस र माओवादीको आज आज ६ जना मन्त्रीहरु नियुक्ति गरिएको छ । शपथ ग्रहण गरेकाहरूमा कांग्रेसका मेखलाल श्रेष्ठ, विन्दुकुमार थापा र मणिभद्र शर्मा कँडेल रहेका छन् ।
यस्तै माओवादीबाट संसदीय दलका उपनेता रामजी बराल, चन्द्रबहादुर बुढामगर र दीपक घर्तिमगरले शपथ खाएका छन् । कांग्रेसबाट श्रेष्ठले सामाजिक विकास मन्त्री, थापाले कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री र कँडेलले पर्यटन मन्त्रीको रूपमा शपथ लिएका छन् ।
यस्तै माओवादीबाट बरालले आर्थिक मामिला तथा योजना मन्त्रालय, बुढामगरले कृषि तथा सहकारी मन्त्रालय र चर्तीमगरले वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएका छन् ।
कांग्रेसका मुख्यमन्त्री पोखरेलसहित कुमार खड्का, माओवादीकी मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङे (राजीव गुरुङ) ले भने जेठ २९ मा नयाँ सरकार बनेकै दिन शपथ लिएका थिए ।
त्यो बेलामा मन्त्रालयको बाँडफाँड नमिलेकाले शपथ मात्रै लिएका उनीहरूलाई केही समयपछि मात्रै मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।
कांग्रेसका खड्काले सामाजिक विकास मन्त्रालय, माओवादीकी गुरुङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, जसपाका आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय र मनाङेले युवा तथा खेलकुद मन्त्रालय पाएका थिए । गुरुङ, आचार्य र मनाङेको मन्त्रालय यथावत रहेको भए पनि कांग्रेसका खड्काको जिम्मेवारी भने फेरिएको छ ।
उनलाई सामाजिक विकास मन्त्रालयबाट भौतिक पूर्वाधार मन्त्रालयमा सारिएको छ। उनले सम्हालेको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी कांग्रेसकै श्रेष्ठले पाएका हुन्। ६ जना नयाँ मन्त्रीले प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग शपथ लिएका छन्।
नयाँ मन्त्रीको नियुक्तिसँगै गण्डकी प्रदेश सरकार ११ सदस्यीय भएको छ । गत जेठ २९ मा पोखरेल नेतृत्वको सरकार बने पनि मन्त्रालय बाँडफाँडको टुङ्गो नलाग्दा मन्त्रिमण्डल बिस्तारमा ढिलाई भएको थियो ।