उदयपुर । रुख ढलेर बिजुलीको पोल ढल्दा करेन्ट लागेर चरिरहेका बाख्रा र गोरु मरेको छन् । विहीबार दिउँसो उदयपुरको उदयपुरगढी गाउँपालिका ६ धप्परमा मरेका हुन् ।
धप्परका स्थानीय धनबीर तामाङका अनुसार नेपालटार हुँदै धप्परबाट भुमरे जाने सडकमा चरिरहेका चार वटा बाख्रा र एउटा गोरु मरेकाे छ । ‘रुख ढलेर बिजुलीको पोल ढालेछ,’ उहाँले भन्नुभयो, ‘पोल ढलेपछि करेन्टसहितको तार बाख्रा र गोरुमाथि पर्दा मरेका हुन् ।’
उहाँका अनुसार करेन्ट लागेर मर्ने चारवटा बाख्रा स्थानीय रामबहादुर सार्कीका हुन भने एउटा गोरु दानबहादुर सार्कीको हो । ‘अहिलेको बजार भाउ अनुसार मरेका चारवटा बाख्राको मुल्य ६० हजार पर्छ, भने गोरुको मुल्य ३० हजार पर्छ,’ उहाँले भन्नु भयो, ‘झण्डै ९० हजार जति गरिब किसानको क्षति भएको छ, गरिब किसानलाई क्षतिपुर्ति जसरी भएपनि दिलाउनु पर्ने छ ।’
उहाँले उदयपुरको बिजुली काटिएको बताउँदै सिरहाको बरदमाबाट जडान गरिएको कारण क्षति भएकोसमेत बताउनु भएको छ । ‘उदयपुरबाट हाम्रो क्षेत्रमा जोडिएको विजुली काटिएको थियो,’ उहाँले भन्नुभयो, ‘बरदरमारबाट कस्ले जोड्यो थाहा भएन, करेन्ट आएको रहेछ, जसको कारण क्षति भयो ।’
उदयपुरगढीमा भर्खर विजुली विस्तार भएकाले धेरै क्षेत्रमा कमसल रुपमा पोल गाडिएको गुनासो गर्दै उहाँले भन्नुभयो, ‘कमसल पोललाई पुन मर्मत गर्ने र करेन्ट जोखिम बढेका क्षेत्रमा विजुलीको तारसमेत व्यवस्थित गर्ने बेला आएको छ ।