काठमाडौं– जनता समाजवादी पार्टीको विवाद टुंगो लगाउन निर्वाचन आयोगले सनाखतको लागि कार्यकारिणी सदस्यलाई बोलाएको छ ।
आयोगको बिहीबार बसेको आयोगको इजलासले आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार जसपामा दलको आधिकारिता विवाद टुंगो लगाउन कार्यकारिणी सदस्यलाई स्वयम् उपस्थित हुन अनुरोध गरिएको छ । उहाँले दल एकता हुँदा बुझाइएको कार्यकारिणी सदस्यहरूलाई परिचय खुल्ने कागजातसहित उपस्थित हुन इजलासबाट आदेश भएको बताउनु भएको छ ।
दुई समूहमा विभाजित जसपा दुबैले आधिकारिताको दाबी गर्दै आईरहेका छन् । जसपाका अध्यक्ष उपेन्द्र यादव समूह र अर्का अध्यक्ष महन्त ठाकुर समूह रहेको छ । यादव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३/४४ अनुसार पार्टीको आधिरकारिकता दाबी गरेपछि गरेपछि विवाद निरूपणका लागि इजलास प्रक्रियामा गएको थियो ।
पार्टीको आधिकारिकता दाबी सम्बन्धमा दुवै पक्षका कानुन व्यवसायीको बहस सुनिसकेपछि आयोगले पार्टी एकीकरणको समय बनेको कार्यकारिणी समितिका सबै सदस्यलाई नागरिकता प्रमाणपत्रसहित ११ गते आयोगमा उपस्थित सूचना जारी गरेको हो ।
तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि बनेको जसपा नेपालमा ५१ सदस्यीय कार्यकारिणी समिति बनाइएको थियो । तर महन्थ ठाकुरले गत पुस ७ गतेको बैठकले आफूलाई अधिकार दिएको भन्दै कार्यकारिणी समितिमा हेरफेर गरेका थिए ।
आयोगले ठाकुरद्वारा हेरफेर गरिएको कार्यकारिणी समितिलाई भने मान्यता दिएको छैन् । आयोगले पार्टी एकतापछि बनेको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाए प्रवक्ता श्रेष्ठले बताउनु भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई समर्थन गरेपछि महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव समूहबीच विवाद बढेको थियो । एक अर्कामाथि कारबाहीको श्रृंखला चलाउँदै निर्वाचन आयोगसम्म पुगेका समूहले अन्त्यमा मिल्ने नसकिने भन्दै आ–आफ्नो बाटो लाग्ने सहमति गरेका थिए ।