काठमाडौं । नेकपा एमाले नेतृत्वको निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारले गरेको राजदुत नियुक्ति वर्तमान सरकारले खारेज गरेको छ ।
ओली सरकारले विभिन्न देश लागि गरेको राजदूत नियक्ति आज (सोमबार) को मन्त्रीपरिषद्को बैठकले खारेज गरेको सरकारका प्रवक्ता एवंम कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार मन्त्रिपरिषद्को बैठकले संसदीय सुनुवाईबिनै राजदूत नियुक्त गरेकाले खारेज गरिएको हो । ओली नेतृत्वको सरकारले गत जेठ १ गते विभिन्न ११ देशमा राजदूत नियक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
जसमा अष्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, इजिप्ट, डेनमार्क, बहराइन, म्यानबार लगायत देशका लागि गरिएको राजदूत नियक्तिको सिफारिस खारेज भएको सरकारका प्रवक्ता एवं कानूनमन्त्री कार्कीले जानकारी दिनु भएको छ ।
यसैगरी मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फका दुई र प्राविधिक स्वास्थ्य सेवातर्फका एक गरी तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनु भएको छ ।
बढुवा सिफारिस समितिले सिफारिस गरेका सात सहसचिवमध्ये ज्येष्ठताका आधारमा सहसचिव किरणराज शर्मा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा सहसचिव डा।रामप्रसाद घिमिरे सचिवमा बढुवा हुनु भएको छ । प्राविधिकतर्फ स्वास्थ्य सचिवमा डा। रोशन पोखरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले साउन ६ गते मुस्लिम धर्मावम्लीको पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको छ । बैठकले अनुदान तथा खरिद प्रक्रियाबाट थप खोप सहायता उपलब्ध गराउन खोप उत्पादक मुलुकहरुलाई आग्रह गर्ने लगायतका विभिन्न निर्णयहरु गरेको छ ।
प्रधामन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल, कानुन तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की हुनुहुन्छ ।