धनुषा । देश कै एक मात्र बहुप्रतिक्षित जनकपुर–जयनगर रेल्वे ट्रयाकको आइतबार गति परीक्षण र सर्टिफिकेशन गर्ने कार्य सम्पन्न गरिएको छ ।
जयनगरबाट आएको भारतीय रेल्वेले जनकपुरधामको कुर्थास्थित मुख्य स्टेशनसम्म स्पिड परीक्षण र सर्टिफिकेशन गर्ने कार्य गरेको हो । भारतीय कोकर्ण कम्पनीका प्रतिनिधि तथा नेपालका महाप्रबन्धक गुरु भट्टराईद्वारा संयुक्त रुपमा निरीक्षण पश्चात जनकपुरधामको कुर्था रेल्वे स्टेशनमा पूजा गरिएको थियो ।
स्पिड परीक्षणसम्बन्धी जानकारी दिँदै महाप्रबन्धक भट्टराईले भारतीय डव्लु डि एम थ्रीडी नामको इञ्जिन तथा दुई मालवाहक डब्बासहित आएको ट्रेन आउने बेलामा ६० प्रतिकिलो मिटरको स्पिडमा आएको र फर्कने बेलामा १२० को स्पिडमा फर्किएको बताए ।
उनले स्पिड चेकका क्रममा भारतीय रेल्वेका ड्राइभरलाई नेपालको रेल्वे ट्रयाकसम्बन्धी ज्ञान नभएका कारण आउने समयमा ६० को स्पिडमा ल्याइएको र फर्किने बेलामा १२० को स्पिडमा फर्केको जनाए ।
महाप्रबन्धक भट्टराईले आइतबार गरिएको परीक्षण सफल भएको बताए । उनका रेल ट्रयाकमा कही कतै कुनै समस्या नदेखिएको जनाए । उनले लिकको समय समयमा मर्मत तथा पुलको पनि सबै काम भइसकेकाले समस्या नरहेको बताए ।
ट्रयाक परीक्षण सफल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खजुरीदेखि कुर्थासम्म रेल आइपुग्दा कुनै पनि स्थानमा क्षति नभएको जिप्रकााले जनाएको छ । परीक्षणका क्रममा ट्रयाक तथा स्टेशनमा पर्याप्त सुरक्षाकर्मी तथा कर्मचारी खटाइएको थियो ।
पूर्वाधार र जनशक्ति तयारी अवस्थामा
सरकारले पटक पटक नेपालमा रेल चल्ने भनेर मिति तोके पनि रेल्वे सञ्चालनमा आउन सकेको छैन । भारत सरकारको सहयोगमा रु पाँच अर्ब ४८ करोड लगानीमा पूर्वाधार निर्माण भइसकेको छ ।
सरकारले जिटुजी (गभर्मेन्ट टू गभर्मेन्ट) प्रक्रियामार्फत रु ८४ करोड ६५ लाख ९५ हजारमा भारतसँग खरिद गरेका दुई रेल गत वर्ष असोज २ गते जनकपुर रेल्वे स्टेशनमा आइपुगेका थिए । अगाडि र पछाडि गुड्न सक्ने सो रेल अहिले जनकपुरको इनर्वा स्टेशनमा सशस्त्र प्रहरीको निगरानीमा राखिएको छ ।