कटारी । एकल महिलाहरुको आयआर्जन वृद्धि गर्नको लागि कटारी नगरपालिकामा सिप मुलक तालिम सम्पन्न भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको कुल २ लाख २० हजार बजेटमा एकल महिलाहरुको आर्यआर्जन वृद्धि गर्नको लागि चार दिने तालिम सम्पन्न गरेकाे हाे ।
नगरपालिकाको महिला बिकास शाखाले बात्ति काट्ने तथा धुप बाट्ने तालिम समितिमार्फत सञ्चालन गरेको चार दिने तालिममा नगरपालिकाका १४ वटै वडाका एकल महिलाहरुको सहभागीता थियो । बात्ति काट्ने तथा धुप बाट्ने तालिम समितिकी संयोजक राज्यलक्ष्मी श्रेष्ठका अनुसार चार दिने तालिम आज (बुधबार) सम्पन्न भएको छ ।
‘एकल महिलाहरुलाई घरमै बसेर आयआर्जन गर्न सहज होस् भनि तालिम सञ्चालन गरेका हौँ,’ संयोजक श्रेष्ठले भनिन्, ‘तालिममा धागो वा रुवाको बात्ति काट्ने, नेपाली कागजमा धुप बाट्ने सिप सिकाइएको छ ।’
उक्त सिपलाई व्यवसायिक रुपमा प्रयोगमा ल्याउन सके घरमै बसेर मासिक १५ हजारसम्म कमाई गर्न सक्ने सहायक महिला निरीक्षकसमेत रहेकी श्रेष्ठको भनाइ छ । कटारी नगरपालिकाकी महिला बिकास निरीक्षक चतुरीमाया राईले उक्त तालिमले एकल महिलाई आयआर्जनको लागि सहयोग पुगेको बताइन् । ‘बात्ति काट्ने र धुप बाट्ने काम घरमै बसेर सहज तरिकाले गर्न सकिन्छ,’ उनले भनिन्, ‘एकल महिलाहरुको आर्यआर्जनको लागि टेवा पुग्ने छ ।’
तालिमको समापन गर्दै नगरपालिकाकी उपप्रमुख भिमकुमारी राउतले तालिममा सहभागीहरुलाई प्रमाणत्र वितरण गरेकी थिइन् । ‘तालिममा सहभागी दिदी बहिनीहरुले यस तालिमबाट सिकेको सिपलाई आयआर्जनमा बल्नुहुन्छ भन्ने विश्वास लिएका छौँ,’ उपप्रमुख राउतले भनिन्, ‘घरमै बसेर मासिक रुपमा १५ देखि २० हजारसम्म कमाउन सकिन्छ, यो सिपलाई जीवन निर्वाहको लागि प्रयोग गर्नुहोला ।’
नगरपालिकादरा मिनीट्रेलर वितरण
नगरपालिकाले कृषि क्षेत्रको आधुनिकी करण गर्नको लागि ४२ थान मिनीट्रेलर वितरण गरेको छ । बुधबार (आज) कृषी समूह, कृषी सहकारी तथा कृषी फर्मलाई मिनीट्रेलर वितरण गरेको हो ।
बुधबार एक कार्यक्रमकाबीच नगरपालिकाका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले कृषकहरुलाई मिनीट्रेलर वितरण गरेका थिए । नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को कृषी यान्त्रिकीकरण कार्यक्रम अन्र्तगत ७५ प्रतिशत अनुदानमा नगरपालिकाले कृषकहरुलाई मिनीट्रेलर वितरण गरेको हो ।
मिनीट्रेलर वितरण गर्दै मेयर श्रेष्ठले कृषकहरुलाई आत्मनिर्भर बनाउँदै अघि बढ्ने बताए । ‘विकासका कामसँगै कृषीलाई पहिलो प्राथमिकतामा राखेर नगर अघि बढेको छ ।’ श्रेष्ठले भने, ‘निकट भविष्यमै नगरको पहिचानका लागि कृषकहरुलाई कृषक परिचय पत्र वितरण गर्ने तयारी गरिरहेका छौं ।’
नगरपालिकाका कृषी विकास समितिका संयोजक तथा वडा नम्बर ३ का अध्यक्ष रामबहादुर पोखरेलले आगामी दिनमा पनि कृषीलाई आधुनिकीकरण गर्ने काममा नगरपालिका लागि पर्ने बताए ।
नगरपालिकाका कृषी शाखा प्रमुख सोनु मिश्रका अनुसार मिनीट्रेलरमा नगरपालिकाले ७५ प्रतिशत अनुदान व्यहोर्दा कृषकले २५ प्रतिशत लगानीमा मिनीट्रेलर पाएका हुन् ।
मिनीट्रेलर पाएपछी कृषकहरुले कृषी कार्यलाई थप सहज रुपमा अघि बढाउन सहयोग पुग्ने भन्दै खुसी भएका छन । नगरपालिकाले ९ एच पीको २७ थान र ७ एच पीको १५ थान मिनीट्रेलर वितरण गरेको नगरको कृषी शाखाले जनाएको छ ।