कटारी । निर्माणधिन रहेको सोलु करिडोर प्रशारण लाईको विवादित क्षेत्रमा सयौँको संख्यामा प्रहरी परिचालन गरिएको छ । स्थानीयले करिडोरको रुट परिवर्तनको माग गर्दै विरोध जारी राखेपछि सुरक्षाको लागि भन्दै सयौँको संख्यामा प्रहरी परिचालन गरिएको हो ।
बिगत तीन वर्षदेखि सोलु कोरिडोर प्रसारण लाइनको रुट परिवर्तनको लागि मरुवाबासीले माग गर्दै आएका छन् । रुट परिवर्तन गर्न प्रधानमन्त्री कार्यालय, उर्जा मन्त्री, विद्युत प्राधिकरण कार्यकारी निर्देशकलाई भेटर माग राख्दै आएका थिए । भेटका क्रममा रुट परिवर्तन गर्ने आश्वासन दिएपनि कार्यन्वयन नभएकाले हिजो मात्र कटारी नगरपालिका गइ रुट परिवर्तन गर्नको लागि ज्ञापन पत्र बुझाएका थिए ।
अन्तिम समयमा जनता माथि प्रसाशनले बल प्रयोग गरेर काम गराउने तयारी थालेकाे छ । प्रहरी लगायर बल प्रयाेग गर्ने सरकारी तयारी देखेपछि स्थानीयले आन्दोलनकाे गर्ने घोषणा गरेका छन् । अहिले मरुवा माध्यमिक विद्यालयमा करिब तीनसयको संख्यामा सशत्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरेर राखिएको छ ।
शान्ति क्षेत्र मानिएको बिद्यालयमैं प्रहरीहरु बसेपछी स्थानीय अबिभावक र विद्यार्थी त्रसित बनेका छन् । मरुवा माध्यमिक विद्यालयका प्रधानध्यापक नारायण अधिकारले विद्यालयमा पठन पाठन नभएको र विद्यार्थी भर्ना अभियान जारी रहेको जानकारी दिए । ‘सुरक्षाकर्मीले कार्यालय कोठा बाहेकका अन्य कक्षा कोठाहरु प्रयोग गरेका छन्,’ उनले भने, ‘पठन पाठन नभएकाले विद्यालय प्रयोग गर्दा कुनै पनि समस्या छैन् ।’
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहोराले सोलु करिडोर प्रशारण लाईनको काम सुरक्षाकर्मी परिचालन गरेर गराउने तयारी भएको बताए । ‘विवादित क्षेत्रको काम सुरक्षाकर्मी परिचालन गरेर गराउने जिल्लाको सुरक्षासमितिले निर्णय गरेको छ, ’ उनले भने, ‘त्यही अनुसार तयारी गरिएको छ, आजबाट काम सुरु हुने छ ।’
कटारीको मरुवामा किन विरोध
उदयपुरको कटारी नगरपालिका वडा नम्बर ४ का स्थानीयले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको टावर गाउँबाट अन्यत्र सार्नुपर्ने माग स्थानीयको छ ।
सोमबार नगरपालिकामा ज्ञापनपत्र बुझाउन आएका स्थानीयले प्रहरी लगाएर टावर गाड्ने प्रयास नगर्न चेतावनी दिँदै आवश्यक परे नगरपालिकामै धर्ना बस्ने चेतावनी दिएका थिए ।
नगरपालिका उपप्रमुख भीमकुमारी राउतलाई ज्ञापनपत्र बुझाउँदै स्थानीय अगुवा डाकबहादुर थापाले पटक पटक प्रधानमन्त्री, ऊर्जामन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउन गएको स्मरण गराउँदै उनीहरूले दिएको आश्वासन पूरा नभएकाले नगरपालिका झक्झाउन आउनुपरेको बताएका थिए ।
उपप्रमुख राउतले राष्ट्रिय गौरवको आयोजनालाई नगरले सहयोग गर्ने भए पनि जनताको चित्त बुझाएर काम गर्नुपर्ने बताएकी छिन् । तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आयोजना प्रभावितलाई बजारमा घडेरी आउने गरी मुआब्जा दिने बताए पनि कार्यान्वयन हुने देखेर स्थानीयले निरन्तर विरोध गरिरहेका छन् ।
गत १२ चैतमा जारी अवरोधको समस्या समाधान गर्न आइपुगेका तत्कालीन ऊर्जामन्त्री रायमाझी स्थानीयको विरोधपछि बिनानिष्कर्ष मरुवाबाट फर्किएका थिए । मन्त्री रायमाझीले सबैलाई सन्तुष्ट बनाउँदै सोही रुटबाट टावर गाडिने र थप विरोध भए सुरक्षाकर्मी लगाइने अन्यत्रको उदाहरण दिएपछि स्थानीय आक्रोशित भएका थिए ।
कटारी नगरपालिका वडा नम्बर ४ मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माण २ वर्षयता रोकिएको छ । उक्त क्षेत्रमा स्थानीयले क्षति पुर्याउने भन्दै अन्यत्रैबाट टावर निर्माण गर्न र वस्तीमा टावर निर्माण गर्न नदिने अडान कायमै राखेका छन् ।
लामो समयदेखि अवरुद्ध आयोजनाका विषयमा यसअघि पटक पटक छलफल हुँदै थियो । प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत माग छन् ।
कुल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन ९तार० टांग्ने कामसमेत सकिएको छ । उक्त प्रसारण लाइन निर्माण भएपछि सोलु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।
विद्युत् प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ । २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले १३२ केभी डबल सर्किट प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो । जिल्लामा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी प्रसारण लाइन निर्माण गरिएको भए पनि स्थानीयवासीको अवरोधका कारण समयमा नै सम्पन्न हुन नसकेको हो ।
सिरहाको मिर्चैयाबाट सोलुखुम्बुको तिङ्लासम्म ३०२ वटा टावर निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म २९२ वटामात्रै फाउण्डेशनको काम सकिएको आयोजनाले जनाएको छ । उदयपुरको मरुवामा १० वटा टावर निर्माण गर्नुपर्ने भए पनि स्थानीयवासीको अवरोधका कारण काम अगाडि बढेको छैन् । स्थानीयले मुअब्जाको माग गर्दै काम अगाडि बढाउन दिएका छैनन् ।
यस्तै ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ६० किलोमिटर तार टाँगिएको छ । बाँकी ३० किलोमिटर सोही अवरोध हुने क्षेत्रभित्रमा पर्छ । सोलुखुम्बुको पत्तालेमा दुई किलोमिटर र बाँकी मरुवामा नै तार टाँग्न बाँकी रहेको आयोजनाले जनाएको छ ।
प्रसारण लाइन क्षेत्रमा मुआब्जा दिनुपर्ने स्थानीयवासीको मागपछि तार तान्ने काम रोकिएको बताइएको छ । स्थानीयवासी र आयोजनाबीच कुरा नमिल्दा तीन महिनादेखि निर्माणको काम ठप्प बनेको छ । स्थानीयकाे विराेधलाई स्थानीय राजनीतक दलले पनि साथ दिएका छन् ।
करिडोरको काम सम्पन्न नहुँदा सरकारलाई घाटा
सोलुखोला जलविद्युत् आयोजना ८२ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेको छ । यता सोलुखोलामा नै निर्माणाधीन अवस्थामा रहेको बेनी हाइड्रोपावर १९.५ मेगावाटको कामसमेत अन्तिम चरणमा पुगेको आयोजनाका जनसम्पर्क अधिकृत फुदोर्जी शेर्पाले बताए ।
यी आयोजनाको काम यसअघि नै निर्माण सम्पन्न हुने भए पनि विद्युत् लाइनको काम सम्पन्न नुहँदा ढिलाइ भएको सम्बन्धित आयोजनाको दाबी छ । विद्युत् निर्माण सम्पन्न भए पनि प्रसारण लाइन नहुँदा कम जनशक्तिमा काम भइरहेको तल्लो सोलुखोला जलविद्युत् आयोजनाका कविराज पौडेलले बताए ।
यस्तै सोलुखोला दूधकोशी हाइड्रोपावर ८६ मेगावटको काम पनि धमाधम भइरहेको छ । सोलुखोलामा मात्रै आधा दर्जन हाइड्रोपावर निर्माणाधीन अवस्थामा छन् । यी आयोजना निजी क्षेत्रको लगानीमा निर्माण हुँदैछन् ।
यदि आयोजना सम्पन्न हुने र प्रसारण लाइन तयार नहुने हो भने नेपाल विद्युत् प्राधिकरणले ४५ प्रतिशत हर्जाना तिर्नुपर्ने विद्युत् खरिद बिक्री सम्झौतामा नै उल्लेख गरिएको छ । विभिन्न बहानामा करिडोरको काम सम्पन्न नहुने हो भने सरकारलाई ठूलै घाटा हुने निश्चित छ ।
र, याे पनि
उदयपुरमा अवरोध जारी, साेलु करिडोरकाे छैटौँ पटक म्याद थपिँदै