बागलुङ । संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल) ले बाढीपहिरो प्रभावित ढोरपाटन नगरपालिका पुगेर राहत सामाग्री वितरण गरेका छन् । गृहमन्त्री थापले ढोरपाटन नगरपालिका पुगेर शुक्रबार राहत सामाग्री वितरण गरेका हुन् ।
हिजो (बिहीबार) खराब मौसमका कारण ढोरपाटन नपुगिकन फर्किएका गृहमन्त्री थापाको टोली त्रिपाल, म्याट तथा खाद्य सामाग्री बोकेर ढोरपाटन उत्रिएका थिए । टोलीले बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण पनि गरेको छ ।
बाढीप्रभावित क्षेत्रको स्थलगत अवलोकन पछि गृहमन्त्री थापाले बाढीपहिरो पीडितलाई तत्कालका लागि अस्थायी बसोवासको प्रबन्ध गर्ने बताउँदै वर्खा सकिएपछी एकीकृ बस्ति बनाउने जानकारी दिएका छन् । गत बुधबार राति आएको बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ । गृहमन्त्रीसहित टाेलीमा क्षेत्रका प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल, रास्ट्रीय पूनर्निर्माण प्राधिकरणका सिआे सुशील ज्ञावाली लगायतको टोली ढोरपाटन पुगेको थियाे ।
बाढीमा परी फेला परेका १४ मध्ये सात जनाको पहिचान भएको छ । बाढीमा परेका अझै २४ जना बेपत्ता छन् । बुधबार राति ढोरपाटनको देउराली छेउको पहाड खसेर खोला थुनिएर फुटेपछि भुजीखोलामा भीषण बाढी आएको थियो ।
बाढीमा बेपत्ता १४ जनाको शव फेला परेको छ । सो घटनामा ७० घर पूर्ण क्षतिग्रस्त भएका छन् । ढोरपाटन–९ का २६ वर्षीया केशमाया विक, ४६ वर्षीय करबहादुर विक, २२ वर्षीय जीवन विक, ११ वर्षीया डल्ली विक, २१ वर्षीया डिलमाया पुन, ३५ वर्षीया रिनाकुमारी घर्ती र ३२ वर्षीया करमती बुढाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।
अन्य सात शवको अझै सनाखत हुन सकेको छैन । शव क्षतविक्षतावस्थामा रहेका कारण पहिचानमा ढिलाइ भइरहेको प्रहरीको भनाइ छ । बाढीले ७० भन्दा बढी घरमा क्षति पुर्याएको छ । बाढीमा परेका चार जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । तीमध्ये गम्भीरावस्थामा रहेका ढोरपाटन–९ का महेन्द्र पुनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ ।
बाढीले ढोरपाटन–९ स्थित लाँकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्रावि, सरस्वती प्रावि, भुजीखोला लघुजलविद्युत् आयोजनाका पाँच शाखामध्ये चार भवन, सडक छेउमा पार्किङ गरेर राखिएको एक जीप र मोटरसाइकल बगाएको छ ।