उदयपुर । निरन्तरको वर्षातपछि आएको बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका – ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदिको निर्माणधिन मोटेरेबल पक्की पुल बगाएको छ । त्रियुगा नदिमा आएको बाढीले निर्माण सम्पन्न भई सञ्चालनको तयारीमा रहेको मोटेरेबल पक्की पुल शनिवार बाढीले बगाएको हो ।
३ सय ७ मिटर लम्बाई रहेको १२ वटा पिलर र ११ वटा स्लाब रहेको पुलको दक्षिण पश्चिम क्षेत्र शिवाई पट्टि रहेको दोश्रो पिलर नदीमा भाँसिएपछि पुल दुई टुक्रा भएको छ । शिवाई पट्टिको पहिलो र दोश्रो पिलर भाँसिएपछि एउटा स्लाब नदीमा झरेर क्षत बिक्षत भएको छ ।
बाढीले स्ल्याप बगाउँदा एक जना घाईते भएका छन् । घाइते हुनेमा चौदण्डीगढी नगरपालिका– ५ शिवाईका ४८ वर्षिय अख्तर मियाँ रहेको निर्माण कम्पनीले जानकारी दिएको छ । ११ वर्ष लगाएर निर्माण गरिएको सञ्चालन हुने वेलामा भत्किएपछि स्थानिय तनावमा छन् ।
२०६७ देखि निर्माण सुरु भएको पुल सञ्चालनको तयारीमा थियो । पुलसँग सडकलाई जोड्ने दुई छेउमा बाँध समेत निर्माण सकिएकाले केहि दिनमा पुल हस्तान्तरण गर्ने योजना रहेको बेला बाढीले क्षतिग्रस्त बनाएको गाईघाट दिक्तेल सडक योजना कार्यालय गाईघाटका डिभिजन ईन्जिनियर गोपालप्रसाद खकुरेले जानकारी दिए ।
निर्माण कम्पनी महालक्ष्मी लोकप्रिय जेभी कन्स्ट्रक्सन कलंकी काठमाडौंका प्रतिनिधि केदारप्रसाद तिम्सिनाकाले ७.७५ मिटरको मात्र पिलर भएकाले धसिएको हुन सक्ने बताए । ‘पुल निर्माण गरिएको स्थानमा ९ मिटर सम्म बालुवा भएको तर ढिजाईन चाहि ७.७५ मिटर मात्र छ ।’ उनले भने । २ वटा पिलर धसिएको र एउटा स्लाप झरेर बगेकाले करिब ३ करोड भन्दा बढीको क्षति भएको बताए ।
पुल निर्माणको सुपरिवेक्षण, नियन्त्रण र अनुगमन गाईघाट दिक्तेल सडक आयाजनाले गर्दै आएको छ । ढिलै भए पनि पुल निर्माण सम्पन्न भएकोमा स्थानीयबासी खुसी थिए । पुल निर्माणको ठेक्का लिएको महालक्ष्मी÷लोकप्रिय जेभी कन्स्ट्रक्सनले सुरु सुरुमा आफूले काम नगरेर अन्यलाई जिम्मा दिएकाले पनि ढिलाइ भएको हो ।
पुलको लागत करिब ११ करोड २७ लाख रुपैया रहेको गाईघाट दित्तेल सडक आयोज प्रमुख गोपालप्रसाद खकुरेलले बताए । १२ स्पान ३ सय ७ मिटर लम्बाइको पुल साढे ५ मिटर इन्टर मिडियट (सवारी सञ्चालन हुने भाग) रहेको थियो ।
‘एक वर्ष अघि नै पुल निर्माण सम्पन हुनु पर्ने हो,’ प्रमुख खकुरेलले भने, ‘तर विभिन्न कारण देखाउँदै ठेकेदारले काम गर्न नसक्दा ढिलो भएको छ । ९ करोड ७६ लाख रुपैयाँको लागत इस्टिमेट गरिए पनि मूल्य समायोजनका कारण लागत बढ्न गई ११ करोड २७ लाख रुपैयाँ पुगेको आयोजनाले जनाएको छ ।
पुल निर्माणमा ढिलाई गरेका करण निर्माण कम्पनी महालक्ष्मी/लोकप्रिय कन्स्ट्रक्सन जेभीलाई करिब १ करोड जरिवाना समेत तिरेको छ । उक्त समाचार राजधानी दैनिकमा इश्वर तामाङले लेख्नु भएकाे छ ।