विराटनगर । कोरोना बिमा वापत दाबी गरिएको रकम एक हप्ताभित्र भुक्तानी गर्न माग गर्दै विराटनगरका कोरोना पीडित पत्रकारहरुले बिमा कम्पनीलाई ज्ञापन पत्र बुझाएका छन् ।
विराटनगरस्थित अजोड इन्सुरेन्स लि.का प्रबन्धक केदारबहादुर खत्रिसमक्ष बिमाबाट रकम नपाएका १९ जना पत्रकारहरुको टोलीले ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले संक्रमित भई बीमा दाबी गरेको एक महिनाभित्र भुक्तानी दिने भनि गरेको प्रतिवद्धता विपरीत ११ महिना बितिसक्दा पनि भुक्तानी नदिएको बताएका छन् ।
‘तपाईंहरूले नेपाल सरकारको घोषित कार्यक्रम कार्यान्वयन गर्नुभएको हो । हामीले तपाईंहरुले तोकेको प्रिमियम तिरेर बीमा गरेका हौं । तपाईहरुले हामीसँग लिखित सम्झौता गर्नुभएको छ,’ ज्ञापन पत्रमा उल्लेख छ, ‘तर, हामीले पाउनु पर्ने भुक्तानी अझै पाएका छैनौं । हामीले गरेको बीमा दाबीको प्रक्रिया कहाँ पुगेको छ र के हुँदैछ ? भन्ने अन्यौलपूर्ण अवस्था छ ।’
पत्रकारहरुले तीन दिनभित्र लिखित जानकारी दिन र एक हप्ताभित्र दाबी रकम भुक्तानी गर्न माग समेत गरेका छन् । आफहरुको माग सम्बोधन नभए सम्पूर्ण पीडित बिमितहरुलाई संगठित गरेर संघर्ष गर्ने उनीहरुको चेतावनी छ ।
‘तीन दिनभित्र लिखित जानकारी दिन र एक हप्ताभित्रमा दाबी रकम भुक्तानी गर्न अनुरोध गर्दछौं,’ ज्ञापनपत्रमा भनिएको छ, ‘अन्यथा हामी सम्पूर्ण पीडित बिमितलाई संगठित गरी यस कम्पनीको विरुद्धमा चरणबद्ध रुपमा कानूनी र अन्य खालका संघर्षमा उत्रने जानकारी गराउँदछौं ।’
पत्रकारहरुले उक्त ज्ञापनपत्र जिल्ला प्रशासन कार्यालय मोरङ, बिमा समिति काठमाडौं र नेपाल पत्रकार महासंघ केन्द्र, प्रदेश र जिल्लासमितिलाई बोधार्थ पनि दिएका छन् ।