उदयपुर । उदयपुरगढी गाउँपालिका वडा नम्वर ७ मा रहेको रहेको राष्ट्रिय वनलाई समुदायमा हस्तन्तरण गरिएको छ ।
समुदायबाटै वनको संरक्षण र प्रर्वद्धन तथा उपभोग गर्नको लागि त्रिवेणी वन डिभिजन कार्यालयले कटारी उदयपुरले उदयपुरगढी गाउँपालिका ७ का स्थानीयलाई सत्यवती सामुदायिक वन उपभोक्ता समूह नाममा हस्तान्तरण गरेको छ । त्रिवेणी वन डिभिजन कार्यालय कटारी प्रमुख फणिन्द्र पोखरेलका अनुसार सोही क्षेत्रमा रहेको १४२.६९ हेक्टर राष्ट्रिय वनलाई सत्यवती सामुदायिक वन उपभोक्ता समूह गठन गरी हस्तन्तरण गरेको छ ।
‘सोही क्षेत्रमा रहेको राष्ट्रिय वनमा चोरी, निकासी बढेकाले समुदायमा हस्तान्तरण गरेका हौँ ।’ उनले भने, ‘वन संरक्षणको लागि समुदायलाई जिम्मा लगाएपछि चोरी निकासी नियन्त्रण भएको पनि धेरै उदाहरणहरु छन् ।’
त्रिवेणी वन डिभिजन कार्यालय कटारीकै मातहतमा रहेको नेपालटार सव डिभिजन कार्यालयका प्रमुख देवचन्द्र गोइतले समुदायले राष्ट्रिय वनलाई उपभोग, संरक्षण गर्ने उदेश्यले विधान तथा कार्ययोजना पेश गरेकाले समुदायलाई हस्तान्तरण गरेको जानकारी दिए ।
नव गठित तथा सत्यवती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तुलबहादुर पुलामी मगरले आफुहरुले संरक्षणसहित उपभोग गर्नको राष्ट्रिय वन माग गरेको र सामुदायिक वन उपभोक्ता समूहको मर्म र भावना अनुरुप संरक्षण र उपयोग गर्ने बताए । ‘यो हाम्रो नयाँ वन उपभोक्ता समूह हो,’ उनले भने, ‘यस समूहमा झण्डै ८० घरधुरी रहेका छन् ।’
सत्यवती सामुदायिक वन उपभोक्ता समूह थपिएसँगै त्रिवेणी वन डिभिजन कार्यालयले कटारी क्षेत्रमा अब सामुदायिक वन उपभोक्ता समूहको संख्या एकसय ५० भन्दा बढी पुगेको छ ।