उदयपुर । उदयपुरका आठ स्थानीय तहमध्ये सात स्थानीयले तहले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका छन् । संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्र आागमी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट अनिवार्य पेश गर्नुपर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन अनुसार उदयपुरका सात पालिकाहरुले आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका हुन् ।
जिल्लाका त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिका तथा उदयपुरगढी, रौतामाई, लिमचुङबुङ र ताप्ली गाउँपालिकाले वार्षिक बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत भएकामध्ये कतिपय स्थनीयतहको नीति कार्यक्रम र बजेट बिहीबारै पारित भईसकेको छ भने केहीको स्थगत भएको छ ।
चार गाउँपालिका र तीन नगरपालिकाले ल्याएको बजेटको कुल अंक ४ अर्ब ५७ करोड १६ लाख ३२ हजार ४० रुपैंया रहेको छ । जसमध्ये सबभन्दा ठूलो बजेटको आकार त्रियुगा नगरपालिकाको छ । त्रियुगाले १ अर्ब १८ करोड हाराहारीको बजेट ल्याएको छ । चौदण्डीगढीले पौने ७५ करोडको बजेट ल्याउँदा नगरपालिकामध्ये सबभन्दा सानो बजेट बेलकाले ७० करोड हाराहारीको ल्याएको छ । गाउँपालिकातर्फ उदयपुरगढीले ६६ करोड बढीको बजेट ल्याउँदा रौतामाईले ५२ करोड, लिमचुङबुङले ४२ करोड र ताप्लीले ३३ करोडको बजेट ल्याएका छन् ।
त्रियुगाको बजेट १ अर्ब १८ करोड
जिल्लाकै जेठो नगरपालिका अर्थात सदरमुकामको त्रियुगाले सबभन्दा ठूलो बजेट प्रस्तुत गरेको छ । त्रियुगा नगरप्रमुख बलदेव चौधरीले १ अर्ब १७ करोड ९६ लाख ९४ हजार ४ सय ५० रुपैंयाको बजेट प्रस्तुत गरेका हुन् ।
त्रियुगाले आम्दानीतर्फ सशर्त अनुदान ५२ करोड ८० लाख, विशेष अनुदानतर्फ २ करोड ४९ लाख, सम्पूरक अनुदानतर्फ १ करोड ५६ लाख, बित्तीय समानीकरण २२ करोड २५ लाख अनुमान गरेको छ ।
त्यस्तै, राजश्व बाँडफाड १६ करोड १४ लाख ४६ हजार, आन्दरिक कोष ९ करोड ७० लाख आय हुने अनुमान गरेको छ । प्रदेशसभा समानीकरण १ करोड ३२ लाख ५९ हजार र प्रदेशसभा सवार साधन कर १ करोड ७२ लाख ७९ हजार ९ सय ५० रुपैंयालाई पनि त्रियृगाले वार्षिक आयस्रोतको रुपमा प्रक्षेपण गरेको छ ।
त्रियुगाले नगरपालिकाले वडाहरुका लागि २० करोड रकम बिनियोजन गरेको छ । त्यसका लागि १६ वडा वडा प्रत्येकलाई १ करोड २५ लाखका दरले बिनियोजन गरिएको छ । १६ नं। वडालाई १ करोड १५ लाख अतिरिक्त रकम पनि नगरसभाले बिनियोजन गरेको छ । बहुवर्षीय भवन निर्माणका लागि बिनियोजित उक्त रकममा वडाले १५ प्रतिशत सहभागिता जुटाउनुपर्ने नीति कार्यक्रममा उल्लेख छ ।
वडालाई बिनियोजित १ करोड २५ लाख रुपैंयामध्ये २५ लाख नगरपालिकाले निर्धारण गरेको पूर्वाधार शीर्षकमा बिनियोजन गर्नुपर्नेछ भने बाँकी १ करोडबाट ऐलानी जग्गा व्यवस्थापन, बिपत, शिक्षा, स्वास्थ्य, पर्यटन, सहकारी, महिला, आदिबासी जनजाति, एकल महिला, बृद्धबृद्धा तथा बालबालिका, पर्व महोत्सव, अपांगता, कृषि र पशुपालनलगायत विषयमा खर्च गर्नुपर्ने नीति लिइएको मेयर चौधरीले बताएका छन् ।
चौदण्डीगढीको बजेट पौने ७५ करोड
त्यसैगुरी अर्को नगरपालिका चौदण्डीगढीले ७४ करोड ७१ लाख ९५ हजारको वार्षिक आयव्यय अघि सारेको छ । उपमेयर रीताकुमारी चौधरीले प्रस्तुत गरेको वार्षिक बजेटमा ससर्त अनुदानतर्फ ३१ करोड ९३ लाख, विशेष अनदान १ करोड २५ लाख, संघीय सरकारको समानीकरण १५ करोड ६ लाख, राजस्व बाँडफाट ५ करोड ७२ लाख ८१ हजार प्रक्षेपण गरिएको छ ।
त्यस्तै प्रदेश सरकारको समानीकरण ८७ लाख ६९ हजार, प्रदेश सरकार सवारी साधन करवावत १ करोड ६७ लाख १४ हजार आय अनुमान गरिएको छ । थप आयतर्फ प्राकृतिक श्रोतसाधन नदीजन्य बस्तु उत्खनन १ करोड ६० लाख, घरजग्गा रजिष्ट्रेसन शुल्क १ करोड र अन्य आन्तरिक आय १ करोड ९० लाख अनुमान गरिएको नगरप्रमुख खगेन्द्र राईले बताएका छन् ।
प्रस्तुत अनुमानित बजेट १० करोड ९७ लाख अपुगको रहेको छ । वार्षिक नीति कार्यक्रममा कृषि, शिक्षा, पर्यटन, स्वास्थ्य, महिला तथा बालबालिका, युवा तथा खेलकुद र पूर्वाधारतर्फ जोड दिइएको छ । त्यस्तै बिपद व्यबस्थापन, आयआर्जन र रोजगारमुलक कार्यक्रममा पनि वार्षिक बजेटले स्थान दिएको मेयर राईले बताएका छन् ।
बेलकाको पौने ७० करोड
जिल्लाको कान्छो नगरपालिका बेलकाले पनि बिहीबारै बजेट तथा नीति कार्यक्रम प्रस्तुत गरेको छ । बेलकाले ६९ करोड ७६ लाख ४५ हजारको वार्षिक बजेट प्रस्तुत गरेको छ ।
रौतामाईले ५२ करोडको ल्यायो
त्यसैगरी रौतामाई गाउँपालिकाले ५२ करोड ३३ लाख ८ हजार ९ सय ६० रुपैंयाको वार्षिक बजेट ल्याएको छ । बिहीबारै आयोजित गाउँ अधिवेशनमा प्रस्तुत उक्त आकारको बजेट तथा नीति कार्यक्रम गाउँसभाले पारित गरेको अध्यक्ष गजेन्द्र खड्काले बताए ।
उदयपुरगढी गाउँपालिकाको बजेट ६६ करोड ७ लाख
उदयपुरगढी गाउँपालिकाको गाउँसभाले ६६ करोड ७ लाखको बजेट पारित गरेको छ । गाउँपालिकाको बिहीबार सम्पन्न गाउँसभाले आगामी आर्थिक बर्ष २०७८र७९ को लागि बार्षिक नीति तथा कार्यक्रम सहित बजेट पास गरेको हो ।
पालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरको अध्यक्षतामा सम्पन्न गाउँ सभाले संघवाट आउने अनुदान, प्रदेशबाट प्राप्त हुने अनुदान र आन्तरिक आय समेटेर बजेट निर्माण गरेको प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद सुवेदीले बताए ।
पालिकाको प्रमुख स्रोत भनेको संघीय सरकारबाट समानिकरणमा प्राप्त हुने १६ करोड ४ लाख रकम र संघकै राजस्व बाँडफाडबाट प्राप्त हुने ९ करोड ४८ लाख रकम हो । अन्य प्रदेशबाट विनियोजन भएको रकम ९५ लाख वित्तिय समानिकरण अनुदान र आन्तरिक आय वापतको ७० लाख नै पालिकाको बजेटको प्रमुख श्रोत रहेको पालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले जानकारी दिए ।
पालिकाले सामाजिक विकास तर्फ ४ करोड, पूर्वाधार विकास तर्फ ९ करोड, वन वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड १५ लाख, आर्थिक विकास तर्फ २ करोड र म्याचिङ्ग फण्डमा ३ करोड ५ लाख विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।
सामाजिक सुरक्षा कार्यक्रमतर्फ ८ करोड १० लाख र संघबाट प्राप्त हुने सशर्त अनुदान तर्फ २५ करोड ४३ लाख खर्च गर्ने लक्ष्य राखेको छ ।
ताप्लीको साढे ३३ करोड
अर्को पहाडी गाउँपालिका ताप्लीले आगामी ३३ करोड ५० लाख ५७ हजार ६० रुपैँयाको वार्षिक बजेट प्रस्तुत गरेको छ । गाउँपालिका उपाध्यक्ष कमलमाया राईले प्रस्तुत गरेको बजेटमा सशर्त, सम्पूरक र विशेष अनुदान गरी १८ करोड ३९ लाख रहेको छ ।
बाँकी रकम चालुतर्फ ४ करोड र राजश्व बाँडफाट, समानीकरण, प्रदेश समानीकरण, प्रदेश राजश्व, सम्पूरक र आन्तरिक आय गरी २९ करोड ५० लाख रहेको गाउँपालिका अध्यक्ष उद्धवसिंह थापाले बताए ।
कटारी कार्यपालिकाबाट पारित, घोषणा हुन मात्र बाँकी
कटारी नगरपालिकामा पनि आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम तयारी बनाइएको छ । नगरपालिकाका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठले कार्यपालिकाको बैठकले तयारी बनाएको जानकारी दिएका छन् ।
‘म आफैँ बिरामी परेकाले अलिक दिन पर सरेको छ,’ उनले भने, ‘आगामी असार १७ गते आगामी आर्थिक वर्षको बजेट तथा नीति कार्यक्रम घोषणा गर्ने तयारी छ ।’
नगरप्रमुख श्रेष्ठले ‘म पनि अस्वस्थ भएका कारण अस्पतालमा छु, कुनै पनि कारण होइन्, मेरो स्वास्थ्यमा समस्या आएको कारण आगामी आर्थिक वर्षको बजेट सार्वजानिक कार्यक्रम केही पर धकेलिएको मात्र हो, आगामी असार १७ गते सावजनिक हुनेछ ।