काठमाडौं–नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले पार्टी छाडेका १४ जना स्थानीय तहका जनप्रतिनिधिहरुलाई निष्कासन गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रको आज (सोमबार) बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले माओवादी केन्द्रबाट निर्वाचन जितेका स्थानीय तहका जनप्रतिनिधि र केही केन्द्रीय नेताहरुहरुलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।
भर्चुअल विधिको माध्यमबाट बसेको बैठकले स्थानीय तहका १४ सहित केन्द्रीय समितिका केही नेताहरुलाई माओवादी केन्द्रले पार्टी छोडेकाले कारबाही गरेर निष्कासन गर्ने निर्णय गरेको जानकारी दिइएको छ ।
माओवादी केन्द्रबाट चुनाव जितेर पछि नेकपा एमालेमा प्रवेश गरेका १४ जना स्थानीय तहका जनप्रतिनिधि छन् । १४ जनालाई पार्टीले कारबाही गर्न यसअघिको बैठकमा प्रस्ताव गरिएको थियो ।
माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराइसकेको छ । तर, आयोगले केन्द्रीय समितिको बैठकबाट कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको छैन् ।
यसअघि शुक्रबार नेताहरु लीलामणि पोखरेल, देव गुरुङ लगायतका नेताहरु निर्वाचन आयोग पुगेर पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारवाही गरेपनि आयोगले दल त्याग गरेको सूचना प्रकाशित नगरेको भन्दै आयोगका पदाधिकारीको ध्यानाकर्षण गराएका थिए ।
साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेर एमालेमा रहेका १४ जनप्रतिनिधिलाई माओवादी केन्द्रले पदमुक्त गर्न निर्वाचन आयोगमा माओवादी केन्द्रले ताकेता गर्दै आएको छ ।
सर्वोच्च अदालतको २३ फागुनको फैसलाले माओवादी केन्द्र ब्यूँतिएपछि केन्द्रले आफू निर्वाचित पार्टीमै फर्कन निर्देशन दिएको थियो । तर राष्ट्रियभाका दुई, प्रतिनिधिसभाका चार, प्रदेशका नौ सांसदसहितका जनप्रतिनिधिहरू एमालेतिरै बसे । एमालेमै बस्ने राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभाका सांसदहरू पदमुक्त भइसकेका छन् ।
एमाले रोज्दा पदमुक्त भएका राष्ट्रियसभा सदस्यहरू रामबहादुर थापा बादल र चन्द्रबहादुर खड्का हुन् । उनिहरु दुवै उपनिर्वाचनमा समेत पराजित भइसकेका छन् ।
माओवादी केन्द्रले जनप्रतिनिधिहरुबारे पनि ताकेता बढाएकाले एमालेतिर लाग्ने लगभग सवै नेता पदमुक्त हुने प्रष्ट छ ।
निस्कासित भएका स्थानीय तहका जनप्रतिनिधिहरु
रौतहतको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनाकुमारी साह, कटहरिया नगरपालिकाकी नगर प्रमुख सियाराम कुशवाहा, देवाही गोजाही नगरपालिकाकी उप्रमुख परनिया देवी रहेका छन् ।
यसैगरी मौलापुर नगरपालिकै उपप्रमुख गौरिशंकर जयसवाल, फतुवा विजयपुर नगरपालिकाकी उपप्रमुख कान्ती देवी, मनवनारायण नगरपालिकाकी उपप्रमुख सिमल साह, रौतटहकै युमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गितादेवी साह रहेका छन् ।
सिरहाको लहान नगरपालिकाकी नगर कार्यपालिका सदस्य सतमीलाल दास ताती, महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेष फारुक सम्सी, कैलालीको भजन नगरपालिकाकी उपप्रमुख छायाँ देवकोटा , कैलालकी कै गौरी गंगा नगरपालिका ४ का वडा अध्यक्ष भागिरथी विष्ट, कैलालीकै गोदावरी नगरपालिका १ वडाअध्यक्ष शर्मानन्द भट्ट, बर्दगोरिया नगरपालिका ४ का वडाअध्यक्ष पुरन विसी र ओखलढुँगाको चम्पादेवी गाउँपालिका वडाअध्यक्ष सुरेश कुमार थापालाई माओवादी केन्द्रले निष्कासन गरेको गरेको छ ।