कटारी । उदयपुरको कटारी नगरपालिकाले नगरभित्रका गर्भवती, सुत्केरी र कोरोना संक्रमित महिलाहरुको लागि पोषिलो खाना तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।
नगरपालिकाद्वारा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौलो हजार दिनका आमा तथा कोभिड संक्रमित महिलालाई पोषिलो खाना तथा स्वास्थ्य सामग्री वितरण गरेको हो ।
नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भीमकुमारी राउतले शुक्रबार संयुक्त रूपमा झोला वितरण गर्दै कार्यक्रम सुरु गरेका थिए । नगरका १४ वटै वडाका टोल–टोलमा पुगेर सामग्री वितरण गरिने पालिका प्रमुख श्रेष्ठले जानकारी दिए । ‘कटारी नगरपालिका क्षेत्रमा गर्भवती, सुत्केरी र कोरोना संक्रमित भएका महिलाहरुलाई लक्षित गरेर वितरण गरिएको छ, उनले भने, ‘नगरपालिका भित्रका १४ वटै वडामा धमाधम वितरण भइरहेकाे छ ।’
नगरपालिकाले एक थानमा उक्त समानहरु राखेर वितरण गरेकाे छ । उपप्रमुख राउतका अनुसार १ थान झोलासहित हुलास बासमती चामल ५ किलोको १ प्याकेट, आयोनुन १ प्याकेट, तोरी तेल आधा लिटरको १ बोतल, काजु १ सय ग्राम, घ्यू आधा केजीको १ डब्बा, ज्वानो २ सय ग्रामको १ प्याकेट रहेको छ ।
उपप्रमुख राउतले भनिन्, ‘पोषण झोलामा नेलकटर १ थान, तौलिया १ थान, काइँयो १ थान, राजमा १ किलो, चना १ किलो, अन्डा १ क्यारेट र हात धुने साबुन ५ थान झोलामा राखिएको छ ।’ नगर क्षेत्रमा सुत्केरी, गर्भवती र कोरोना संक्रमित महिलाहरुलाई पोषिलो खानेकुरा खान र सरसफाई सम्बन्धी चेतना जगाउने उदेश्यले सहयोग गरेको उपप्रमुख राउतको भनाइ छ ।
सामग्री पाएपछि गर्भवती तथा सुत्केरी महिला खुसी भएका छन् । गर्भवती तथा सुत्केरी महिलासहित आमा र बच्चा दुवैको स्वास्थ्यलाई ध्यानमा राखेर सामग्री वितरण सुरु गरिएको नगर उपप्रमुख राउतले दाबी छ ।
उनले शुक्रबारदेखि शनिबारसम्म आइपुग्दा कटारी नगरपालिकाको वडा नम्वर १, ३, १०, ११, १३, १४ वडा वितरण गरिसकिएको जानकारी दिएकी छिन् । ‘उनले भनिन्, ‘वडा नम्वर २ र ४ मा वितरण गर्ने कार्यक्रम जारी रहेको छ ।’
कटारी नगरपालिका क्षेत्रमा भित्र रहेका करिब ८ सयदेखि एकहजार महिलालाई वितरण गर्ने कार्यक्रम रहेको नगरपालिकाले जानकारी दिएको छ ।