कटारी । कटारी नगरपालिकाले ‘नमुना करार खेती कार्यक्रम’ मार्फत जग्गा उपलब्ध गराउन थालेपछि दलित तथा विपन्न परिवारलाई गुजार चलाउन सहज भएको छ ।
कटारी नगरपालिका ३ हडियामा ‘नमुना करार खेती कार्यक्रम’ मार्फत उपलब्ध गराएको २ विघा जग्गाले अहिले १८ घरका गरिब तथा विपन्न दलित परिवारले विभिन्न खेती गरेर आयआर्जन गरेर गुजरा चलाइरहेका छन् ।
राष्ट्रिय कृषक समूह महासंघ कटारी नगरपालिकाको समन्वयमा नगरपालिकाले उपलब्ध गराएको करारको जग्गामा अहिले विभिन्न प्रकारका तरकारी खेती गरेर दलित तथा विपन्न परिवारले आम्दामी गरिरहेका छन् । करारकै जग्गामा खेती गर्ने स्थानीय लक्ष्मण परियारले राष्ट्रिय कृषक समूह महासंघ कटारी नगरपालिकाको समन्वयमा नगरपालिकाले उपलब्ध गराएको दुई विघा जग्गाले परिवार पाल्न सहज भएको बताए ।
‘अहिले पहिलाको जस्तो ज्याल, मजदुरी गर्न हिड्नु परेको छैन, फेरि यो कोरोना महामारीमा कहाँ जानु छ र ? अहिले यही करारमा पाएको जग्गामा खेती गरेर परिवारमा पालिरहेका छौँ, हाम्रो नाममा जग्गा काँही पनि जग्गा छैन् ।’ उनले यस जग्गामा लालि गुराँस दलित कृषक समूह गठन गरेर समूहिक खेती गरेको पनि बताए । ‘हामीले यहाँ समूह गठन गरेर खेती गरिरहेका छौँ,’ उनले भने, ‘यस समूहमा जम्मा १८ घर परिवार रहेका छौँ, हामी अहिले यही खेतीपातीमा व्यस्त हुने गरेका छौँ ।’
नगरपालिकाले पाँच वर्षको लागि खेती गर्न बाँझो जग्गा उपलब्ध गराएको हो । अहिले जुन जग्गाले स्थानीय दलित तथा अति विपन्न परिवारको मुहारमा खुसी ल्याएको छ । ‘हामी दलित तथा अति विपन्न परिवारलाई नगरपालिकाले यसैगरी कतै बाँझो जग्गा भाडा वा कमाएर खान मात्र दिने हो भने, खुसीको दिन आउने रहेछ,’ अर्की स्थानीय, आशा सदाले भनिन्, ‘अहिले छोराछोरीको पढाई खर्च, नुन, तेल, समान्य उपचार खर्च पनि यही उत्पादन गरेकोको तरकारी बेचेर पुग्ने गरेको छ ।’
कटारी नगरपालिकाले तरकारी खेतीको लागि आवश्यक पर्ने विभिन्न प्रकारका सामानहरु सहयो पनि गर्दै आइरहेको छ । केही अघि मात्र कटारी नगरपालिकाका उपमेयर भीमकुमारी राउतले पानी ताल्लने पम्पसेट दुईथान, कुटी कोदालो लगायतका विभिन्न कृषि औजारहरु सहयोग गरेकी छिन् ।
बाँझो नै रहेका सरकारी जग्गाको सदुपयोग गर्न जनतालाई करारमा दिएर सकिने रहेछ । उनले भनिन्, ‘नगरपालिकाले ‘नमुना करार खेती कार्यक्रम’ १८ घर परिवारलाई दिएको जग्गाले खुसी ल्याएको छ ।’ यसलाई एउटा उदाहरण मानेर अन्य पनि गर्न सकिने रहेछ ।
उपमेयर राउतले कटारी नगरपालिका ३ हडियामा करारमा दिएको जग्गामा अहिले विपन्न र दलित परिवार तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेको भन्दै भनिन्, ‘यसैगरी कटारीभरी रहेका बाँझो सरकारी जग्गा जनतालाई केही निश्चत समय करारमा दिएर उपयोग गर्न सकिने रहेछ ।’