उदयपुर । उदयपुरमा प्रहरीले कोरोना भाइरस (कोभिड १९) सम्बन्धी जनचेतना मुलक कार्यक्रम सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले कोरोना रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको निषेधाज्ञालाई कडाई गर्दैे गाउँ बस्तिमा कोरोनासम्बन्धी जनचेतना मुलक कार्यक्रम सुरु गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको आठवटै स्थानीय तहका प्रत्येक वडा र बस्ति, टोल/टोलमा पुगेर प्रहरीले जनचेतना जगाउने काम गरिरहेको छ । जसमा कोरोनबाट कसरी बच्ने ? यदी कोरोना संक्रमण भए कसरी आफु र अरुलाई सुरक्षित बनाउने ? कोरोना संक्रमण हुँदा सामान्य प्रकृति भएर होम हाइशोलेसनमा बस्दा कसरी बस्ने, गम्भिर प्रकृतिको भएमा अस्पताल र चिकित्सकसम्म कसरी पुग्ने ? लगायतका शान्ति सुरक्षासँग जोडिका विषयमा सचेतना जगाउनेका काम जारी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भीमबहादुर दाहलले बताए ।
‘नागरिकलाई समस्य पर्दा सबैभन्दा नजिकको प्रहरी नै हुन्छ, नागरिकले सामान्य समस्या आउँदा पनि प्रहरीको साथ खोजिरहेका हुन्छन्,’ एसपी दाहालले भने, ‘त्यही भएकाले हामीले जिल्ला व्यापी रुपमा कोरोनाको सचेतना जगाउने काम गरिरहेका छौँ ।’
उनका अनुसार जिल्लामा रहेको प्रहरी शक्तिलाई अहिले कोरोना नियन्त्रणको लागि सचेतना जगाउने र निषेधाज्ञा कडाई बनाउने काममा परिचालन गरिएको छ । थप्दै उनले भने, ‘प्रहरीले कोरोना संक्रमण हुनबाट सुरक्षित भएर, कोरोना सम्बन्धी सचेतनामुलक पर्चा, पम्पेलेट बाँडिरहेको छ ।’
प्रहरीले बाँडेको पर्चामा अतिआवश्यक पर्ने नम्वरहरु समेत राखिएको छ । एपसी दाहालले प्रहरी कार्यालयको नम्वर, जिल्ला प्रशासन कार्यालयको नम्वर, एम्बुलेन्सको नम्वर, अस्पतालको नम्वर, स्थानीय पालिका प्रमुखका नम्वरसमेत पर्चामा समावेश गरेको बताए । उनले भने, ‘जो कोहीलाई प्रहरी, प्रशासन तथा एम्बुलेन्स, अस्पताललाई जरुरी सम्पर्क गर्नु परेको खण्डमा नागरिकले सहजै पाउन भनेर पर्चामार्फत वितरण गरिएको छ ।’
कटारी नगरपालिका, त्रियुगा, बेलका नगरपालिका लगायतका क्षेत्रमा अहिले व्यपक रुपमा प्रहरी परिचालन गरेर कोरोना रोकथाम तथा नियन्त्रणको लागि सचेतना छर्ने काम जारी छ । ‘जिल्लामा जारी गरिएको निषेधाज्ञालाई कडाइ गर्न पनि सहज हुने, एसपी दाहालले भने, ‘गाउँ बस्तिमा प्रहरी पनि पुग्ने, त्यही भएकाले कोरोनासम्बन्धी जनचेतना मुलक कार्यक्रम सुरु गरेका हौँ ।’
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) उदयपुरले आगामी जेठ २८ गतेसम्म निशेधाज्ञा जारी गरेको छ । जिल्लामा लगातार निशेधाज्ञा लागू भए पनि संक्रमण र मृत्यु हुने क्रम नरोकिएपछि जेठको अन्तिम सातासम्म बढाइएको थियो । उदयपुरमा सुरुमा वैशाख २५ गतेदेखि ३१ सम्म लागू गरिएको निशेधाज्ञा पछि बढाउँदै लगेर जेठ २८ सम्म पुर्याइएको थियो ।