काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दाको सुनुवाइ (आज) मंगलबार नहुने भएको छ । सोमबार (हिजो) अचानक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बिरामी परेपछि मुद्दाको पेसी चढाइएको छैन् ।
विघटनविरुद्धको मुद्दाको बुधबार (भोली) पेसी तोकी सुनुवाइ हुने सर्वोच्च प्रशासनको भनाइ छ । यस अघि यो मुद्दाको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा थियो । संवैधानिक इजलासमा न्यायाधिश र कानुन व्यवसायीबीच विवाद भएपछि रोकिएको थियो ।
त्यही विवाद फुकुवा गर्दै गत आइतबार वरिष्ठताका आधारमा इजलास गठन भए पनि सरकार पक्षका कानुन व्यवसायीले इजलासप्रति आशंका व्यक्त गर्दै विवाद उठाउँदा आएका छन् ।
प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई रहेको संवैधानिक इजलास गठन भएको छ । महान्यायाधिवक्तालगायत सरकार पक्षका कानुन व्यवसायीले न्यायाधीशहरू कार्की र भट्टराईमाथि प्रश्न उठाउँदा फेरि विवाद निस्केको छ ।
दुवैजना यसअघिको इजलासमा नबस्ने निर्णय गर्दै बाहिरिएका थिए । वरिष्ठताका आधारमा इजलास गठन गर्दा दुवैजना परेपछि सरकार पक्षले उनीहरूलाई राख्न नहुने भन्दै प्रश्न उठाएको हो । यसअघि गठन गरिएको संवैधानिक इजलासमा वरिष्ठताको आधारमा नभई आफूखुसी न्यायाधीश राखिएको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका सांसद पक्षधर कानुन व्यवसायीले किचलो गरेका थिए ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गर्दै जेठ ८ गते राति चुनावको मिति तोकेको भोलिपल्ट सर्वोच्च अदालतमा ३० वटा रिट निवेदन दर्ता भएका थिए । प्रधानन्यायाधीश जबराको इजलासले सबै रिट निवेदन संवैधानिक इजलासमा राखेर हेर्न आदेश गरेपछि जेठ १४ देखि सुनुवाइ सुरु भएको थियो ।