धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका वडा नं. ७ का ५५ घरपरिवारलाई प्रवासमा रहेका सो ठाउँका स्थानीयहरुको एक संस्था साप्तिङटार प्रवास ग्रुपले खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
साप्तिङटार प्रवास ग्रुपका संयोजक मिलन छिलिङ राईको नेतृत्वमा टेकबहादुर भण्डारी अर्जुन विसी, निरबहादुर मगरले स्थानीयलाई १५ सय केजी चामल, सय केजी दाल, ६० केजी तेल र ६० केजी नुन विपन्न ५५ घरपरिवारलाई सहयोग गरेको हो ।
यस्तै सर्जिकल माक्स २ हजार ५ सय पिस, कोरियन माक्स १ हजार ५ सय पिस, सेनिटाइजर सय लिटर, थर्मलगन ८ थान सहित पिपिइ, फेससिल्ड ग्लोब्स सहयोग गरिएको सहयोगमा समन्वय गरेका पूर्णबहादुर राईले बताए ।
उनले सो सामान बाहेक स्थानीय सिंहदेवी मावि र जनकल्याण बोर्डिङलाई १/१ थान थर्मल गन वितरण गरिएको र विद्यालय सञ्चालनमा आएपछि माक्स तथा सेनिटाइजर वितरण गरिने जानकारी दिए । प्रवासबाट रकम संकलन गरेर खरिद गरिएका स्वास्थ्य सामाग्री र खाद्यान्न स्थानीय साजन राईको संयोजकत्वमा र पूर्णबहादुर राई, रामकुमार राईको समन्वयमा हस्तान्तरण गरिएको हो ।
कोरोना संक्रमणको अवस्था दैनिक बढीरहेकाले जापानमा रहेर केही सहयोग गरौ भनेर हालसम्म संकलित २ लाख २५ हजार बराबरको स्वास्थ्य सामाग्री र खाद्यान्न खरिद गरिएको अभियान सञ्चालन गरिरहेको साप्तिङटार प्रवास ग्रुपका संयोजक मिलन छिलिङ राईले जानकारी दिए । उनले अहिले पनि प्रवासबाट रकम संकलनको काम भइरहेकाले यसपछि संकलित रकमबाट पुन सहयोग गरिने जानकारी दिए।