कटारी । उदयपुरको कटारी नगरपालिकामा रहेको कटारी अस्पतालमा एक वर्षदेखि बन्द भएको प्रसूति शल्यक्रिया सेवा शुरु भएको छ ।
एक वर्ष आगाडी शुरु भएपनि पनि दक्ष चिकित्सकको अभावमा बन्द रहको प्रसूति शल्यक्रिया सेवा एमडिजिपी डाक्टर राज गजमेर अस्पताल प्रमुख भएर आएसँगै शुरु भएको हो ।
कटारी अस्पतालका प्रमुख गजमेरले भने, ‘दक्ष चिकित्सकको अभावमा बन्द थियो, म एमडिजिपी चिकित्सकनै भएकाले सेवा शुरु गरेको छु ।’ सेवा शुरुभएसँगै शनिबार एक गर्भवती महिलाको सफल शल्यक्रियामार्फत प्रसूति गराइएको उनले बताएका छन् । ‘ती महिलाको शल्यक्रियाबाट प्रसूति गराइएको छ,’ उनले भने ।
कटारीमा प्रसूति शल्यक्रिया सेवा शुरू भएसँगै शल्यक्रियामार्फत प्रसूति गराउनु पर्ने गर्भवतीले अबका दिनमा लहान, जनकपुर, मिर्चैया जानु पर्ने बाध्यताको अन्त्य भएको छ ।
‘१५ श्ययाको अस्पताल स्तरोन्नति भए पनि आकस्मिक प्रसूति शल्यक्रिया सेवा नहुँदा समस्या थियो,’ कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ भन्छन्, ‘कटारीमै सेवा नहुँदा यस क्षेत्रका सर्वसाधारण आकस्मिक प्रसूति शल्यक्रियाका लागि महँगो मूल्य तिरेर धरान, विराटनगर, काठमाडौंसम्म पुग्न बाध्य थिए। अब त्यो बाध्यता हटेको छ ।’
उदयपुरका साथै छिमेकी जिल्ला सिन्धुली, खोटाङ, ओखलढुंगा, सोलुखुम्बुका महिलासमेत यहाँ आउने गरेका छन् । बालरोग, हाडजोर्नी, स्त्रीरोग तथा प्रसूति सुरक्षित गर्भपतन सेवालगायत नियमित स्वास्थ्य सेवा अस्पतालले दिइरहेको छ ।