उदयपुर । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) उदयपुरले थप एकसातालाई निशेधाज्ञा थप्ने निर्णय गरेको छ ।
लगातार निशेधाज्ञा लागू भए पनि संक्रमण र मृत्यु हुने क्रम नरोकिएपछि चौथो सातासम्म बढाइएको डिसिसिएमसी अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी तुलसीराम सेंढाईले जानकारी दिए ।
उनका अनुसार सुरुमा वैशाख २५ गतेदेखि ३१ सम्म लागू गरिएको निशेधाज्ञा बढाइएको यो चौथो पटक थपिएको हो । निशेधाज्ञा थपिए पनि बैंक तथा बित्तीय संस्थाहरु पनि आंशिक रुपमा खुल्ने भएका छन् । अब निषेधाज्ञा आगामी २८ गतेसम्मकाे लागि पुर्याइएकाे छ ।
संक्रमण बढाउने माध्याम मानव चलखेल अत्याधिक भएको पाइएपछि पछिल्लो १५ दिनयता बैंकहरु पूर्णरुपमा बन्द थिए । बिहीबारको डिसिसिएमसी बैठकले बैंक तथा बित्तीय संस्थाहरु आईतबार, मंगलबार र बिहीबार गरी सातामा ३ दिन आंशिक समय खोल्ने निर्णय गरेको हो ।
बैंकहरु लगातार २ सातासम्म बन्द गर्नाले दैनन्दिन जनजीवनमा असर परेपछि आंशिक खोल्ने निर्णय भएको जानकारी दिइएको छ ।
उदयपुरमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३९ पुग्यो
उदयपुरमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ जना महिला र २६ जना पुरुष गरी ३९ पुगेको छ । जिल्ला स्वास्य कार्यलय उदयपुरका अनुसार हालसम्म जिल्लामा एकसय १४ महिला र एकसय ५९ पुरुष गरी जम्मा दुईसय ७३ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
कार्यलयका तथ्यङक अधिकृत उमेश लुईटेलका अनुसार उदयपुरमा संक्रिय संक्रमितको संख्या पाँचसय ८ महिला र छसय ९ पुरुष गरी जम्मा एकहजार एकसय १९ जना रहेको छ । यसैगरी शुक्रबार मात्र उदयपुरमा ३२ जना महिला ३२ जना पुरुष गरी ६४ जन थप नयाँ सक्रिय संक्रमित भेटिएका छन् ।