काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चाल परिवर्तन गरेका छन् । अदालतबाट संसद पुनर्स्थापना हुने संकेत पाएपछि प्रधानमन्त्री ओलीले आफ्नो चाल परिबर्तन गरेका हुन् ।
आफ्नो नयाँ चाल सफल बनाउन अहिले ओलीले राष्ट्रपति विद्या भण्डारीलाई सक्रिय बनाएका छन् । राष्ट्रपति विद्या भण्डारीले अहिले एमाले नेताहरुसँग नियमित सम्पर्क गरी सहमतिको बिन्दु तयार गर्न आग्रह गर्दै आएकी छन् । भण्डारीको एमाले एकता कायमै राख्ने पहलमा नेता योगेश भट्टराईको पनि साथ रहेको छ ।
उनले नियमितजसो भण्डारीलाई भेटेर सहमतिको बिन्दु तयार गर्न सक्रियता बढाउदै आइरहेका छन् । प्रधानमन्त्री ओली शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने हस्ताक्षर र अदालतमा दायर रिट फिर्ताको शर्त राख्दै आफू ब्याक हुन सहमत भएको विश्वस्त स्रोतले जनायो । त्यसपछि नेता माधव नेपालको माग अनुसार २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटी र संगठनलाई फर्काएर लाने विषयमा मौखिक सहमति बनेको बुझिएको छ ।
नेता नेपालले पनि पुरानो अवस्थामा पार्टी कमिटीलाई फर्काएमा सहमत हुनसक्ने बताएका छन् । स्रोतका अनुसार ओलीले दोस्रोपटक विघटन गरेको प्रतिनिधिसभा अदालतबाट व्युँतिने फैसला आउने भएको छ । ‘प्रतिनिधिसभा विघटनको मुद्दामा फेरि ओलीले हार्ने सूचना पाएका छन्,’
स्राेत भन्छ, ‘त्यही भएकाले ओली अब माधव नेपालसमूहको शर्त मान्दै, एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन तयार भएका छन् ।’
ओली र नेपाल समूह पार्टी सञ्चालन, विधान, विधि, प्रक्रिया विषयमा अडान लिँदै आआफ्नै रणनीतिअनुसार अघि बढ्न खोजेपछि विभाजन नजिक पुगेको थियो । एकता जोगाउने विषयमा दोस्रो तहका नेताबीच गम्भीर छलफल सुरु गरेका छन् । शीर्षनेतालाई दबाब दिँदै उनीहरू पार्टी एकता जोगाउन अघि बढ्नुपर्ने निष्कर्षमा पुगेका छन् ।
स्रोतका अनुसार सर्वोच्च अदालतको फैसलापश्चात् ब्युँतिएको एमाले २ जेठ २०७५ कै बिन्दुबाट सहमतिकासाथ अगाडि बढ्ने निष्कर्षमा उनीहरू पुगेका छन् । जुन अहिले पार्टी एकताको लागि भन्दै ओली समूहबाटै नारा लगाउन थालिएको छ । ओली समूहबाट नेता सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र नेपाल समूहबाट घनश्याम भुषाल, सरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराईसहितका नेताले एकता जोगाउने विषयमा छलफल गरिरहेका छन् ।
सहभागी एक नेताका अनुसार सोमबार रातिसम्म पार्टी विवाद समाधान र एकता विषयमा छलफल भएको थियो । ‘कम्युनिस्ट आन्दोलनको जगेर्ना र एकताका लागि हामी गम्भीर छलफलमा छौं,’ सहभागी ती नेताले भने, ‘हामी आफैँ लडेर कोही कसैलाई फाइदा हुँदैन, एमाले ब्युँतिएपछि २ जेठकै अवस्थाबाट कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल चलिरहेको छ ।’
ओली र नेपालको अडानबीच पार्टीमा विवाद बढ्दै गएपछि एकले अर्कोको निर्णय अस्वीकार गर्दै अगाडि बढिरहेका थिए । विवाद समाधानका लागि यसअघि ओली र नेपालले १० सदस्यीय कार्यदल गठन गरेको थियो । तर, सो कार्यदल निष्क्रिय अवस्थामा छ । नेताहरू कार्यदलमार्फत पार्टी एकता विषयमा छलफल अघि बढाउनुपर्ने निष्कर्षमा पुगेका छन् ।
विवाद मिलाउन सक्रिय पक्षधर नेताहरूसँग ओलीले आफू पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काउन तयार रहेको तर त्यसका लागि नेपाल समूह पार्टीमै रहने विषयमा विश्वासिलो आधार बन्नुपर्ने बताएका छन् । यसो भएमा वक्तव्य निकालेर पार्टी पुरानै अवस्थामा फर्किएको घोषणा गरी त्यति बेलाको स्थायी कमिटीको बैठक राख्न आफू तयार रहेको उनले जनाएका छन् । नेपाल समूहका तर्फबाट मध्यस्थता गरिरहेका दोस्रो पुस्ताका नेताले पनि यसबारे जानकारी दिएर नेता नेपाललाई मनाउन प्रयास गर्ने बताएको स्रोतको दाबी छ ।
विवादकाबीच भएगरेका कार्यलाई कमजोरीका रूपमा स्विकार्ने, अब आइन्दा यस्ता कमजोरी नगर्ने, पार्टी विधि र विधानअनुसार सञ्चालन गर्ने’ बेहोरा राखी ओली र नेपालले संयुक्त वक्तव्य जारी गर्नेसम्मको तयारी रहेको स्रोतको दाबी छ। नेता नेपालले पार्टी एकता बचाउने जिम्मेवारी लिएका सबै नेतालाई एक साताभित्र निक्र्योलमा पुग्न आइतबार निर्देशन दिएका थिए । ‘ओलीसँग सहज लाग्छ भने मलाई भन्नु केही छैन होइन भने विवाद मिलाउने कुरा गरेर अलमल नगर्नुस् भनेको छु’, आफू निकट रहेका विद्यार्थीको बैठकमा नेता नेपालले भनेका थिए।
एकता बचाउने कोसिसमा रहेका नेता गोकर्ण बिष्टलाई सहमति गर्ने वा नगर्नेबारे प्रधानमन्त्री ओलीसँग अन्तिम छिनोफानो गर्न निर्देशन दिएको सन्दर्भ उनले जोडेका थिए । त्यसपछि ओलीले सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक मंगलबारलाई सारेका थिए । सोही अनुसार मंगलबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले पनि जेठ १० गते स्पष्टीकरण सोधिएका नेतालाई थप कारबाही गर्ने विषयमा कुनै छलफल गरेन । बैठकको धेरै समय बजेट भाषणबारेको चर्चामा बित्यो ।
बैठकमा विवाद निरूपणका लागि गठित कार्यदल र पछिल्लो समयमा भइरहको संवादबारे सामान्य छलफल भएको थियो । विवाद समाधानका लागि बनेको कार्यदलमा नेपाल पक्षबाट संयोजक रहेका भीम रावल पार्टीको साधारण सदस्यबाटै निष्कासित भएपछि कार्यदल अलपत्र परेको थियो । यसबीचमा दुवै पक्षबीच भएका संवादमा भीम रावल र शंकर पोखरेल सहभागी छैनन् ।
प्रवक्ता ज्ञवालीले पार्टी विभाजन रोक्न आफूहरूले प्रयास जारी राखेको बताउँदै आएका छन् । आज बुधबार पनि एमालेको स्थायी कमिटीको बैठक बुधबार दिउँसो ४ बजे बस्दै छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने बैठकले कोरोना नियन्त्रण र पार्टीका आन्तरिक विषयमा छलफल हुने बताइएको छ ।
ओली समूहको स्थायी कमिटी बैठकले नेपाल, खनालसहित ११ नेतालाई पार्टी हितविपरीत कार्य गरेको भन्दै साधारण सदस्यबाट निष्कासन गरेको थियो । साथै सोही बैठकले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भनी हस्ताक्षर गरी सर्वोच्च अदालत जानेमध्येका थप १२ एमाले सांसदलाई २४ घन्टे स्पष्टीकरण सोध्ने निर्णय थियो ।
कारबाही गर्ने, फुकुवा गर्ने, अनि स्प्रष्टिकरण साेध्ने ओलीकाे चक्रब्युहमा नलाग्न नेता नेपाललाई भुगाेलमा रहेका कार्यकरताले सुझावसमेत दिएका छन् । तर पार्टी एकताकाे लागि ओली र नेपालले कस्ताे सहमति गर्दछन्, त्यसकाे पर्खाइमा कार्यकर्ता रहेका छन् ।