उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट मर्ने क्रम रोकिएको छैन् । पछिल्लो पटक मृत्यु हुनेमा चौदण्डीगढी नगरपालिका र त्रियुगा नगरपालिकाका दुई दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र तीन पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ ।
चौदण्डीगढी नगरपालिका ६ का ६३ महिलाको उपचारको क्रममा विराट मेडिकल कलेजमा शुक्रबार मृत्यु भएका छन भने सोही वडाका ७६ वर्षिय पुरुषको नोवेल मेडिकल कलेज विराटनगरमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ ।
यस्तै त्रियुगा नगरपालिका १३ का ९० वर्षिय पुरुषको उपचारको क्रममा नोवेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको छ । अर्का त्रियुगा नगरपालिका ११ का ४५ वर्षिय युवकको विराट मेडिकल कलेजमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ ।
पछिल्लो जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्क अनुसार जिल्लामा मृतकको संख्या ११ महिला र २४ पुरुष गरी ३५ जना पुगेको छ । सवैभन्दा बढी त्रियुगा नगरपालिकामा मृत्यु भएको छ । त्रियुगा नगरपालिकामा ७ महिला र १५ पुरुष गरी २२ जना, चौदण्डीगढी नगरपालिकामा २ महिला र ४ पुरुष गरी ६ जना, कटारी नगरपालिकामा एक महिला र दुई पुरुष गरी ३ जना, उदयपुरगढी गाउँपालिकामा एक महिला र एक पुरुष गरी २ जना र बेलका नगरपालिकमा एक महिला र एक पुरुष गरी ४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ ।
पछिल्लो समय २६ महिला र ३४ पुरुष गरी ६० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्रियुगा नगरपालिकमा १५ महिला र २० पुरुष गरी ३५ जना, चौदण्डीगढी नगरपालिकामा ६ महिला र ७ पुरुष गरी १३ जना, बेलका नगरपालिकामा ५ महिला र २ पुरुष गरी ७ जना र ताप्ली गाउँपालिकामा ४ पुरुषमा कोरोना पुष्टी भएको छ ।
अहिलेसम्म जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार दुई सय ४३ जना पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या ९७१ जना रहेको छ । सोमबार २ जना मात्रै कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या २ सय ३७ पुगेको छ ।