उदयपुर । उदयपुरको कटारी नगरपालिकामा जनप्रतिनिधिको घर तोडफोड गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालयका कटारीका प्रमुख हेमन्त भण्डारी क्षेत्रीका अनुसार अपराधिक उपद्रव अंतर्गत मुद्दामा ६ जनलाई पक्राउ गरी चलाइएको छ, भने ३२ जनाको नाममा मुद्दा दर्ता गरिएको छ ।
केही दिन अघि कटारी नगरपालिका ४ मा रहेको सुकुम्बासी टोलमा डोजर चलाएर दुई घर भत्काएपछि सुकुम्बासी आन्दोलिन बनेका थिए । आन्दोलित बनेका आन्दोलनकारीहरुले नगरपालिका नगरप्रमुख ज्ञानेन्द्र श्रेष्ठ, उपप्रमुख भिमकुमारी राउत, सव इन्जिनियर ओम मिश्र लगायतको घर, इलाका प्रहरी कार्यालय, नगरपालिकाको कार्यलय लगायतमा ढुंगामुढा गरी एक करोडभन्दा बढी क्षती पुर्याएको प्रहरीको भनाइ छ ।
घर, सवारी साधन, कार्यलयको सरसमानहरुमा क्षति पुगेको थियो । अहिले सोही आन्दोलनमा सहभागीहरुलाई पक्राउ गर्दै मुद्दा चलाउन थालिएको भण्डारी क्षेत्रीले जानकारी दिएका छन् ।
राजनीतिक दलद्वारा विराेध
नगरपालिकाले डोजर चलाएर घर भत्काएपछि जिल्लामा रहेका विभिन्न राजनीतिक दलहरुले समेत नगरपालिकाको कदमको विरोध गरेका थिए । अहिले सोही आन्दोलनमा आन्दोलित बनेका सुकुम्बासीहरुलाई पक्राउ गर्दै मुद्दा चलाउन थालेपछि कटारी नगरपालिका भित्र रहेका सत्तारुढ दल नेकपा एमाले ओलीसमूह बाहेकका सबै राजनीतिक दलले विरोध जनाएका थिए ।
नेपाली कांग्रेस कटारी नगरपालिका, नेकपा (माओवादी केन्द्र) कटारी नगरपालिका, जनता समाजवादी पार्टी कटारी नगरपालिका, नेकपा एमाले माधव नेपाल समूह कटारी नगरपालिका, राष्ट्रिय प्रजातन्त्र पार्टी कटारी नगरपालिकाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन् ।
‘विज्ञप्तिमा भनिएको छ, ‘झुटा मुद्दा लगाइ पक्राउ परेकालाई निः शर्त रिहा गरियोस्, झुटा मुद्दा लगाई गरिने धर पकड बन्द गरियोस्, मिडिया, फेसबुक, सामाजिक सञ्जाल, पत्रपत्रिकामा जथाभावी, एकपक्षीय र एकतर्फी समाचार प्रकाशन, प्रशारण गरेर जनतामा भ्रम फैलाउनेका काम तत्काल बन्द गरियोस्, सत्य, तथ्य, के हो ? बाहिर ल्याइ सार्वजनिक गरियोस् ।’
यता नगरपालिकाले भने सार्वजनिक जग्गाको संरक्षण गर्ने नीति अघि सार्दै भूमाफियालाई जग्गा अतिक्रमण गर्न र हडप्नबाट रोक लगाउने नीति बनाएकाले डोजर चलाउन बाध्य भएको बताउँदै आएको थियाे ।
नगरपालिका कार्यपालिकाकाे बैठकले नगरपालिकाे स्वमित्वमा रहेको कि. नं. ७८ र १०८ को करिब २ विगाहा ७ कठ्ठा जमिनमा कुनै पनि आवास गृह बनाउन नदिने नीति लिएकोले भूमाफियाहरु एकजुट भई विरोधमा उत्रिएको आरोप लगाएको छ ।
नगरप्रमुख श्रेष्ठ भन्छन्, ‘घर तोडफोड गर्नेहरुलाई कानुनले सजाय दिने छ’
कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले जनप्रतिनिधि लगायतको घर तोडफोड गर्नेलाई कानुनले सजाय दिने बताएका छन् ।
उनले भनेका छन्, ‘सुकुम्बासीकाे नाममा रिसीवि साँधेर आन्दाेलनमा आएका छन्, घर ताेडफाेड गरेका छन्, त्यहीकाले हामीले कानुनी उपचार खाेजेका हाैँ, लहलहैमा कुरा नबुझीपनी धेरैको संख्यामा आन्दोलनकारी आएका थिए । हामीले पनि प्रशासनलाई भनेका छौँ, कोही निर्दोष कानुनी सजायको भागिदार नबनुन्, दोषी छ भने कानुनी दायरामा जसरी पनि आउन् ।’
उनले सार्वजनिक जग्गा संरक्षणको लागि सबैसँग अपील गर्दै कटारी नगरपालिका भित्र रहेका सम्पूर्ण सुकुम्बासीलाई कटारी नगरपालिकाले उठाउँछ भन्ने भ्रम फिजाई सुकुम्बासीको नाममा आन्दोलन गरेको पनि गुनासो गरेका छन् । ‘हामीले सुकुम्बासीलाई जग्गा दिदैँनौ, बसेको ठाउँबाट लखेट्छौँ भनेका छैनौँ,’ उनले भने, ‘सुकुम्बासीको नाममा गैर सुकुम्बासीले आन्दोलन गरे, तोडफोड धेरै भयो, ठूलो परिमाण क्षति भएको छ ।’
‘भूमिहीन सुकुम्बासीलाई नगरपालिकाले व्यवास्थापन गर्छ, अहिले यो कोरोना संक्रमण को कारणले लगत लिन केही समस्या भएको छ, उनले भनेका छन्, ‘सहज हुने बित्तिकै भूमिहीन सुकुम्बासिलाई लालपुर्जा वितरण गर्छौ ।’ नगरप्रमुख श्रेष्ठले कटारीका वास्ताविक सुकुम्बासीलाई गैर सुकुम्बासी तथा भूमाफियाहरुको लह/लहैमा नलाग्न अनुरोधसमेत गरेका छन् । सुकुम्बासी, भूमिहिन, गरिव दुखी जनताकै पक्षमा स्थानीय सरकार छ, उनले भने, आन्दोलनको जरुरी छैन् ।