लुम्बिनी–सोमबार लुम्बिनी प्रदेशमा रिक्त रहेको राष्ट्रियसभा सदस्यको लागि उपनिर्वाचन हुँदैछ । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनको लागि दुईजना उम्मेद्वार चुनावी मैदानमा उत्रेका छन् ।
विपक्षी गठबन्धनको तर्फबाट नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र० जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालगायतबाट दिर्घनारायण पाण्डे र सत्तारुढ दल नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्का उम्मेद्वार चुनावी मैदानमा छन् । पाण्डेलाई रुख र खड्कालाई सूर्य चिन्ह प्रदान गरिएको छ ।
बिहान ९ बजेदेखि सुरुहुने मतदान दिउँसो ३ बजेसम्मको लागि तोकिएको मुख्य निर्वाचन अधिकृत रीतेन्द्र थापाले बताउनु भएको छ । निर्वाचनमा कुल मतदाता ३ सय रहेका छन् । जसमा प्रदेश सांसदको संख्या ८३ रहेको छ भने स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता रहेको निर्वाचन आयोगले जानकारी दिएको छ ।
कोरोना संक्रमण भएका मतदाताका लागि छुट्टै मतदानस्थल बनाइएको छ, भने निर्वाचनमा मतदान गर्ने मतदाताहरुले अनिवार्य पिसिआर परीक्षण रिपोर्ट ल्याउनुपर्ने आयोगको भनाइ छ । जसपाका चार प्रदेश सांसद सन्तोष कुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेले मतदान गर्न पाउने भएपछि प्रदेश सांसदको संख्या ८३ पुगेको हो ।
सर्वोच्च अदालतले जेठ ३ गते अल्पकालीन आदेश जारी गरेबमोजिम संविधानको धारा १२८ को उपधारा ४ को व्यवस्था अनुसार पूरक मतदाता नामावलीका रुपमा प्रदेश निर्वाचन कार्यालयले उनीहरूलाई मतदाताका रूपमा समावेश गरिएको थियो ।
यता विपक्षी गठबन्धनले मतदानको अघिल्लो दिन मतदाता नामावली सच्याइएको भन्दै आपत्ति जनाएका छन् । निर्वाचन आयोगले जसपका पान्डेय, यादव,पाण्डे र रायमाझी शर्मालाई राष्ट्रियसभा उपनिर्वाचनका लागि मतदाता कायम गरेपछि आपति जनाएका हुन् ।
यसअघि माओवादी केन्द्रबाट राष्ट्रियसभामा विजयी अर्घाखाँचीका चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि पार्टीले कारबाही गर्दा सो पद रिक्त थियो । सोही कारण रिक्त पदमा हुन लागेको उपनिर्वाचनमा एमालेले खड्कालाई नै उम्मेद्वार बनाएकाे छ ।
यस्तो छ, अंक गणित
जसपाका चार जनाले मतदान नगर्ने हो भने राष्ट्रियसभा निर्वाचनका लागि प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ छ ।
प्रदेशका ७९ प्रदेशसभा सदस्यको ३ हजार ७९२ र स्थानीय तहका २ सय १७ जनप्रतिनिधिको ३ हजार ९०६ गरी जम्मा ७ हजार ६९८ मतभार छ । राष्ट्रियसभामा दुईजनामात्र उम्मेदवार भएकाले कम्तीमा ३ हजार ८५० मत ल्याउने उम्मेदवार निर्वाचित हुने निर्वाचन कार्यालयका सूचना अधिकारी कुँवरले बताए । प्रदेशसभामा एमालेका ३८ सांसद छन् भने विपक्षी गठबन्धनका ४१ सांसद छन् ।
यस्तै, स्थानीय तहका २१७ मतदातामध्ये एमालेका ९४, स्वतन्त्र ४, राप्रपाका २ छन् । यस्तै, नेपाली काँग्रेसका ६४, माओवादीका ३६, जसपाका ११, नयाँ शक्ति १, जनमोर्चाका ५ छन् ।
प्रदेशसभामा विपक्षी गठबन्धन मजबुत देखिएको छ भने बागमती प्रदेशकै समीकरणलाई आधार मान्ने स्थानीय तहतर्फ पनि विपक्षी गठबन्धनले नै बाजी मार्ने देखिन्छ । नेपाली काँग्रेस लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक फखरुद्दीन खानकाअनुसार प्रदेशसभामा गठबन्धनका ४१ सांसद रहेको र स्थानीय तहका पनि ११८ मत रहेकाले गठबन्धनकै उम्मेदवारको जित सुनिश्चित छ ।
काँग्रेसका उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा (उप्रेन्द्र–बाबुराम) र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको उनले बताए ।
गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रदेश कार्यालय सचिव सुदर्शन बरालले गठबन्धनमा स्पष्ट बहुमत रहेको दावी गर्दै पाण्डेले सजिलै विश्वास व्यक्त गरे । उनका अनुसार प्रदेशमा काँग्रेसको मतभार ९१२, माओवादी केन्द्रको ९१२, जसपा उपेन्द्र यादव समूहको ९६ र राष्ट्रिय जनमोर्चाका ४८ गरी विपक्षी गठबन्धनको कुल मतभार १ हजार ९६८ हुन्छ ।
त्यस्तै स्थानीय तहमा पनि गठबन्धनको १ हजार ९९८ गरी जम्मा ३ हजार ९८४ मतभार देखिन्छ । यो मतभार जितका लागि सहज रहेको बरालले बताए ।