काठमाडौं । प्रतिनिधिसभा विघटनविरूद्ध परेको रिटको अर्को सुनुवाइ आइतबार हुने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जनाको संवैधानिक इजलासले आइतबारका लागि सुनुवाइ सारेको हो । शुक्रबार बसेको संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको छ ।
विघटनविरूद्ध परेका सबै रिटउपरको सुनुवाइ संवैधानिक इजलासमा लगिएको थियो । कानुनविद् गोबिन्द बन्दीले इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर बन्दीले प्रश्न उठाए पनि आजको सुनुवाई रोकिएको थियो ।
बन्दीले प्रश्न उठाएपछि आइतबारसम्मका लागि बहस स्थगित भएको छ । रिट निवेदक पक्षका वकिल र महान्यायाधिवक्ता रमेश बडाल बीच विवाद भएपछि प्रतिनिधिसभा विघटन र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटमाथिको सुनुवाइ स्थगित भएको छ।
अधिवक्ता गोविन्द बन्दी लगायतका कानुन व्यवसायीले नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा राखिएको भनेर आपत्ति जनाएपछि इजलासमा विवाद भएको थियो। सर्वोच्चका संचारविज्ञ किशोर पौडेलले रिट निवेदनमाथिको सुनुवाइ आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको जानकारी दिए।
बन्दीले बमकुमार श्रेष्ठले इजलास छाड्दा अदालतको मान बढ्ने भन्दै कुरा उठाएपछि प्रधानन्यायाधीशले न्यायाधीशले गरेका फैसलाका आधारमा यस्ता कुरा उठ्ने हो भने कोही पनि बाँकी नरहने बताएका थिए । शम्भु श्रेष्ठ, रमण श्रेष्ठ, टिकाराम भट्टराईलगायतका वरिष्ठ अधिवक्ताहरु बन्दीको भनाइको पक्षमा उभिएका थिए । महान्यायाधिवक्ता रमेश बडालले आपत्ति जनाएर उठेपछि केहीबेर विवाद भएको थियो ।
महान्यायाधिवक्ता बडालले इजलासलाई दबाबमा राख्ने रणनीति अनुसार अर्को पक्ष आएको र न्यायाधीश छनौट गर्ने अधिकार समेत लिन खोजेको भन्दै आपत्ति जनाउँदै प्रतिवाद गरेका थिए । प्रधानन्यायाधीश जबराले न्यायाधीशहरु दीपक कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य रहेको संवैधानिक इजलास गठन गरेका थिए ।