उदयपुर । उदयपुरमा कोरोना संक्रमणबाट मर्ने क्रम रोकिएको छैन् । विहिबार विहान जिल्ला अस्पताल उदयपुरमा एक ४० वर्षिय युवकको मृत्यु भएको छ । त्रियुगा नगरपालिका २ मोथियाहीको युवकको कोरोनाको कारण मृत्यु भएको हो ।
ज्वरो आएपछि १५ दिन अघि जिल्ला अस्पताल उदयपुरमा चेकजाँच गराउँदा कोरोना पुष्टी भएको थियो । कोरोना पुष्टी भएपछि उनी उपचारको लागि सुविधा सम्पन्न अस्पताल विपी कोइराला विज्ञान स्वास्थ्य प्रतिष्ठान धरान लगिएको थियो । विपी कोभिड अस्पताल धरानका डाक्टरले सामान्य रहेको भन्दै होम आइशोलेसनमै रहेर उपचार गर्न भन्दै रेफर गरिदिएको थियो ।
रेफर भएर आएको केहि दिनपछि स्वासप्रश्वासमा समस्या भएपछि ५ दिन अघि जिल्ला अस्पताल गाईघाटमा भर्ना गरिएको थियो । जिल्ला अस्पतालमा उपचार भईरहेकै समयमा विहिबार विहान ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । योसँगै उदयपुरमा मृत्यु हुनेको ३० पुगेको छ ।
कोरोनाबाट १० महिला र २० पुरुष गरी ३० जनाको मृत्यु भएको छ । सवैभन्दा बढी त्रियुगा नगरपालिकामा मृत्यु भएको छ । त्रियुगा नगरपालिकामा ७ महिला र १३ पुरुष गरी २० जना, चौदण्डीगढी नगरपालिकामा एक महिला र ३ पुरुष गरी ४ जना, कटारी नगरपालिकामा एक महिला र दुई पुरुष गरी ३ जना, उदयपुरगढी गाउँपालिकामा एक महिला र एक पुरुष गरी २ जना र बेलका नगरपालिकमा एक पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कले देखाउँछ ।
पछिल्लो समय २९ महिला र ३२ पुरुष गरी ६१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । त्रियुगा नगरपालिकमा २६ जना, चौदण्डीगढी नगरपालिकामा २० जना, रौतामाई गाउँपालिकामा ९ जना र बेलका नगरपालिकामा ६ जनामा कोरोना पुष्टी भएको छ ।
अहिलेसम्म जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार २३ जना पुगेको छ । जसमा सक्रिय संक्रमितको संख्या ८१६ जना रहेको छ । विहिबार २३ जना मात्रै कोरोनामुक्त भएका छन् । अहिलेसम्म कोरोनामुक्त हुनेको संख्या १७७ पुगेको छ