काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ ।
बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको यस विषयमा अनुसन्धान गरिरहेका कीर्तिकुमार दूमी राईले जानकारी दिए । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको छ । यस पर्वका अवसरमा चण्डी नाच समेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।
किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । यस वर्ष एक महिना अघिदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण निश्चित मानिस मात्र बसेर पूजाको विधिमात्र पूरा गर्ने तयारी गरिएको छ । राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी किराँत राई यायोक्खाले गरेको छ ।
खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ ।
किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण शुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन शुरु हुने दिन पारेर साउन १ गते मनाउँछन् । यस समुदायका धेरै मानिसले उँभौली वैशाख शुक्ल पूर्णिमा र उँधौली पर्व मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन मनाउँछन् ।
किरातीहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुशी पार्नकालागि हरेक वर्ष वाली लगाउने समय बुद्धजयन्ती अर्थात बैशाख पुर्णिामा उभौली र अन्न वाली पाकिसकेपछि खुसीयाली मनाउदै उधौली (मंसिरे पूर्णिमा) विशेषरूपले खुसीयाली साथ आफ्नो प्रमुख चाडका रूपमा मनाउन गरेका छन् ।
फलामे रेटि रेटौला, नमरी बाँचे भेटौंला सोई सोइला होई सोई सोइला । यो नाच परापूर्व कालमै प्रारम्भ भएको हो । किराँत खम्बु राईहरूले पितृपूजा र प्रकृति पूजा गर्छन् । किराँत खम्बु राईहरूले आफ्ना यो विशेष पर्व साकेला साकेन्वा ऋतु परिवर्तनसँगै वर्षमा दुई पटक मनाउँछन् । उभौली र उधौलीका रूपमा बालीनाली लगाउने र थन्क्याउने अवसरमा यो चाड मनाइन्छ ।
अन्नबाली लगाउने समयमा मनाइने चाड उभौली बालीनालीमा रोगव्याधि नलागोस्, बाढीपहिरोजस्ता प्राकृतिक प्रकोपबाट बाँचियोस् तथा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनाका साथ मनाइन्छ । दिन लामो हुन थालेको दिन अर्थात् पूणिर्मा देखि यो चाड सुरू हुन्छ ।
खुला आकाशमुनि संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला साकेन्वा नाचिन्छ । बालकेदखि वृद्धसम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला साकेन्वा नृत्यले यो आदिवासी जातिको सामूहिक भावना प्रदर्शन गरेको पाइन्छ। हात खुट्टाको चाल हाउभाउद्वारा पङ्क्तिबद्ध रूपमा जीव जनावरको नक्कल गरी ढोल झ्याम्टाको तालमा नाचिने सामूहिक नृत्य नै साकेला साकेन्वा हो ।
किराँत खम्बु राई हरूले साकेला साकेन्वा नाच्दा प्रस्तुत गर्ने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएको जस्ता कृषि कार्य प्रदर्शन गरिन्छ । प्रदेश १ का उदयपुर, खोटाङ, ओखलढुँगा, धनकुटा लगायतका जिल्लामा विशेष रुपमा मनाइने गरिन्छ ।