काठमाडौं । बि.सं. २००६ वैशाख १० गते स्थापित नेपाल कम्युनिस्ट पार्टीले स्थापनापछि १५ सेप्टेम्बर १९४९ मा जारी गरिएको नेकपाको पहिलो घोषणापत्र जारी गरेको थियो । उक्त घोषणापत्र अझै पनि सान्दर्भिक छ । त्यही भएकाले यहाँ प्रकाशित गरेका छौं ।
घोषणापत्रको पूर्णपाठ
पहाड पर्वत खोला नाला जग्गा जमीन सबको, मालिक हामी दास बनौँ किन हिस्सा सबमा सबको !!
विगत ४० वर्षमा दुई विश्वयुद्धहरू भए। पहिलो विश्वयुद्धको फलस्वरूप संसारको ६ खण्डको एक खण्ड जमिन पुँजीवादी घेराबाट अलग भयो र त्यहाँ समाजवादी सोवियत सङ्घको जन्म भएको छ र सबल वैज्ञानिक समाजवाद महान ऐतिहासिक यथार्थतामा फेरिएको छ। यो महान ऐतिहासिक यथार्थता पुँजीवादी तथा सामन्ती दासत्व विरुद्ध विद्रोह गर्न सबै मुलुकहरूका शोषित र श्रमजीवी जनतालाई निरन्तर आह्वान हो। अतः बेलायत, फ्रान्स र अमेरिकाका पुँजीवादी शासकवर्गहरूले सोभियत सङ्घको विरुद्ध हिटलरी फासिष्टवादलाई उठाए र प्रत्यक्ष रूपले दोस्रो विश्व युद्धको लागि बाटो बनाइदिए, तर दोस्रो विश्वयुद्धको फलस्वरूप सोभियत संघ ध्वस्त नभएको मात्र होइन, बरू पूर्वी तथा दक्षिणपूर्वी युरोपका कैयन मुलुकहरूले आफूलाई पुँजीवादी साम्राज्यवादी कैदबाट मुक्त पारेर समाजवादी विश्वको सीमानालाई विस्तारित पारे। दोस्रो विश्वयुद्धको फलस्वरूप, अन्तर्राष्ट्रिय मजदुर आन्दोलनले ठूलो फड्को मारेको छ र औपनिवेशिक जनताहरूले खुला सशस्त्र विद्रोहको बाटो लिएका छन्। यसरी विश्व पुँजीवादका मोर्चा र पृष्ठभाग गम्भीर खतरामा परेका छन्।
दक्षिणपूर्वी एसियामा चलिरहेको क्रन्तिकारी छाल हाम्रो प्यारो मुलुक नेपालमा पनि आई पुगेको छ। एक युग पुरानो सामन्ती अत्याचारलाई हाँक दिँदै नेपालको मजदुरवर्गले पहिकोपल्ट मार्च १९४७ मा संग्राममा प्रवेश ग¥यो। विराटनगर जुट तथा कपडा मिलहरूका मजदुरहरुले बाँच्नलायक ज्याला र कामगर्ने राम्रो अवस्थाका लागि हडताल गरे। गुप्त रूपमा क. मनमोहन अधिकारीको नेतृत्वमा बनेको मजदुर युनियनले त्यसको नेतृत्व ग¥यो। भारतको विश्वासघाती समाजवादी नेता र निष्कासित राणाहरूद्वारा समर्थित नेपाली राष्ट्रिय काँग्रेस नेताहरूले हडतालप्रति विश्वासघात गरे। हडतालको छाल राजधानीमा पनि फैलियो। काठमाडौँमा, बिजुली तथा टक्सार विभागका सरकारी कर्मचारी र बैंक तथा अस्पताल कर्मचारीहरूले त्यस्तै मागहरू राखेर हडताल गरे। हडतालीहरू कति दृढ थिए भने सरकार तलब बढाउन र राशन दिन बाध्य भयो। काठमाडौँ उपत्यकाभित्र मात्र तलबबृद्धि र अन्न खरिद सुविधाहरू सीमित भए पनि नेपालका सम्पूर्ण जनताले त्यसलाई आफ्नै विजयको रूपमा लिए र आफ्ना अधिकारहरूको सुरक्षार्थ जनसङ्घर्षको खाँचोलाई बुझे।
१३८५ देखिन् सामन्ती निरंकुशहरूले नेपालमा शासन गर्दैछन्। यी शताब्दीहरूको क्रममा भएका परिवर्तनहरूले राणाहरूको निरंकुशवादलाई मात्र बलियो पारेका छन्। नेपालको केही भागमा पुँजीवादी उत्पादन लागू भए पनि अझसम्म सामन्ती उत्पादन प्रणाली र प्रशासनको निर्णायक प्रभाव रहेको छ।
मुलुकमा अझसम्म आत्मनिर्भर प्राकृतिक अर्थतन्त्रको प्रभुत्व छ, तर यो मर्दो रूपमा छ। किसानहरूले आफ्नो खाद्यान्न मात्र होइन आफूले उपयोग गर्ने धेरैजसो चीज आफै पैदा गर्छन्। राणा, जमिन्दार, द्वारे, ठालु र मुखियाहरूले किसानहरूबाट उठाएको तिरो आफ्नै व्यक्तिगत मोजमज्जामा खर्च गर्छन्। पहिले सो तिरोलाई चीजहरूको साटासाटमा प्रयोग गरिन्थ्यो। अहिले सामन्ती परजीवीहरू यस्तो प्रणाली लागू गरेका छन् तापनि त्यसको अझसम्म निर्णायक प्रभाव छैन।
धेरैजसो जमीन सामन्ती शासक वर्ग, अर्थात राणा, साहेबज्यू, घरानियाँ, जमिन्दार र गुरूज्यूहरूको मालिकत्वमा छ। किसानहरूको मालिकत्वमा ज्यादै थोरै जमीन छ, वा जमीनै छैन। किसानहरूले आफ्नै ज्यावल प्रयोग गरेर आफ्ना मालिकहरूको जमीन जोत्छन् र ती मालिकहरूको लोभ पूरा गर्न आफ्नो बालीको तीन चौथाई हिस्सा बुझाउँछन्। १९२४ मा दास प्रथाको उन्मूलन भए पनि अझसम्म घृणित खालको शारीरिक दण्ड दिने चलन छँदैछ। अझसम्म सामन्ती मालिकहरूले १५ दिनसम्म किसानहरूलाई थुन्ने कानुनी अधिकार पाएका छन्। वास्तवमा किसानहरूको स्थिति भूदासको भन्दा राम्रो छैन।
किसानहरूले सारा राणाहरू र सामन्ती मालिकहरूद्वारा गरिने शोषणको असह्य भार बोक्नुपरेको छ र त्यसका साथै, नजराना, कर तथा बेगारी दिएर सम्पूर्ण सामन्ती नोकरशाही र जनविरोधी सरकारी सेनालाई पनि कायम राख्नुपरेको छ।
मल्ल वंशको शासनकालमा नेपालमा धेरै सामन्तहरूले शासन गर्थे। तर १७६९ देखिन् पृथ्वीनारायण शाहको पालादेखिन् नेपाल राणाहरू र तिनका सामन्ती पिठ्ठुहरूद्वारा शासित एक केन्द्रीकृत सामन्ती निरंकुश राज्य बनेको छ।
नेपाली किसानहरूले कुनै पनि व्यक्तिगत, शारीरिक वा राजनैतिक स्वतन्त्रताको उपभोग न पहिले गरेका थिए, न अहिले गरेका छन्। सामन्ती शासक गुटद्वारा गरिएको कठोरतम् रूपको शोषण तथा उत्पीडनले गर्दा नेपालको सामाजिक व्यवस्था शताब्दीयौंदेखिन् प्रायः गहिहीन रहेको छ।
“कोत पर्व”को रूपमा परिचित बल प्रयोगद्वारा सत्ता अपहरणबाट राणाहरू सत्तामा आउने बित्तिकै, विदेशी साम्रज्यवादीहरूले नेपालमा छिटो–छिटो आफ्नो प्रभाव बढाउन थाले। यो कतिसम्म बढेको छ भने आज नेपाल वास्तवमा विदेशी साम्राज्यवादीहरूको अर्ध–उपनिवेश रहेको छ। त्यसबेला देखिन् नेपाल बृटिश साम्रज्यवादीहरूका लागि भरौटेहरू भर्ती गर्ने एक मुख्य स्थान बनेको छ। महाराणा त्यसको मुख्य एजेन्ट रहेको छ। आज पनि भारतको पुँजीवादी नेहरू सरकारले ब्रिटिश साम्राज्यवादीहरूलाई ब्रिटिश उपनिवेशहरूको मुक्ति सङ्घर्षलाई दबाउन भोका युवा किसानहरू मध्येबाट हजारौँ सिपाही भर्ती गर्न दिइरहेको छ। ब्रिटिश एकाधिकार पुँजीको नाफाको रक्षा गर्न अपराधी महाराणाले गरीब नेपाली युवकहरूको जीवन र रगतको बिक्री गरिरहेको छ।
यसका अतिरिक्त, वाल स्ट्रीटका एजेन्टहरूले नेपालमा प्रभुत्व जमाएका छन् र उनीहरू हाम्रो पवित्र भूमिमा सोभियत विरोधी सैनिक अड्डाहरू बनाउने योजना गर्नमा व्यस्त छन्। भारतीय पुँजीवादी पनि नेपालमा आफ्नो शोषणका जालहरू फैलाउँदै छन्। नेपालमा जनवादी आन्दोलनको उठ्दो लहरको विरूद्ध आफ्नो स्थितिलाई बलियो पार्न महाराणाले उक्त सब विदेशी शोषकहरूलाई निम्त्याइरहेको छ। के कुरो स्पष्ट छ भने जो शासक अंग्रेज–अमेरिकी साम्राज्यवाद र भारतीय पिछलग्गुहरूको दलाल मात्र बनेको छ, उसले भोला जनताको एउटा पनि समस्या हल गर्न सक्दैन। उसले जनताका समस्याहरूलाई बढाउन र चर्काउन मात्र सक्छ र वास्तवमा अहिले उसले यस्तै गर्दैछ।
यस्तो भयानक थिचोमिचिको विरुद्ध नेपाली जनता आन्दोलित भएका छन्। पुँजीवादी उत्पादन प्रणालीको स्थापनाले गर्दा आधुनिक समाजको सबभन्दा क्रान्तिकारी वर्ग, मजदुर वर्गको जन्म हुँदैछ। घृणित महाराणाको विरुद्ध प्रजातान्त्रिक अधिकारहरूका लागि ऐतिहसिक हडताल संग्रामहरूमा नेपालको मजदुर वर्गले आफ्नो क्रान्तिकारी गुणको प्रदर्शन गरिसकेको छ। नेपालको इतिहासमा सर्वप्रथम जनताले राजनैतिक अधिकारहरूको माग गरेर काठमाडौँका सडकमा प्रदर्शन गरे। फेरि, नेपालको जीवनमा पहिलोपल्ट विद्यार्थीहरूले शिक्षण संस्थाहरूभित्र राजनैतिक सभाहरू गरे र उनीहरू नागरिक अधिकारहरूको माग बुलन्द गर्दै सडक प्रदर्शनमा उत्रे। उक्त आन्दोलनलाई निर्ममतापूर्वक दबाइयो, तर पनि शासक वर्गले बाध्य भएर जनताले नागरिक अधिकारहरू दिने र राजबन्दीहरू छाडिदिने कबुल गर्नुपरेको थियो। लडाकू जनताले यसलाई ठीक रूपमा महाराणा र उनको गूटका कमजोरीको स्वीकारोक्ति र आफ्नो बढ्दो तागतको प्रमाण ठानेका छन्।
दोस्रो विश्वयुद्धको अन्तपछि सम्पूर्ण संसार दुई शिविरमा विभाजित भएको छ – अमेरिका तथा अंग्रेज एकाधिकारी पुँजीद्वारा नेतृत्व गरिएको साम्राज्यवाद, प्रतिकृयावाद तथा युद्धको शिविर र समाजवादी सोभियत संघद्वारा नेतृत्व गरिएको साम्राज्यवादविरोधी, जनवाद तथा शान्तिको शिविर।
अंग्रेज–अमेरिकी साम्राज्यवादी युद्धखोरहरूले संसारभर प्रत्येक मुलुकभित्र जनवादी शक्तिहरूको उठ्दो लहर विरुद्ध प्रतिक्रियावादीहरूलाई सक्रिय सहयोग गरिरहेका छन् र उपनिवेश तथा अर्ध–उपनिवेशहरूका मुक्ति संघर्षहरूको विरुद्ध आक्रमणकारी युद्ध चलाइरहेका छन्। आसन्न पुँजीवादी संकटबाट उम्कने र अमानवीय शोषणको आफ्नो टाटपल्टेको पुँजीवादी व्यवस्थालाई जोगाउने उद्देश्यले तिनीहरूले सोभियत संघ र लोक जनवादी राज्यहरूको विरुद्ध तेस्रो विश्वयुद्ध भड्काउन हतारमा तयारी गर्दैछन्।
नेपालका शासक गुटहरूले यस साम्राज्यवादी शिविरलाई खुल्ला रूपमा साथ दिएका छन् र आज प्रतिक्रियावादका इमान्दार चाकरको रूपमा काम गर्दैछन्। आफ्नो जालसाजी प्रचारयन्त्रको व्यापक प्रयोग गरेर राणाहरूले जनतालाई के विश्वास दिलाउन खोज्दैछन् भने बेलायत, अमेरिका र भारतसित भएको उनीहरूको विश्वासघाती गठबन्धनले हाम्रो जनताका लागि शान्ति–सुख ल्याउने छ। स्वर्गीय प्रधानमन्त्री पद्मसम्शेर राणाले कतिसम्म पनि भनेका छन् भने नेपालमा प्रजातन्त्र स्थापना भइसकेको छ। बर्तमान प्रधानमन्त्री मोहनसम्शेर राणाले आधुनिक राज्यको रूपमा नेपालको निर्माण गर्न एक पञ्चवर्षीय योजनाको घोषणा समेत गरेका छन्। तर यी आँखामा धुलो फ्याँक्ने कुरा मात्र हुन्। वास्तवमा राणाहरूको तरिका अमेरिकी युद्धखोरहरूको सेवामा नेपाललाई युद्ध अखाडा बनाउनदिने तरिका हो। बृटिश साम्राज्यवादको रक्षामा नेपालको मानव शक्ति प्रदान गर्ने तरिका हो, र नेपालको व्यापारमा तथा वाणिज्यमा भारतीय पुँजीपतिवर्ग र त्यसको नेहरू सरकारको सेवामा लगाउने तरिका हो। महाराणासित सन्धि गरेर केही अमेरिकी व्यापारिक संस्थाहरूले आगामी तीस वर्षका लागि पश्चिम नेपालको केही भागहरूलाई आफ्नो नियन्त्रणमा लिइसकेका नै छन्। काठमाडौँस्थित अमेरिकी मिशनले मुलुकलाई आफ्नो उपनिवेशमा परिणत गर्न जोडतोडले काम गर्दैछ।
१८५७ देखिन् नेपालको मानव शक्तिको उपयोग गरिआएका बृटिश साम्राज्यवादीहरू पनि यस निन्दनीय काममा त्यक्तिकै संलग्न छन्। बृटिश, भारतीय र नेपाल सरकारहरू बिच नबेम्बर ९, १९४७ काठमाडौँमा हस्ताक्षर गरिएको सन्धिको एउटा धारा यसप्रकारको छ – “भारतीय सरकारले के कुरालाई सकारेको छ भने भारत वा नेपालको कुनै ठाउँमा अर्को भर्ती केन्द्र नबनेसम्म बृटिश सरकारले पहिलेझैँ गोरखपुर र घुमका भर्ती केन्द्रहरूको प्रयोग गर्नेछ।”
उपरोक्त एउटै धाराले नेहरू सरकार र महाराणा सरकारको “तटस्थता” तथा “स्वाधीनता” सम्बन्धी कथालाई धुजाधुजा पारिदिएको छ। फेरि सो धाराले के नांगो सत्यलाई प्रमाणित गरेको छ भने नेहरू सरकार र नेपाल सरकार दुवै प्रतिक्रियावाद तथा युद्धको साम्राज्यवादी शिविरका सक्रिय सहभागी तथा चाकर हुन्।
नेपाली जनताको दुर्भाग्य यतिमा मात्र सीमित रहेको छैन। नयाँ दिल्लीमा आफ्नो सरकारको संरक्षण तथा निर्देशन पाएका भारतीय ठूलो बन्दव्यापारले एक ठूलो युद्धमा नेपालको ढोका “खोलिरहेको” छ। विडला, सिंघानिया र चौधरियाले नेपालमा जुट, कपडा र चिनी मिलहरू खोलेका छ। नेहरू सरकार आफैले कोशी योजना लिएको छ। आज नेपालमा लगानी गरिएको अधिकांश हिस्सा भारतीय पुँजीपतिहरूको छ। यी भारतीय पुँजीवादी लुटेराहरू नेपालका सस्तो श्रम र प्राकृतिक साधन स्रोतहरूको शोषणमा लागेका छन् र उनीहरूको उद्देश्य आफ्नै थैली भर्नु हो र नेपालको औद्योगिकीकरण गर्नु होइन, किनभने उनीहरू औद्योगिकीकरण गर्न अनिच्छुक मात्र होइन, असमर्थ पनि छन्। यसरी नेपाली जनता दोहोरो शोषणको जाँतोमुनि पिसिँदै छन् – सामन्ती शोषणलाई पुँजीवादी शोषणले टेवा दिँदैछ। आफ्नो प्राकृतिक अर्थतन्त्रको स्थितिबाट छुट्टिएर नेपाल अचानक विश्व पुँजीवादी अर्थतन्त्रको आँधीमा पर्न गएको छ र आसन्न संकटको खतरनाक समाघातमा परेर काँपिरहेको र टुटिरहेको छ। यसबाट नेपाली जनताको मुक्ति होइन, विनाश हुनेछ।
त्यसैले नेपाली जनताले एउटा भिन्न बाटो लिनुपर्छ। त्यो बाटो हो – विश्व जनवादी शिविरसित सक्रिय मेल गरी विद्यमान सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी–पुँजीवादी आधिपत्यलाई पूरैसित खतम पार्नु र मजदुर वर्गको नेतृत्वमा मेहनतकश जनताको जनवादी राज्य स्थापना गर्नु, अर्थात यस्तो राज्य व्यवस्था स्थापना गर्नु जसमा जनता राष्ट्रको सम्पत्तिको मालिक हुनेछन् र त्यसलाई आफ्नै फाइदाका लागि विकसित गर्ने छन्। विजयी समाजवादको देश सोभियत संघको अनुभव र पूर्वीयुरोपका लोक जनवादी राज्यहरू, नयाँ चीन, उत्तर कोरिया तथा अघि बढिरहेका औपनिवेशिक जनताका अनुभवहरूले नेपाली जनतालाई दिन प्रतिदिन यस गौरवपूर्ण संघर्षमा प्रेरणा दिँदैछन् किनभने तिनले सर्वत्र उत्पीडित जनतालाई प्रेरणा दिन्छन्।
सामन्ती व्यवस्था र नेपालमाथिको साम्राज्यवादी आधिपत्यलाई खतम पार्ने संघर्षमा मजदुर वर्गले अग्रणी भुमिका खेल्नुपरेको छ र यो इतिहासले त्यसको काँधमा हालिदिएको अभिभारा हो। आज संख्यामा थोरै भए पनि, नेपालको मजदुर वर्ग पुँजीवादी शोषण तीब्र हुँदै गएको सिलसिलामा दिन प्रतिदिन संख्यात्मक र राजनैतिक दृष्टिले बलियो हुँदैछ। सोभियत संघको कम्युनिस्ट पार्टी (बो.) को इतिहासमा कामरेड स्टालिनले भन्नुभएको छ – “त्यसैले हामीले आफ्नो कार्यदिशाको आधार समाजका त्यस्ता अंगहरूलाई बनाउनु हुन्न, जो प्रमुख शक्ति रहेता पनि, विकसित भइरहेका छैनन्। बरू हामीले त्यस्ता अंगहरूलाई आफ्नो आधार बनाउनु पर्छ, जो अहिले प्रमुख शक्ति नरहे तापनि, विकसित भइरहेका हुन्छन् र जसको सामु भविष्य छ।’’
नेपालमा विकासशील वर्ग संघर्षप्रति यस्तो द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणको मद्दतबाट मात्र क्रान्तिकारीहरूले सही रणनीतिको प्रतिपादन गर्न र त्यसलाई मार्क्स, एंगेल्स–लेनिन–स्टालिनको अजेय झण्डामुनि विजयसम्म बढाउन सक्नेछन्।
हामी नेपालका मजदुर, किसान, सिपाही, श्रमजीवी, मध्यम वर्गहरू र सारा प्रजातन्त्रप्रेमी जनतालाई के अपील गर्छौ भने उनीहरू सामन्ती एकतन्त्रवादको विरूद्ध आफ्ना सबै प्रिय आकांक्षाहरूको सिद्धीकरणका लागि एउटा साझा मोर्चामा एकगठ होउन्। हामीलाई के कुरामा पूर्ण विश्वास छ भने जनवादी शक्तिहरू तलको जनवादी कार्यक्रमको आधारमा ठोस रूपले एकगठ हुन सक्छन्ः–
१. सामन्ती एकतन्त्रवाद तथा विदेशी आधिपत्यको पूर्ण उन्मूलन र पूर्ण तथा वास्तविक स्वाधीनता।
२. मजदुर, श्रमजीवी किसान र उत्पीडित निम्नपुँजीपति वर्गको प्रतिनिधित्व गर्ने जनवादी सरकार जसले अंग्रेज–अमेरिकी साम्राज्यवाद र त्यसका भारतीय पिछलग्गुहरूसित सहयोगको विरोधी हुन्छ र जसले शान्ति तथा सबै जातिहरूको स्वतन्त्राका लागि कृयाशील जनवादी राज्यहरूसित सहयोग गर्दछ।
३. बालिग मताधिकारमा आधारित संविधान, जसले सर्वसाधारणलाई पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र र आधारभूत ग्यारेण्टी गर्दछ। विशेषाधिकारहरू र जातपात, नश्ल र जातिको आधारमा गरिने भेदभाव कानुनद्वारा खतम पारिने छ र यसको उल्लंघनलाई कानुनद्वारा दण्डनीय पारिने छ।
४. बिनामुआब्जा जमीनदारी प्रथा र सबै खालको सामन्ती शोषणको उन्मूलन र जोताहाहरूलाई जमीनको वितरण गर्नु, ग्रामीण ऋण खतम गर्नु, कृषि मजदुरहरूलाई जीवनयोग्य ज्याला।
५. बैंक, औद्योगिक तथा यातायात व्यवसाय, वाटिका, खानी आदिमा लगाइएको विदेशी पुँजी राज्यद्वारा जफत गर्नु र ती व्यवसायहरूको राष्ट्रियकरण गर्नु।
६. ठूलठूला उद्योगहरू, ठूला बैंकहरू र बीमा कम्पनीहरूको राष्ट्रियकरण, मजदुर नियन्त्रणको ग्यारेण्टी, न्युनतम जीवनयोग्य ज्याला, आठ घण्टा कामको दिन आदि।
७. मुलुकका साधन श्रोतहरूको विकास गर्न आर्थिक योजना र रणनतिक आर्थिक केन्द्रहरूबाट ठूलो व्यवसायलाई हटाउनु। निजी उद्योगहहरूमा नाफामाथि नियन्त्रण।
८. सबै दमनकारी कानुनहरू खारेज गर्नु। ९. नोकरशाहीको उन्मूलन र निर्वाचित अधिकारीहरू सहितको र जनसमितिहरूद्वारा निर्देशित प्रशासन।
१०. आम जनतालाई सशस्त्र पार्नु र जनताको जनवादी सेना स्थापना गर्नु। ११. स्वतन्त्र शिक्षा र अनिवार्य प्राथमिक शिक्षा प्राप्त गर्ने अधिकार। १२. महिलाहरूलाई समान प्रजातान्त्रिक अधिकारहरू।
जनवादी मोर्चा र यसको निर्माण गर्ने नेपाल कम्युनिस्ट पार्टीले नेपालका विश्वासघाती राजनैतिक पार्टी तथा नेताहरूको विरुद्ध दृढ रूपमा संघर्ष गर्नुपर्छ र जनताका झुठा मित्रहरूलाई निर्ममतापूर्वक उदांग र एक्लो पार्नुपर्छ। जति हदसम्म बिगार्नेहरूको विरुद्ध् संघर्ष चलाई तिनलाई परास्त गरिन्छ, त्यति हदसम्म नै नेपालमा जनसंघर्षले वास्तविक क्रान्तिकारी वेग प्राप्त गर्नेछ।
नेपाली राष्ट्रिय कांग्रेस (रेग्मी गुट र कोइराला गुट) र तथाकथित प्रजातन्त्र काँग्रेसले नेपाली जनताका अन्तर्राष्ट्रिय तथा राष्ट्रिय हितहरूप्रति विश्वासघात मात्र गरेका होइनन् कि नेपालको सामन्ती निरंकुशतावादसित भारतको प्रतिक्रियावादी पुँजीवादी नेहरू सरकारसित र अंग्रेज–अमेरिकी युद्धखोरहरूसित सहयोग गर्ने निर्लज्ज नीतिको अनवरत रूपले अनुसरण गरिरहेका छन्। आफ्ना मुखपत्र र भाषणहरूमा उनीहरूले सोभियत संघ, गौरवशाली चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा चिनियाँ जनताको वेगवान् विजय, मलाया, भियतनाम, श्याम तथा इण्डोनेसियाको विरुद्ध विषालु बद्नामीहरू ओकलिरहेका छन्। उनीहरूको भनाइ अनुसार महाराणाको घृणित सरकार नेपालका श्रमजीवी जनताको साझा शत्रु होइन। उनीहरूको भनाइ अनुसार, कम्युनिज्म र कम्युनिस्टहरू नेपालका लागि मुख्य खतरा हुन् र उनीहरू कम्युनिज्मको विरुद्ध आफ्नो “पवित्र अभियान”मा महाराणाको रक्तरञ्जित हातसित हात मिलाउन समेत इच्छुक छन्। कम्युनिज्मको विरुद्ध उनीहरूको पाखण्डी घृणामा मौलिक कुरो केही पनि छैन। यो त संसारभरका जनशत्रुहरूको सुपरिचित तथा दिवालिया नीति हो। कम्युनिज्म–विरोधलाई आवरण बनाएर उनीहरू आफ्नो अपराधपूर्ण निहित स्वार्थको रक्षा गर्न शोषित जनताको विरुद्ध लड्ने गर्दछन्।
उदयमान मध्यम वर्गको सानो तहको प्रतिनिधित्व गर्ने रेग्मी र खुद आफै सामन्ती मालिक रहेका असन्तुष्ट राणाहरू श्रमजीवी जनताको शोषणलाई खतम पार्नमा बिल्कूल चासो राख्दैनन्। उनीहरू विद्यमान सत्तासित सम्झौता गर्न चाहन्छन् र जनताको रगत चुस्नमा उचित हिस्सा प्राप्त गर्न मात्र उत्सुक छन्। आफ्ना खराब उद्देश्य सिद्ध गर्नका लागि उनीहरू जनताको वास्तविक असन्तोषसित खेलवाड गर्दछन्, विरोधको टोपी लगाउँछन् र नक्कली वीरता देखाउँछन्। तर सदासर्वदा उनीहरू आमजनताको क्रान्तिकारी शक्ति र अग्रसरतालाई रोक्न भगीरथ कोशिस गर्दछन्। तर जब जनअसन्तोषले सारा छेकवारलाई भत्काउन लागेको हुन्छ, अनि यी बाग्बहुल वीरहरू संघर्षरत जनताको पीठपछाडि संघर्षलाई फिर्ता लिन्छन् र महाराणासित गर्हित सम्झौता गर्छन्। उनीहरूले हालसालै मात्र यसो गरेका छन्।
कम्युनिस्टहरू श्रमजीवी जनताको संघर्षका सबभन्दा सम्झौताहीन समर्थक हुन्। त्यसैले स्वभावतः यी गद्दारहरू कम्युनिस्टहरूको विरुद्ध आफ्नो मुख्य हमलालाई केन्द्रित पार्छन्। शोषित जनताप्रतिको विश्वासघात र शोषक वर्गहरूप्रतिको अधीनस्थतालाई लुकाउन उनीहरूले “तेस्रो बाटो”को झुठो नारा उठाएका छन्। अंग्रेज–अमेरिकी एकाधिकारी पुँजीको नेतृत्वमा रहेको पुँजीवादको शिविर र सोभियत संघ तथा अन्तर्राष्ट्रिय मजदुर वर्गको नेतृत्वमा रहेको समाजवादको शिविरका माझ स्पष्ट रूपले विभाजित संसारमा कुनै “तेस्रो बाटो”, कुनै “मध्यम मार्ग”को नीति हुन सक्दैन। उपर्युक्त दुई बाटोमा एउटा सबैले चुन्नै पर्छ। “तेस्रो बाटो”को नारा प्रतिक्रियावादसितको गठबन्धन र विश्वासघाती अनुहारलाई लुकाउन प्रयोग गरिएको राजनैतिक छद्मभेष हो। नेहरूको “तेस्रो बाटो” यसको एउटा घिनलाग्दो प्रमाण हो।
नेहरूले “तेस्रो बाटो”बाट सुरु गरेर केही महिनाभित्रै उनी साम्राज्यवादी–पुँजीवादी–सामन्ती गठबन्धनको शिविरमा सामेल भए। “तेस्रो बाटो”को अनिवार्य गन्तव्य स्थान यही हो। यो अन्तर्राष्ट्रिय सामाजिक जनवादको घृणित झण्डा हो, मजदुर वर्गप्रति विश्वासघातको झण्डा हो।
हामी नेपालका प्रजातन्त्रवादी जनतालाई के आह्वान गर्छौँ भने उनीहरू यी झुठा मित्रहरूबाट, यी नक्कली प्रजातन्त्रवादीहरूबाट सतर्क होउन् र उनीहरूले सोभियत संघद्वारा नेतृत्व गरिएको विश्वसाम्राज्यवाद विरोधी शिविरको पक्षमा दह्रो अडान लेउन् र लोक जनवादका लागि सम्झौताहीन संघर्षलाई अघि बढाउन्।
शोषित, पददलित जनताका पंक्तिमा रहेका दाजुभाइ दिदीबहिनीहरू हो !
संसारका संघर्षरत जनताको नेता समाजवादी सोभियत संघको विरुद्ध हाम्रो पावित्र मातृभूमिलाई युद्ध अखडामा फेर्ने अपराधी योजनालाई विफल पार्न दृढ रूपमा संघर्ष गर्नुहोस् ! नेपालका श्रमजीवी जनताले कहिले पनि सोभियत संघको विरुद्ध संघर्ष गर्ने छैनन्, आफ्नो वर्गीय दाजुभाइहरूको विरुद्ध कहिले पनि हात उठाउने छैनन्।
विदेशमा साम्राज्यवादी डकैतीको रक्षार्थ रगत बगाउन इन्कार गर्नोस् ! नेपालका गरीब जनताले अरू मुलुकहरूमा गरीब जनताको शोषण गर्नमा साम्राज्यवादी उपनिवेशवादीहरूलाई किन मद्दत गर्ने ? नेपालका गरिब जनताले हाम्रो मुलुक र जनतामाथि अधिपत्य जमाइरहेको उही अंग्रेज–अमेरिकी साम्राज्यवादीहरूलाई बलियो पार्न आफ्नो जीवनको बलिदान किन गर्ने ? बर्मा, मलाया र अन्य दक्षिण–एसियाली मुलुकहरूका मुक्ति संघर्ष विरुद्ध लड्न इन्कार गर्नोस् किनभने ती मुलुकहरूका जनताहरू पनि उही मागहरूका लागि र उही शोषक वर्गहरूको विरुद्ध लडिरहेका छन्, जुन मागका लागि र जुन शोषक वर्गको विरूद्ध नेपाली जनता आफ्नो मुलुकमा लडिरहेका छन्। शोषितहरूको विरुद्ध होइन, शोषकहरूको विरूद्ध लड्न कम्मर कस्नुहोस्। आफ्नै दाजुभाइहरूतिर होइन, सर्वसाधारण जनताका शत्रुहरूतिर आफ्नो बन्दुक सोझ्याउनुहोस्। आफ्ना दाजुभाइहरूको विरुद्ध लड्नुको अर्थ आफ्नै दासत्वलाई बलियो पार्नु हो। घृणित महाराणा र उनका अधिकृतहरूको आदेशमा आफ्नो मुलुकका आफ्नै जनतालाई दबाउन दृढतापूर्वक इन्कार गर्नुहोस्। महाराणा र उनको साँगुरो शासक गुटले तपाईँहरूलाई तपाईँका जग्गाको हकबाट बञ्चित पारेका छन्, तपाईँहरू र तपाईँहरूका नातेदारहरूलाई भोकमरीको मुखमा हालेका छन् र अनि तपाईँहरूको अति गरिबीबाट फाइदा उठाएर आफ्नो लुटको साम्राज्य बचाउन आफ्नो सशस्त्र चाकरको रूपमा तपाईँहरूलाई भर्ती गरिरहेका छन् र विदेशी साम्राज्यवादीहरूलाई भरौटेको रूपमा तपाईँहरूको बेचबिखन गरिरहेका छन्। त्यस्तो सेनामा तपाईँहरूको जीवन एक सततः अपमान हो। आफ्नै भोका दाजुभाइ तथा दिदीबहिनीहरूलाई गोली हान्न इन्कार गर्नोस्, थिचाहा, शोषकहरूतर्फ आफ्नो संगीन सोझ्याउनुहोस् र आफ्ना संघर्षरत जनताको पक्ष लिनुहोस्। यो नै मुक्तिको बाटो, सम्मानको बाटो, जीवनको बाटो हो।
नेपालका मजदुरहरू हो !
तपाईहरूले मार्च १९४७ का आफ्ना पहिला हडताल संग्रामहरूको बेलामा नै आफ्नो झण्डा, विश्व सर्वहारा वर्गको अन्तर्राष्ट्रिय एकताको झण्डा उठाउनु भएको छ। निष्कासित राणाहरू र भारतको समाजवादी नेताद्वारा समर्थित काँग्रेसी नेताहरूले तपाईँहरूको वर्गशत्रुसितको पहिलो मुठभेदप्रति विश्वासघात गरे पनि त्यो मुलुकभर फैलियो। कांग्रेसी गद्दारहरूले औपचारिक रूपले हडताल बन्द गर्ने घोषणा गरिसकेपछि पनि राजधानीमा विभिन्न विभागका सरकारी कर्मचारीहरूले बाँच्नयोग्य ज्याला र कामको राम्रो अवस्थाका लागि हडताल गरे। अब एकताबद्ध तागतद्वारा आफ्नो संघर्षलाई अघि बढाउनका लागि सबै जिल्लाहरूबाट प्रतिनिधिहरू राखी आफ्नो स्वतन्त्र मजदुर संघहरू गठन गर्नुहोस् र उपयुक्त महत्त्वपूर्ण मागहरूको तत्काल पूर्तिका लागि, बाँच्नयोग्य ज्याला, आठ घण्टा कामको दिन, कामको राम्रो अवस्था, सेवाको सुरक्षा, बुढेसकालमा भत्ता, केटाकेटीहरूको निम्ति मुफ्त शिक्षा, पूर्ण मजदुर संघीय अधिकारहरूको कार्यान्वयनका लागि आफ्ना शक्तिहरूको परिचालन गर्नुहोस्।
मजदुर साथीहरू हो !
एकता, संगठन र संघर्षमा हाम्रो तागत रहेको छ। नयाँ नेपाल र प्रजातान्त्रिक जीवन पद्धतिको निर्माणका लागि लालझण्डाको नेतृत्वमा नयाँ संग्रामहरूतर्फ अघि बढ्नुहोस्।
नेपालका श्रमजीवी किसानहरू हो !
वर्तमान सामन्ती व्यवस्थाको विरुद्ध कठोर सम्झौताहीन संघर्षबाट नै तपाईँहरूको मुक्ति हुनेछ। यस गौरवशाली संघर्षमा तपाईहरू न कमजोर हुनुहुन्छ, न एक्लो। तपाईहरू मुलुकमा अत्यधिक बहुसंख्यामा हुनुहुन्छ। वीरतापूर्ण मजदुर वर्ग यस संघर्षको अघिल्लो मोर्चामा उभिएको छ र नेपाल, भारत, पाकिस्तान तथा समस्त विश्वका सबै प्रजातान्त्रिक शक्तिहरू तपाईहरूको साथमा छन्। लालझण्डाको नेतृत्वमा मुलुकव्यापी स्तरमा आफ्नो स्वन्त्र जनसंगठन बनाउनुहोस् र तलका मागहरू पूरा गर्न दृढ संघर्ष चलाउनुहोस्ः–
१. जमीन जोत्नेलाई देऊ ! २. खेत मजदुरहरूमा पर्ति जग्गा वितरण गर ! ३. गैरकानुनी नजराना तथा बेठ–बेगारी खारेज गर ! ४. त्रिभाग् तत्काल लागू गर ! ५. खेत मजदुरहरूका लागि बाँच्नयोग्य ज्याला देऊ ! ६. पूर्ण नागरिक स्वतन्त्रता बहाली गर !
नेपालका विद्यार्थी तथा जनवादी युवाहरू हो !
नेपालको पहिलो राष्ट्रिय संघर्षमा तपाईहरूले गौरवशाली भूमिका खेल्नुभएको छ र प्रशस्त रगत बगाउनु भएको छ। युवा गंगालालको अमर प्राणोत्सर्गले तपाईहरू धेरैजनालाई नयाँ संग्राम र नयाँ बलिदानको निम्ति अभिप्रेरित गरेको छ। १९३० का एकजना वीर श्री खड्गमान अझसम्म आफ्नो आँगमा सिक्री र नेलसहित जेलमा सडिरहनुभएको छ। दैनिक परिपक्क संग्रामहरूद्वारा उक्त परम्परालाई अरू उचाईमा उठाउने समय आएको छ र आह्वान गरिएको छ। आजसम्म तपाईहरूले स्वतन्त्र लडाकू जनसंगठन नहुँदा विश्वासघाती र अवसरवादीहरूले तपाईहरूलाई मझधारमा अलपत्र छोड्ने मौका पाएका छन्। त्यसैले तलका मागहरूको लागि लड्न आफ्नो स्वतन्त्र, लडाकू, प्रजातान्त्रिक, जनसंगठन बनाउन अघि बढ्नुहोस् !
१. सर्वसाधारण जनताका लागि पूर्ण प्रजातान्त्रिक अधिकारहरू ! २. प्रजातान्त्रिक शिक्षा प्रणाली, मुफ्त अनिवार्य प्राथमिक शिक्षा, उच्चस्तरमा सस्तो शिक्षा ! ३. पूर्ण शैक्षिक एवम् प्राज्ञिक अधिकारहरू ! ४. सच्चा स्वाधीन प्रजातन्त्र र शान्तिका लागि !
नेपालका श्रमजीवी महिलाहरू हो !
तपाईहरू बढ्दो संघर्ष र लडाकूपनाको स्वागत गर्दछौँ। मार्च १९४७ मा बिराटनगर जुट तथा कपडा मिलहरूका श्रमजीवी महिलाहरूले पुरुषहरूसित काँधसा काँध मिलाएर लडेका छन्। त्यही सालमा महिलाहरूले महाराणाको सशस्त्र आतंकलाई हाँक दिँदै, काठमाडौँको सडकमा प्रदर्शन गरेका छन्। जनआक्रोसको बढ्दो स्तरदेखि डराएर, राणा सरकारले बाध्य भई नगरपालिकीय प्रशासन जनताको हातमा सुम्पियो। तर निर्वाचनमा महिलाहरूलाई मतदान गर्ने अधिकारबाट बञ्चित पारियो। नेपालको श्रमजीवी महिलाहरूले चुपचाप सहेर बस्न इन्कार गरे। एउटा प्रतिनिधि मण्डल बनाएर उनीहरू प्रधानमन्त्रीको निवास स्थानतर्फ गए। यसबाट तपाईँहरूको लड्ने तथा अधिकार प्रप्त गर्ने अठोट देखिएको छ। सामाजिक आर्थिक तथा राजनैतिक तेहोरो थिचोमिचोको विरुद्ध लड्न आफ्नो महिला संघ गठन गर्नुहोस् र सम्झौताहीन संघर्षद्वारा त्यसलाई टेवा दिनुहोस्ः–
१. समान कामको लागि समान तलब ! २. राष्ट्रिय जीवनका सबै क्षेत्रमा समान अधिकारहरू ! ३. सुत्केरी सुविधा र केटाकेटीहरूका लागि सुरक्षित जीवन ! ४. मुफ्त शिक्षा ! ५. विदेशी साम्राज्यवादी सेनाहरूमा रहेका हाम्रो छोरा र लोग्नेहरू फिर्ता देऊ !
५. स्वतन्त्र, लोक जनवादी नेपाल !
अतः नेपाल कम्युनिस्ट पार्टी श्रमजीवी जनताको विकासशील संघर्षमा सहभागी बन्ने र त्यसलाई संगठित पार्ने तथा नेतृत्व दिने र त्यसलाई विजयसम्म अघि बढाउने काममा आफूलाई समर्पित गर्दछ। यसलाई सो बाटोबाट जस्तासुकै आतङ्क वा झुठो प्रचारले विचलित पार्नसक्ने छैन। अन्य पुँजीवादी तथा निम्नपुँजीवादी पार्टीहरूले पहिले जनताप्रति विश्वासघात गरेका छन् र पछि पनि गर्दै रहने छन्। नेपाल कम्युनिस्ट पार्टी, मार्क्सवाद–लेनिनवादको मार्गदर्शनमा अघि बढेको पार्टीले आँधीबेहरीमा जनताको साथ दिनेछ र यसले के प्रतिज्ञा गर्छ भने यसले सच्चा स्वतन्त्रा तथा लोकजनवादका लागि संघर्षको अघिल्लो पंक्तिमा सदा अडिग भई लडिरहने छ।
नेपाल कम्युनिस्ट पार्टी शोषकहरूलाई ठोक्ने जनताको मुड्की हो। तसर्थ हामी मजदुर वर्ग, भूमिहीन तथा गरिब किसानहरूका सर्वोत्तम छोराछोरीहरूलाई र जनवादी विद्यार्थी, युवा तथा महिलाहरूलाई नेपाल कम्युनिस्ट पार्टीका जुझारू पंक्तिहरूमा सामेल हुन आह्वान गर्दछौँ किनभने एउटा बलियो, जन आधारित कम्युनिस्ट पार्टीले मात्र जनताको लोकजनवादी क्रान्तिकलाई सक्षम नेतृत्व प्रदान गरी विजयसम्म अघि बढाउन सक्दछ।
(साभारः पुष्पलालका छानिएका रचनाहरू, भाग–१)